‘केपी बा’ र ‘माधव भाइ’को समानान्तर संवाद

 फागुन २९, २०७७ शनिबार ९:६:४५ | मिलन तिमिल्सिना
unn.prixa.net

‘हेलो, केपी बा बोल्नुभएको हो ?’

‘हो हो केपी बा नै हो । तर तपाईंको आवाज त केपी बा भन्न नसुहाउने मान्छेको जस्तो लाग्छ, को भाइ बोल्नुभयो त ?

‘चिन्नुभएन ? हुन त के चिन्नु हुन्थ्यो र । पहिले त चिने नचिनेझैँ गर्नुहुन्थ्यो । अब त झन् तपाईंको हात माथि परेको बेला ।’

‘मेरो त हातखुट्टा, टाउको, बोली सधैं माथि नै हुन्छ । न अहिले, न पहिले । को बोल्नुभयो भन्नुहोस् न ।’

‘नामै भन्नुपर्ने भयो है ? माधव नेपाल बोलेको ।’

‘माधव नेपाल भनेपछि कुन भाइ बोल्नुभयो त ? अझै राम्रोसँग चिन्न सकिनँ त ?’

‘तपाईंको आफ्नै घरको भाइ माधव नेपाल । अझै चिन्नुभएन ?’

‘ए... ए.. छुट्टिएर हिँडेको भाइ । अनि केपी बा भन्नुभयो त भाइले । अस्ति एकताका त अरुले केपी बा भने भनेर मेरो खिसीटिउरी गर्नुहुन्थ्यो । फेरि आफैं केपी बा भन्नुहुन्छ ! शिवरात्रिको भाङले छोडेको छैन कि क्या हो ।’

‘म चुरोट सूर्ति, जाँडरक्सी त खान्न भन्ने थाहा छ नि तपाईंलाई । अब कसरी भाङ खानु !’

‘तपाईंले होश हवासमै मलाई केपी बा भनेको हो त ?’

‘हो त के गर्नु । मैले त्यतिबेला केपी बा भनेर तपाईंको खिसी गरेपछि झन् धेरैले केपी बा भन्न थाले । अब त मलाई पनि केपी बा नै भन्ने बानी पर्ला कि जस्तो भयो ।’

‘ल ल जेसुकै भन्नुहोस् । के कामले सम्झनुभयो त ? अस्तिसम्म मेरो त मुखै हेर्दिनँ भन्नुहुन्थ्यो । त्यही भएर मुख हेर्न नपर्ने गरी फोन गर्नुभएको होला । मैले त बिर्सनुभयो होला भन्ने ठानेको । फोन गर्नुभयो।’

‘अब सम्झनैपर्यो मन नभए पनि ।’ 

‘मलाई त पार्टीबाट पनि निश्कासन गर्नुभएको हो क्यारे । निकालेर फालेको मान्छेले तपाईंलाई के गर्न सक्ला र सम्झेर पनि !’

‘के गर्नु, सम्झन बाध्य भइयो !’

‘पार्टी छोडेपछि पाटी प्यालेसतिर गएर अध्यक्ष भएको कता कता सुनेजस्तो लाग्थ्यो त ! अनि के छ त तपाईं अध्यक्ष भएको पार्टीको हालखबर ?’

‘नसम्झाउनुहोस् न विगतका कुरा । सम्झेर पनि छाती चिरिएलाजस्तो भएर भाउन्न हुन्छ ।’

‘लड्डु सड्डु पनि खुवाइ खुवाइ गरेको देखेजस्तो लाग्थ्यो । अनि जन्मदिनमा केक खान पनि बोलाउनुभएन । बोलाउनुभएको भए गिफ्ट दिन्छु भनेर ठिक्क पारेको थिएँ ।’

‘तपाईंले किन दिनुपर्थ्याे र ! सर्वोच्चले दिइहाल्यो नि अमूल्य गिफ्ट ।’

‘मैले पनि पाएको हो नि सर्वोच्चबाट बर्थडे गिफ्ट । खै मलाई त्यस्तो नौलो लागेन । तपाईंलाई चाहिँ राम्रै गिफ्ट दिएको हो । अनि के छ त अर्का अध्यक्ष भाइको खबर ?’

‘को ? प्रचण्ड ? उहाँ पनि तोरीको फूल देखेर रन्थनिनुभएको छ ।’

‘अब दुई भाइ मिलेर नयाँ पार्टी चलाए भै गयो नि त ?’

‘कसरी मिल्न जानु र उनीसँग । अब जम्बोजेट नरहेपछि दुईवटा पाइलट बस्न पनि मिलेन । टेम्पोजत्रो पार्टीमा उनी एक्लै अध्यक्ष छँदैछन् । त्यसमाथि ४० प्रतिशत पुर्याउन पनि सकिन्न । सांसद पद छोडेर जान मनले मान्दैन ।’ 

‘अस्तिसम्म ठूल्ठूला गफ लगाउनेले सक्नुपर्यो नि आँट गरेर जान । अब अनुहार पनि हेर्न नसक्ने मान्छेसँग कसरी सँगै बस्न सकिएला र खै ? त्यसैले आउनुहुन्न होला भनेर मैले त तपाईंतिरका कुर्सीमा अरुलाई पो राखिसकेँ ।’

‘कहाँ त्यसो गर्न पाइन्छ ? हाम्रो कुर्सी हामीलाई नै चाहिन्छ । नत्र हामी समानान्तर कमिटी चलाउँछौं । त्यही भएर फोन गरेको ।’

‘चलाउनुस् न कसले रोकेको छ र ? अस्ति पनि सडकतिर बसेर समानान्तर चलाएकै हो क्यारे । अनि बनाउनुभयो त समानान्तर कमिटी ?’

‘बनाउने तयारी गर्दैछौं ।’

‘ए...तयारी मात्रै ? सक्नुपर्यो नि मैले जस्तो गर्न ।’

‘अब त तपाईंलाई नि गाह्रो हुन्छ है केपी बा । मिलाउनुहोस्, बोलाउनुहोस् हामीलाई सँगै राख्नुहोस् ।’

‘मैले किन बोलाउनु पर्यो र ? एमाले बनाएको त मैले नै हो भन्नुहुन्छ, आफूले बनाएको एमाले अब आफैं चलाएर देखाउनुहोस् न ।’

‘तपाईंले बोलाउनुहुन्छ भनेर पर्खेको अहिलेसम्म । नत्र समानान्तर चलाउने हो ।’

‘चलाउनुहोस् न  । म त अहिल्यै बैठक बोलाउने मूड छैन ।’

‘कहिले बोलाउने त ?’

‘हेरौं ।’

‘कहाँ हेरेर मात्र हुन्छ र ओली बा ? हाम्रो बिचल्ली भैसक्यो ।’

‘मैले बिचल्ली बनाएको होइन क्यारे । के गर्नुहुन्छ त ?’

‘तपाईंले टिकीखान नदिएर त हो नि छोडेर हिँड्नुपरेको ?’

‘अनि त्यहाँ पनि त टिक्न सक्नुभएन नि !’

‘टिक्न सकिन्थ्यो नि, के गर्नु सर्वोच्चले दिएन ।’

‘प्रचण्ड भाइसँग अलिदिन बसिरहेको भए थाहा पाउनुहुन्थ्यो । धन्न बेलैमा छोड्न सर्वोच्चले बाध्य पार्यो । अब के गर्नुहुन्छ त ?’

‘पुरानै घरमा फर्कने भनिसक्यौँ त । हाम्रो सिट खाली राख्नु पर्यो । कहिले बोलाउने हो तपाईंले ?’

‘किन बोलाउनु तपाईंहरुलाई ? मलाई तपाईंहरुसँग बसेर गरेको बैठक, छलफलमा विश्वास नै लाग्दैन । मेरो मनले जे भन्यो त्यही हुन्छ अब ।’

‘कहाँ त्यसरी हुन्छ ?’

‘नभएर के गर्नुहुन्छ त ? हामी त यस्तै हो नि ब्रो ।’

‘आएर पार्टीभित्रै सङ्घर्ष गर्छौं ।’

‘कहिले नगरेको सङ्घर्ष हो र ? आउनुहोस् न गरौं ।’

‘बोलाउनुस् न त ?’

‘के बोलाउने ?’

‘बैठक ?’

‘कुन बैठक ?’

‘पार्टीको बैठक ।’

‘कुन पार्टी ?’

‘एमालेको ।’

‘कसको एमाले ?’

‘मेरो ।’

‘तपाईंको एमालेको बैठक मैले किन बोलाउने ?’

‘मेरो हैन क्या...तपाईंको ।’

‘मेरो बैठक त मलाई जुनबेला मन लाग्यो त्यहीबेला बसिरहेको छ त । अब फेरि जहिलेसुकै बोलाउँ, तपाईंलाई किन खसखस ?’

‘हामीलाई बोलाउनुहोस् क्या ।’

‘ए....बोलाउँला नि त ।’

‘कहिले बोलाउने त ?’

‘बोलाएको दिन ।’

‘कुन दिन त ?’

‘हेरौं न । फेरि कसैको बर्थ डे आइहाल्छ कि.........’

अन्तिम अपडेट: बैशाख ६, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया