वायु प्रदूषण बढ्दो : प्लाष्टिक, कृषि अवशेष लगायत नजलाउन वाताव...
मंसिर १०, २०८१ सोमबार
लमजुङ – झण्डै ७ वर्ष विद्यालयमा पढाउनुभयो । लामाे समय गैरसरकारी संस्थामा काम पनि गर्नुभयो । तर यी पेशामा त्यति धेरै रम्न सक्नुभएन तेजप्रसाद न्यौपाने, जति कृषिमा उहाँको मन लाग्यो ।
सुन्दरबजार नगरपालिका–४, दुराडाँडा तेजप्रसाद न्यौपानेको मुख्य पेशा कृषि र पशुपालन हो । विशेष जोड कफी खेतीमा गर्नुभएको छ । विगतमा उहाँले घर नजिकैको जग्गामा धान, मकै लगायतका अन्नबाली लगाउँदै आउनुभएको थियो । तर कम लगानी, समय र श्रममा धेरै आम्दानी लिन सकिने सम्भावना देखेर उहाँले अहिले धान लगाउने जग्गामा कफी खेती गर्नुभएको छ । उहाँले अहिले आफ्नो धान लगाउने जग्गामा कफी खेती विस्तार गर्नुभएको छ ।
‘कफीबाट धेरै आम्दानी लिन सकिन्छ । त्यसैले धान लगाउने जग्गामा कफी खेती गरेको हुँ,’ उहाँले भन्नुभयो । उहाँले ३ रोपनी जग्गामा ३ सय कफीका बिरुवा लगाउनुभएको छ ।
‘गैरसरकारी संस्थामा काम गर्दैगर्दा एक/दुई वटा बिरुवा रोपेका थिएँ । यसबाट राम्रो आर्जन गर्न सकिने सम्भावना देखेर अहिले ३ सय कफीका बिरुवा लगाएको छु,’ उहाँले भन्नुभयो, ‘उत्पादन बिक्रीबाट राम्रै कमाइ भइरहेको छ ।’
यसवर्ष उहाँले प्रतिकिलाे एक सय रुपैयाँका दरले ५० किलाे काँचो कफी बिक्री गर्नुभएको छ । विगतदेखी नै कफी बिक्रीबाट कमाइ भइरहेको उहाँले बताउनुभयो ।
‘सुरुका वर्षमा कम उत्पादन हुन्थ्यो । कम आम्दानी हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘बिस्तारै उत्पादन बढ्दै छ । सोही अनुसार उत्पादन बिक्रीबाट आम्दानी पनि वृद्धि हुनेछ ।’
आउँदो वर्ष २ क्विन्टल कफी उत्पादन हुने उहाँको अनुमान छ । कफी खेतीसँगै उहाँले सोही जग्गामा केरा खेती पनि गर्नुभएको छ । कागती पनि लगाउनुभएको छ ।
‘कफीलाई छहारी पनि हुने, कमाइ पनि हुने । त्यसैले कफीसंगै केरा खेती पनि गरिएको छ,’ ५८ वर्षे कृषक न्यौपानेले भन्नुभयो ।
साथ–साथै उहाँले बाख्रापालन समेत गर्नुभएको छ । अहिले उहाँले १४ वटा बाख्रा पाल्दै आउनुभएको छ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रै कमाइ भइरहेको छ ।
कृषि उद्यमबाट घरखर्च चलाउन सहज भएको उहाँ बताउनुहुन्छ । ‘समयको सदुपयोग पनि भएको छ । धेरथोर आम्दानी पनि भएकै छ,’ उहाँले भन्नुभयो, ‘कृषि कर्मबाट चिया, तेल, मसाला खर्च टरेको छ । सामान्यघरखर्चको लागि अहिले दुई चार पैसाको अभाव छैन ।’
अन्य खेतीमा जस्तो कफी खेतीमा ज्यादा मेहनत नपर्ने उहाँ बताउनुहुन्छ । ‘ज्यादा मेहनत पनि नपर्ने राम्रो आम्दानी हुने खेती हो, कफी,’ उहाँले भन्नुभयो, ‘सिचाइँ, गोडमेलमा ध्यान दिन सकेमा यसबाट राम्रो आम्दानी हुन्छ ।’
खेर गएको जग्गामा भन्दा पनि उर्वर जमिनमा व्यवस्थित रुपमा कफी लगाउन सके राम्रो आम्दानी लिन सकिने उहाँ बताउनुहुन्छ । कफी, कागती, केरा खेती र व्यवसायिक बाख्रापालन व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्दै लैजाने उहाँको योजना रहेको छ ।
आफूसँगै अन्य किसानले उत्पादन गरेको कफी राम्रो मूल्य बिक्री भएको उहाँ बताउनुहुन्छ । गाउँमा स्थापित कफी सहकारी कृषि संस्थामार्फत पनि उत्पादित कफीको बजारीकरणमा सघाउ पुगेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार गाउँमा कफी खेती विस्तार, उत्पादन वृद्धि र उत्पादित उपजको बजारीकरणका लागि गाउँमै ‘दुराडाँडा कफी विकास कृषि सहकारी संस्था’ दर्ता गरी संचालनमा ल्याइएको छ ।
सहकारीमा स्थानीय ९२ जना आवद्ध छन् । तर हाल ४० जनाले कफी खेती गरेका छन् ।
‘सहकारीमा आवद्ध सबैलाई कफी खेतीमा आवद्ध गराउने उद्देश्य हो,’ उहाँले भन्नुभयो, ‘केहीले मात्रै कफी लगाएका छन् । बिस्तारै कफी खेतीमा लाग्ने किसानको संख्या वृद्धि हुने विश्वास छ ।’
उहाँका अनुसार सहकारीमार्फत उत्पादन बिक्री गर्न सहज भएको छ ।
सहकारीमा आवद्ध सदस्यले उत्पादन गरेको कफी सहकारीमा ल्याइने र पल्पिङ (मेशिनबाट कफीका दाना, बोक्रा छुट्याइने) गरी सुकाएर बेच्ने गरिएको उहाँले बताउनुभयो ।
सहकारीले वार्षिक ५ क्विन्टल हाराहारीमा ‘पल्पिङ’ गरी सुकाइएको कफी बिक्री गर्दै आएको छ । सहकारीले सुकाइएको कफी प्रति केजी ५ सय ५० रुपैयाँदेखि ६ सय रुपैयाँसम्मा बेच्दै आएको छ ।
‘कफी बिक्रीबाट आएको आम्दानी सम्वन्धित किसानलाई उसले सहकारीमा ल्याएको कफीको तौलका आधारमा पैसा दिइन्छ,’ उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।