‘फुटबल खेल्दा मैदानमै खेल्ने हाे, बाहिर किन खेल्ने ? फुटसलमा खेल्न मजा पनि आउँदैन’

‘प्रधानमन्त्री र मेराे सम्बन्ध राम्राे छ’

 चैत ६, २०७७ शुक्रबार १७:५२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिँदै अब राजनीतिमा फर्किने बताउनुभएको छ । शुक्रवार प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गरी उहाँले आफ्नो राजीनामा र त्यसपछिको कार्यदिशाका बारेमा जानकारी गराउनुभएको हो । उहाँले आफू नियुक्तिभन्दा अगाडिकै भूमिकामा सक्रिय हुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज चाहिँ मैले लेखिए बमोजिमको काम गरेर आएको छु । सम्माननीय प्रधानमन्त्रीलाई मैले भेटेको छु र मैले आफ्नो पदबाट राजीनामा दिएको छु । यसो गरिरहँदाखेरी मैले प्रधानमन्त्रीसँग र मेरो सम्बन्धका बारेमा पनि अघिल्ला मिडियामा केही कुरा लेखिएका थिए । ती कुरा होइनन् । प्रधानमन्त्री र मेरो सम्बन्ध अत्यन्तै सुमधुर छ । राम्रो छ । प्रधानमन्त्रीसँग मैले छलफल नै गरेर मैले यो पदबाट तीन वर्ष पूरा गरेँ र मैले राम्रै गरेको छु भन्ने मलाई लाग्या छ । मैले केही बेठिक गरेको रहेछु भने निश्चय पनि त्यो राइट टु इन्फर्मेशनभित्र पर्छ । राम्रो गरेको गरेको रहेछु त्यो पनि राइट टु इन्फर्मेशनमा पर्छ । किन कि नागरिकले थाहा पाउनुपर्छ । हामी खुला समाजमा छौँ र हामीले खुला समाजलाई स्वीकार गरेका छौँ ।’ 

उहाँले राजीनामापछि आफू राजनीतिको खुला मैदानमा प्रवेश गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘राजीनामा गर्दा लुरुक्क किन गर्ने भनेर हो । विगतमा जताबाट यता आएको थिएँ म त्यतैतिर फर्किने इच्छा आकाङ्क्षाका साथ । फुटबल खेल्दा फुटबल मैदानमै खेल्ने । बाहिर किन खेल्ने ? फुटसलमा फुटबल खेल्न मजा पनि आउँदैन । फुटबल मैदानमै खेल्ने इच्छा उद्देश्यका साथ म त्यता फर्किनलाई राजीनामा गरेको छु ।’ 

उहाँले आफूले समयको मागअनुसार निर्णय गरेको पनि दाबी गर्नुभयो । प्रधानमन्त्री केपी ओली सँगसँगै जस्तो आफू महान्यायाधिवक्ताको पदको जिम्मेवारी लिएको स्मरण गर्दै उहाँले समयले बजाएको घण्टीलाई आफूले सुनेर सम्बोधन गरेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ समयले घण्टी बजाएको मान्छेले बुझ्दैनन् । म चाँहि बुझ्छु कि भन्ने ठान्छु । समयले घण्टी बजाएपछि त्यो आवाजलाई बुझ्नसक्नुपर्छ र त्यसलाई पढ्न सक्नुपर्छ ।’ 

उहाँले तीन वर्षे आफ्नो कार्यकालमा महान्यायाधिवक्ताको कार्यालयबाट भए गरेका कामहरू उल्लेख गर्दै आफूले ठिक ढङ्गले जिम्मेवारी पूरा गरेको स्पष्ट पार्नुभयो । संविधान र कानुन बमोजिम महान्यायाधिवक्ताको कार्यालयले अगाडि बढाउनुपर्ने कामहरूको पनि उहाँले फेहरिस्त राख्नुभयो ।

मुद्दाको अनुसन्धान गर्ने सवालमा अनुसन्धान र अभियोजनलाई स्वायत्तता दिने काम भएको, महान्यायाधिवक्ताले पनि हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पार्नुभयो । महान्यायाधिवक्ताले संविधान बमोजिम आफ्नो अधिकार प्रत्यायोजन गरिसकेपछि सम्बन्धित सरकारी वकिलले स्वायत्त र स्वतन्त्र ढङ्गले मुद्दाको अभियोजन गर्ने कुरामा पर्याप्त सतर्कता लिइएको बताउनुभयो । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया