२८ दिनमै दुई वटा मोटरेबल पुल निर्माण

 चैत ६, २०७७ शुक्रबार १९:५०:१७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको साेलुदूधकुण्ड नगरपालिका २ मा २८ दिनभित्र दुई वटा माेटरेबल पक्की पुल निर्माण गरिएको छ । बेनी हाइड्रोपावर प्रालीले सामाजिक उत्तरदायित्वअन्तर्गत गएकाे मङ्सिर १० गते शिलान्यास गरी पुस ८ गते दुइटै पुलकाे निर्माण सम्पन्न गरेको हो । निर्माण सम्पन्न दुइटै मोटरेबल पुलको बिहीवार बौद्ध परम्पराअनुसार उद्घाटन गरिएको छ ।

कम्पनीले जुनबेसी इदिङ बासा खोलामा ६८ लाख ३६ हजार दुई सय ३७ रुपैयाँ ९७ पैसा र मिन्जुङ खोलामा ११ लाख ९९ हजार एक सय ५८ रुपैयाँ पैसामा आरसीसी पक्की पुलको निमार्ण गरेकाे कम्पनीका प्रमुख पीजी शेर्पाले जानकारी दिनुभयो ।

सल्लेरी बेनी हुँदै लिखुपिके जोड्ने सडक खण्डमा पर्ने यस पुल निर्माण भएसँगै बाह्रै महिना यातायात सञ्चालन हुने सोलुदूधकुण्ड नगरपालिका २ का वडाध्यक्ष मिङमार दोर्जी शेर्पाले बताउनुभयो ।

यस खोलामा पुल नहुँदा हिउँदको समयमा खोलाबाटै सवारी सञ्चालन गर्ने भए पनि वर्षायाममा दुई वटा गाडी पोयल्ट्री गर्नुपर्ने बाध्यता थियो । 

झण्डै ८० लाख रुपैयाँमै दुई वटा पक्की पुल निर्माण भएसँगै जनप्रतिनिधिदेखि स्थानीयबासी अच्चमित छन् । वडाध्यक्ष शेर्पाले भन्नुभयो, ‘यही पुल सरकारी लगानीमा निर्माण हुने हो भने करोडौँ रुपैयाँ पर्थ्याे तर निजी कम्पनीको लगानीमा ८० लाख रुपैयाँमा नै पुल निर्माण भयो, यसले हामी जनप्रतिनिधिमाथि नै नैतिक प्रश्न खडा भएको छ ।’ 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया