१० हजार फूलका बिरुवा उत्पादन गर्दै हेटौँडा उपमहानगरपालिका

 चैत १३, २०७७ शुक्रबार १९:३८:३९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाले हेटौँडा बजार र आसपासका क्षेत्रमा फूल रोप्ने अभियानलाई अझै तीव्र पार्नका लागि आफै नर्सरी स्थापना गरेर फूल उत्पादन गर्न थालेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा फूलका बिरुवा रोप्न सक्ने गरी १० हजार फूलका बिरुवा उत्पादन गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । 

हेटौँडा बजार क्षेत्र र आसपासका सडक पेटीमा फूलैफूलले ढकमक्क पार्ने योजनाअनुसार महँगो मूल्यमा फूलका बिरुवा खरिद गर्नुभन्दा पनि आफै उत्पादन गरेर रोप्न लागिएको मेयर महतले बताउनुभयो । 

हेटौँडालाई फूलैफूलको सहरका रूपमा विकास गर्न अन्यत्रबाट खरिद गर्नुभन्दा पनि आफै फूलका बिरुवा उत्पादनका लागि नर्सरी तयार गरिएको हो ।

उपमहानगरपालिकाले सडक पेटीमा रोप्ने गरेका फूलका बिरुवा चोरी भएका कारण त्यही ठाउँमा दोस्रो, तेस्रो पटकसमेत बिरुवा रोप्नुपर्ने बाध्यता परेको छ । महँगो बिरुवा चोरी हुँदा समस्या भएकाले पनि आफ्नै नर्सरीबाट उत्पादित बिरुवा रोप्ने गरी काम थालिएको मेयर महतले बताउनुभयो । 

अहिले हेटौँडा बजार क्षेत्रका माछाप्लान, नगरपालिका रोडअन्तर्गत मकवानपुर क्याम्पस अगाडि, कान्ति लोकपथको डिभाइडरमा कल्की फूल फुलेर बजारको सुन्दरता थपिएको छ । नगरवासीका घर अगाडि फूलका बिरुवामा पानी हालेर हुर्काउने लगायतका सबै काम पालिकाले भन्दा पनि पानी हाल्ने, गोडमेल गर्ने काम घरधनीले गर्नका लागि उपमहानगरपालिकाले आग्रह गरेको छ ।

प्रत्येकले आफ्नाे घर अगाडि भएका बिरुवा हुर्काउने र पानी हाल्ने, गोडमेल गर्ने काम गर्ने हो भने सबैतिर फूलैफूलको सहर बनाउने अभियान सफल हुने मेयर महतले बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया