'कोरोनाबाट बच्न नयाँ वर्ष र चाडपर्व यसरी मनाऔँ'

 चैत ३१, २०७७ मंगलबार १२:२३:१२ | डा. कृष्णप्रसाद पाैडेल
unn.prixa.net

अहिले हामी कोरोना भाइरसको महामारीविरुद्ध नयाँ चरणको अवस्थामा छौँ । र हाम्रो देशमा नयाँ सङ्क्रमण उकालो लागिसकेको छ ।

अस्पतालहरुमा भर्ना हुने दर हेर्दा अलिकति बलियो मानिएको उमेर समूहमा पनि आक्रामक रुपमा सङ्क्रमण देखिएको छ । विशेषगरी ५० वर्षभन्दा कम उमेरकाहरु पनि आईसीयूमा भर्ना हुने बढी हुनुहुन्छ । र साना बालबालिकाहरुमा सङ्क्रमण  हुने दर बढ्दो क्रममा छ । नयाँ भेरियन्ट नेपालमा पुष्टि भइसकेको र यसको सङ्क्रमणदर बढ्दो क्रममा रहेको छ । 

यी जोखिम र चुनौतीकाबीच हामी नयाँ वर्ष मनाउँदैछौँ । नयाँ वर्ष मनाउँदै गर्दा जनस्वास्थ्यको मापदण्डमा खेलाँची गर्यौँ भने हामीले आउने वर्ष राम्रो होइन स्वास्थ्यका कारणले नराम्रो बन्न सक्छ । अहिलेको अवस्थामा हामी सचेत हुनुपर्ने बेला आएको छ ।

विशेषगरी हुल, भीडभाड हुने ठाउँमा, भौतिक दूरी कायम नहुने ठाउँमा नगएर पनि हामीले नयाँ वर्ष मनाउन सक्छौँ । घरमै बसेर पनि नयाँ वर्षलाई मनाउन सकिन्छ । भीडभाडमा सँगै बसेर मनाउने, मास्क नलगाउने गर्दा जोखिम बढी हुन्छ ।

हामी सबै व्यावहारिक संयम बनेनौँ भने हामी पछि महामारीको चरम मारमा पर्न सक्छौँ । त्यसैले हामीले पहिले नै बचावटका उपायहरु अपनाउन आवश्यक छ । जहाँ जनस्वास्थ्यका मापदण्ड पालना हुन सक्छ, त्यहाँ मात्रै जाऔँ । अहिले पनि फनपार्क जस्ता ठाउँहरुमा भीडभाडको अवस्था अहिले पनि उस्तै छ । भीडभाडको ठाउँमा हामी पुग्यौँ भने हामी सङ्क्रमित हुने डर बढी हुन्छ ।

लक्षण नदेखिएकाहरु पनि धेरै हुन सक्छन्, ज्वरो नआएका अथवा श्वास फेर्न गाह्रो नभएका जसले अरुलाई सार्ने जोखिम बढी हुन्छ । झण्डै ८० प्रतिशत मानिस लक्षण नभएका अथवा सामान्य लक्षण भएका कोरोना सङ्क्रमित व्यक्ति हुन्छन् ।

म बाहेक अरु व्यक्ति सङ्क्रमित हुन सक्छ भनेर सोच्ने दिन आएको छ । म बाहेक अर्को व्यक्ति सङ्क्रमित छ अर्थात म सङ्क्रमित छु अर्कोलाई सार्न सक्छु भन्ने कुरामा मात्रै ध्यान दिन सक्यौँ भने मात्रै सङ्क्रमणबाट जोगिन सकिन्छ । 

भीडभाड हुने ठाउँहरुमा स्वास्थ्य मापदण्ड पालना कम हुने हुँदा जोखिम उच्च हुन्छ । त्यसैले यस्तो भीडभाडमा नगइ नयाँ वर्ष मनाउनुपर्छ । धेरै मानिसहरु भेला भएको ठाउँमा सङ्क्रमणको जोखिम बढ्छ । मास्क लगाएर, सामाजिक दूरी कायम गरेर मात्रै हामी काम गर्न सक्छौँ, धेरै मानिस भेला हुने ठाउँमा त्यो सम्भव छैन ।

आफू, आफ्नाे परिवार र समुदाय सुरक्षित रहने कुरामा ध्यान दियौँ भने २०७८ साल राम्रो बनाउन सक्छौँ । २०७७ यसरी नै सुरु गरेका थियौँ, निकै पीडादायी भयो । धेरैको रोजगारी गुम्यो, कतिको आयस्रोत नै गुमाउनुपर्यो, अर्थतन्त्रमा देशले निकै घाटा ब्यहोर्नुपर्यो । त्यसैले हामी सचेत हुनुको विकल्प छैन । 

नयाँ वर्षको दिन ठूलो जमघट हुन हुँदैन । मास्क लगाएर दूरी कायम गरेर मात्रै हुने भेला तथा भेटघाट गर्नुपर्छ । सङ्क्रमण उकालो लागिरहेको छ । गएको वर्ष हामी यतिबेला बन्दाबन्दीमा थियौँ र सुरक्षित भयौँ । तर अहिले सबै क्षेत्र खुला रहेकाले जोखिम बढी छ ।

सरकारको आशय पनि धेरै क्षेत्र बन्द नगरि आम नागरिकलाई सुरक्षित राख्ने भन्ने नै छ । त्यसैले परिवारसँग मात्रै, भीडभाड हुने ठाउँमा नगइ, गए पनि दूरी कायम गरेर आफू सुरक्षित हुने गरी नयाँ वर्ष मनाउनुपर्छ । तर खाने, पिउने कुरा गर्दा स्वास्थ्यका लागि उपयोगी पनि छैनन्, जुन ठाउँमा जाँदा मास्क पनि लगाउन सकिँदैन त्यस्ता कुराहरुमा ध्यान दिन जरुरी छ । 

हाम्रा केही चाडपर्वहरु यस्ता पनि छन्, जुन पर्वमा हामी धेरै मानिस भेला हुन्छौँ । भारतमा पनि बिहेवारी गर्दा ५० जनाभन्दा बढी नहुने गरी, मलामी जाँदा २० जना भन्दा बढी भेला नहुन आह्वान गरिएको छ । हाम्रो देशमा पनि त्यस्तै नियम लागू गर्नुपर्ने अवस्था छ ।

स्वास्थ्य मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रमहरु नगर्न भनेको छ, जोखिम नहोस् भनेर भनिएको हो । सावधानी अपनाउँदा अपनाउँदै पनि जोखिम रहन्छ, पूर्णरुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न सजिलो नहोला । तर जतिसक्दो जनस्वास्थ्यको मापदण्ड पालनामा जोड दिनुपर्छ । 

मास्कको प्रयोग अनिवार्य हो, मास्क नलगाउनेलाई कारबाही गर्न नै सरकारले भनेको छ । केही अवस्थामा पूरै मास्क नलगाउने अवस्था आउन सक्छ, जस्तै भोज भतेरमा खानु पर्यो बस्नु पर्यो भने मास्क लगाएर सम्भव नहुन सक्छ । त्यसैले यस्ता कार्यहरु बन्द गर्नु नै उत्तम हुन्छ । लामो समयलाई हेरौँ, छोटो रमाइलो भन्दा पनि । 

मौलिक परम्परालाई जोगाऔँ, तर भीडभाड हुने काम नगरौँ । यही अवस्थामा सङ्क्रमण बढ्ने हो भने हामीले थेगिनसक्नु हुन्छ । २५ जनाभन्दा बढी भीड नगरौँ भनेर गरेको अनुरोध सबैलाई हो। विशेषगरी जात्रा मनाउनु हुनेहरुका लागि पनि हो ।

सबै हाम्रा संस्कृतिलाई जोगाउँदै हामी आफू पनि जोगिने अवस्था आएको छ । मिल्ने अवस्थामा हामीले मेला, जात्रा पर्व सँगै मनाउन पाउँ भन्ने हो तर अहिले त्यो अवस्था छैन सबै सचेत बनौँ । 

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलसँग गरिएको कुराकानीका आधारित)

अन्तिम अपडेट: चैत २, २०८०

डा. कृष्णप्रसाद पाैडेल

डा. पाैडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक हुनुहुन्छ

तपाईको प्रतिक्रिया