'नेपालमा घट्दै प्रजनन क्षमता, समस्याका रूपमा निःसन्तानपन'

 बैशाख २, २०७८ बिहिबार १५:४:१२ | डा. अनुपमा सुवाल गुरुङ
unn.prixa.net

विवाहपछि अधिकांशको सन्तान जन्माउने चाहना हुन्छ तर सबै दम्पतीका लागि सन्तानको जन्म सामान्य हुँदैन । निकै प्रयासका बाबजुद पनि केही दम्पतीले सन्तानको सुख पाउन सकिरहेका हुँदैनन् । अहिले नेपालमा पनि निःसन्तानपन ठूलै समस्याका रूपमा छ । यो समस्या बर्सेनि बढ्दै गएकाे देखिन्छ । सामान्यतयाः कुनै पनि दम्पतीले प्राकृतिक रूपमा एक वर्षसम्म सन्तानको प्रयास गर्दा गर्दै पनि नभए त्यसलाई निःसन्तानपन भनिन्छ ।

उमेर जति बढ्दै गयो समस्या पनि बढ्दै जान्छ । कसैको ३८/४० वर्षमा विवाह भएको छ भने, प्राकृतिक र"पमा होस् भनेर एक वर्षसम्म कुरेको राम्रो हुँदैन । यद्यपि अन्य उमेर समूहका लागि प्रयास गरेको एक वर्षसम्म पनि सन्तान नभए चिकित्सकसँग परामर्श लिनुपर्छ । प्राकृतिक रूपमा गर्भवती हुन यी कुरा सामान्य हुन आवश्यक छ ।

पहिलाे, श्रीमानको वीर्य र दोस्रो, श्रीमतीको पाठेघर स्वस्थ हुनुपर्छ । तेस्रो, महिलाको अन्डा उत्पादन गर्ने शक्ति राम्रो हुनुपर्छ र चौथो, ट्युब खुलेको हुनुपर्छ । हामीले यी चार कुरालाई आधार मानेर हेरेपछि मात्र समस्या के हो भनेर पत्ता लगाउन सक्छौँ । महिलामा मधुमेह, थाइराइड, रक्तचाप, महिनावारी गडबडी छ कि भनेर हेर्छाैँ । पहिले सन्तान खेर गएको छ या सेतोपानी बग्ने समस्या छ कि भनेर पनि हेर्नुपर्छ । 

पुरुषमा पनि यौन समस्या भए/नभएको, यौनाङ्गमा चोटपटक लागेको, लागुपदार्थको प्रयोग गर्ने/नगर्ने लगायतका कुरा हेर्न आवश्यक छ । विश्वभर निःसन्तानपनको समस्या ८ देखि १२ प्रतिशतमा देखिएको छ भने नेपालमा १५ देखि १८ प्रतिशत रहेको विभिन्न अध्ययनले देखाउँछ । निःसन्तानपनको समस्या हुनुमा महिला र पुरुष दुवै कारण हुन् । 

वैदेशिक रोजगारीमा जाने पुरुषमा निःसन्तानपनको समस्या बढी भेटिन्छ । पुरुषमा हुने निःसन्तानपनको समस्याका कारणमा विशेषगरी वीर्यको कमी, उमेर, वंशानुगतया अन्य कुनै रोग हुन सक्छ ।  महिलामा भने ट्युब ब्लक हुँदा, अन्डा बनाउने शक्ति एकदम कम या धेरै हुँदा अन्डा उत्पादनमा समस्या हुन्छ । पाठेघरमा ट्युमर भए या सङ्क्रमण भए, वंशानुगतकारण, हर्मोनको गडबडी, पटक–पटकको गर्भपतन र पाठेघरमा घाउ हुँदा पनि निःसन्तानपनको समस्या देखिन सक्छ । तर अहिले धेरैमा देखिने आम कारण भनेको महिलामा ट्युब ब्लक, अन्डा उत्पादनमा समस्या, पुरुषमा वीर्यको कमी र ढिलो विवाह नै देखिन्छ ।

समयमै निदान नभए समस्याअनुसार उपचार पनि हुन्छ । विशेषगरी दुई तरिकाले यसकाे उपचार हुन्छ । पहिलोमा आईयूआई र दोस्रोमा आईभीएफ अर्थात् टेस्टट्युब बेबी । आईयूआई उपचारमा श्रीमानको वीर्य या डोनर स्पर्म महिलाको पाठेघरमा प्रोसेस गरेर हाल्ने प्रक्रियालाई इन्ट्रायुटाइन इन्सेमिनेसन अर्थात् आईयूआई भनिन्छ । डोनर स्पर्म श्रीमानको वीर्य नभएको अवस्थामा दम्पतीको अनुमतिअनुसार मात्र राखिन्छ । 

आईभीएफ प्रक्रिया कृत्रिम तरिकाबाट हुन्छ । अन्डा बनाउने, अन्डा झिक्ने, श्रीमानको वीर्य या डोनरको स्पर्म मिलाएर गर्भाधान गर्नेदेखि लिएर श्रीमतीको पाठेघरमा हाल्ने सबै प्रक्रिया कृत्रिम तरिकाबाट हुन्छ । त्यसैले यसलाई टेस्टट्युब बेबी भनिएको हो ।  प्रजनन क्षमता हुने उमेरमै सन्तानको योजना बनाउनु राम्रो हुन्छ । ३५ वर्षपछि महिलाको अन्डा बनाउने शक्ति घट्दै जान्छ ।

आमाको पेटबाटै महिला सीमित अन्डा लिएर जन्मेका हुन्छन् । जीवनभर महिलाले नयाँ अन्डा बनाउँदैनन् । हरेक पटक महिनावारी हुँदा ती अन्डा खेर जान्छन् । ४५ वर्षपछि कृत्रिम तरिकाबाट सन्तान जन्माउन पनि गाह्रो नै हुन्छ । हुन त आईभीएफ ४५/५० उमेरसम्म पनि गर्न मिल्छ तर छिटो योजना बनाए राम्रो हुन्छ । अहिले प्रजनन क्षमता घट्दै गएको छ ।

अस्वस्थकर खानपान तथा जीवनशैली, विभिन्न किटनाशक औषधिको प्रयोग, वातावरण प्रदूषणलगायतले पनि महिला र पुरुष दुवैमा प्रजनन क्षमता घट्दै गएको पाइन्छ । ३० वर्षको उमेरका महिलामा अन्डा बनाउने शक्ति १० वर्षपछि ४० वर्षकी महिलामा तुलना गर्‍याैँ भने कम पाउँछौँ । त्यसैले २५ देखि ३५ वर्षभित्र सन्तान जन्माएको राम्रो हुन्छ ।

निःसन्तानपनको समस्या आउन नदिन सही उमेरमा दम्पतीले सन्तानको योजना बनाउनुपर्छ । अध्ययन र करिअर भनेर यसलाई धेरै पर सार्नु हुँदैन । स्वस्थकर खानपान र जीवनशैली अपनाउनुपर्छ । करिअर तथा अध्ययनको योजना बनाए जस्तै सन्तान जन्माउने पनि योजना बनाउनुपर्छ ।

प्राकृतिकरूपमा सन्तानको प्रयास गर्दा पनि नभए अनिवार्यरूपमा चिकित्सकको परामर्श लिनुपर्छ । समस्या हुँदाहुँदै अस्पताल ढिलो गएर उपचार गरे पनि सफल हुने सम्भावना निकै कम हुन्छ । एक जोडीले नियमित असुरक्षित यौनसम्पर्क गरेपछि गर्भधारण गर्न सकेनन् भने त्यसलाई बाझाेपन भनिन्छ । बाझोपन समस्या महिला, पुरुष वा दुवै जनामा हुन सक्छ । 

बाझोपन दुई प्रकारको हुन्छ

१. Primary infertility (प्राथमिक बाझाेपन) : जोडीहरू जसले कम्तीमा एक वर्षसम्म गर्भधारण गरेनन् भने
२. Secondary infertility (द्वितीय बाझाेपन) : एक पटक गर्भवती हुने क्षमता भएको तर असमर्थ छन् भने

महिलामा बाझोपनको समस्या हुने कारणहरू :

१. उमेर
२. थाइराइड राेग 
३. मधुमेह
४. डिम्बग्रन्थी अल्सर /पालिसिस्टिक अन्डाशय सिन्ड्रोम (PCOS)
५. ट्युब अवरोध
६. ओभुलेशन डिसअर्डर
७. गर्भाशय फाइब्राएडहरू
८. एन्डोमेट्रियोसिस
९. धुम्रपान/मद्यपान 
१०. तौल
११. खानपिन
१२. यौन इतिहास
१३. हर्मोनल असन्तुलन

पुरुषमा बाझोपनको समस्या हुने कारणहरु ः

१. असामान्यतया शुक्राणु उत्पादन वा कार्य
२. कम शुक्राणु गणना
३. नलिका/नलिका उल्टो असफलता
४ . हर्मोन असन्तुलन
५. धुम्रपान/मद्यपान 
६ . तौल
७. खानपिन
८. यौन इतिहास
९. यौन सङ्क्रमण, चोट, शल्यक्रिया आदि

(डा. अनुपमा सुवाल गुरुङ भेनस अस्पतालमा स्त्री रोग तथा आईभीएफ, निःसन्तानपन विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ ।) 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. अनुपमा सुवाल गुरुङ

डा. गुरुङ भेनस अस्पतालमा स्त्री रोग तथा आईभीएफ, निःसन्तानपन विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया