सात प्रदेशका ५० ठाउँमा विद्युतीय गाडीको चार्जिङ स्टेशन बनाउन ठेक्का सम्झौता

 बैशाख १, २०७८ बुधबार १४:७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सात प्रदेशका विभिन्न ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मत सम्भारका लागि ठेक्का सम्झौता भएको छ । 

नेपाल विद्युत् प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको चीनको वाङवाङ डिजिटल इनर्जी कर्पोरेशन लिमिटेड, जियाङ्स बीच मङ्गलवार ३७ करोड ७९ लाख ५५ हजार रुपियाँमा (करबाहेक) ठेक्का सम्झौता भएको हो । एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेशन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ ।  

सञ्चालनमा आएको पाँच वर्षसम्म चार्जिङ स्टेशनको मर्मत सम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताउनुभयो । उहाँले हरेक चार्जिङ स्टेशनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणाली जडान गरिने जानकारी दिनुभयो । 

चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिने छन्, यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ । 

तीन सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेशनको सफ्टवेयर राखिने छ । ५० वटै स्टेशनको कन्ट्रोल काठमाण्डाैबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

चार्जिङ स्टेशन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा राखिने छ । 

कहाँ कति वटा ?

काठमाण्डाै उपत्यकामा सात वटा चार्जिङ स्टेशन राखिने छ । 

प्रदेश नम्बर १ मा झापाको दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी पाँच वटा चार्जिङ स्टेशन रहनेछन् । 

प्रदेश नम्बर २ मा पर्साको वीरगञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी सात वटा चार्जिङ स्टेशन स्थापना हुनेछन् ।  

वाग्मती प्रदेशमा धादिङको मलेखुमा दुई, वीपी राजमार्गको सिन्धुलीमा दुई, मकवानपुरको हेटौँडामा दुई, चितवनको भरतपुरमा दुई तथा मुग्लिन/कुरिनटारमा चार र काभ्रेकाे बनेपामा एउटा गरी १३ वटा चार्जिङ स्टेशन स्थापना हुनेछन् । 

गण्डकी प्रदेशमा नवलपुर, तनहुँको दमौली, स्याङ्जामा एक/एक तथा कास्कीको पोखरामा तीन गरी ६ वटा चार्जिङ स्टेशन रहनेछन् ।  

लुम्बिनी प्रदेशमा आठ वटा चार्जिङ स्टेशन रहनेछन् । बाँकेको नेपालगञ्जमा एउटा, दाङको भालुवाङ तथा दाङमा एक/एक, रुपन्देहीको बुटवलमा एउटा, नवलपरासीको बर्दघाट/सुनवलमा दुइटा गरी आठ वटा चार्जिङ स्टेशन रहनेछन् । 

कर्णाली प्रदेशमा सुर्खेतमा एक र सुदूरपश्चिम प्रदेशमा तीन वटा चार्जिङ स्टेशन रहने छन् । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा एक/एक गरी सुदूरपश्चिममा तीन वटा चार्जिङ स्टेशन रहनेछन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया