धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
गुल्मी – ‘भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो
इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो ।
माथिका यी हरफ स्वर्गीय कवि लेखनाथ पौडेलले काल महिमा नामक कवितामा लेख्नुभएको मानव जीवनको तितो यथार्थताको प्रतिबिम्ब हो । उर्बर जीवनको गोरेटोमा लम्कँदै जाँदा विभिन्न आरोह र अवरोहलाई चिर्दै र सुनौलो भविष्यको रेखा कोर्दै गर्दा दैवले यसरी बीच बाटोबाटै टपक्क टिपेर लैजाला भनेर र कसले पो कल्पना गरेको थियो र ! तर दैवको अगाडि कसैको केही लाग्दो रहेनछ भन्ने तितो यथार्थलाई गुल्मेलीले बुधवार नचाहँदा नचाहँदै स्वीकार्न बाध्य हुनुपर्यो ।
नयाँ वर्षमा तिनै भगवानसँग आफ्नो सुनौलो भविष्यका लागि आशीर्वाद थाप्न स्वर्गद्वारी हिँडेका जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको जीप मन्दिर नजिकै पुग्दा दुर्घटनामा पर्याे । स्वर्गद्वारीमा भगवानको आशीर्वाद थाप्न नपाउँदै जीपमा चढेकामध्येका पाँच जना सधैँका लागि बीच बाटोबाटै कहिल्यै कसैसँग भेट नहुने गरी अलप बनेर गए । अब तिनीहरुले कहिल्यै भगवानलाई आर्शीवाद देऊ भनेर सताउने छैनन् ?
गुल्मीले बुधवार चार जना राष्ट्रसेवकलाई गुमाएपछि अहिले सिङ्गो जिल्ला शोकमा डुबेको छ । जीप दुर्घटनामा परि ज्यान गुमाएकाहरुको शव बिहीवार दिउँसो गुल्मी आइपुगेको थियो । ती शव जिल्ला प्रशासन कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखियो । श्रद्धाञ्जली दिनका लागि मानिसहरुको बाक्लो उपस्थिति थियो । कार्यालय परिसरमा क्रमैसँग राखिएका शव र ती शवमाथि राखिएका मृतकका सुन्दर र हँसिला तस्बिरले त्यहाँ उपस्थित जो कसैलाई बोलाइरहेको र हाँसिरहेको जस्तो आभास गराएको थियो ।
शवमाथि राखिएका तस्बिरले श्रद्धाञ्जली दिन जाने जो कोहीका पनि आँखा रसाउन विवश थिए । अघिल्लो दिनसम्म कार्यालयमा सँगै काम गरेका आफ्नै सहकर्मीलाई श्रद्धाञ्जली दिँदै गर्दा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कार्यक्रममा नै भक्कान्निनुभएको थियो ।
एउटै घटनामा कार्यालयका खरिदारदेखि अधिकृतसम्मका चार जनालाई गुमाउनुको पीडाले उहाँको मानसपटलमा यो घटनाले कहिल्यै नमेटिने गहिरो छाप पारेको छ । श्रद्धाञ्जली दिन मृतकका आफन्तदेखि जिल्लाका राजनैतिक दल, नागरिक समाज, कार्यालयका कर्मचारी, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि र आम शुभचिन्तकको बाक्लो उपस्थिति थियो ।
श्रद्धाञ्जली कार्यक्रममा लाग्दथ्यो अन्तरहृदयबाट कसैले पनि मृत्युलाई सहजै स्वीकार्न सकिरहेका थिएनन् । आफ्नो छोराको मृत्युको खबर कसैले पनि सहजै सुनाउने आँट गर्न नसकेका कम्युटर अपरेटर सूर्य पन्थीकी आमा अम्बिका पन्थीले बेलुकी टेलिभिजनमा समाचार हेरेपछि मात्र दुर्घटनामा छोराको मृत्युको खबर पाउनुभएको थियो । घटनाको बारेमा मृतकका परिवारका केही सदस्यलाई धेरैले पछि मात्र जानकारी गराएका थिए । मृतकका आफन्त कार्यालय परिसरमै आएर भक्कानिँदै श्रद्धाञ्जली अर्पण गर्दा धेरैले आँशु सम्हाल्न सकेनन् ।
प्युठानमा बुधबार भएको जीप दुर्घटनामा ज्यान गुमाएकाको शोकमा बिहीवारदेखि वैशाख ६ गते सोमवारसम्मका लागि जिल्ला प्रशासन कार्यालयमा शान्ति, सुरक्षा र मुद्दासम्बन्धीका बाहेक अरु सेवा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्य पन्थी, खरिदार ईश्वरी भण्डारी, यम लालपन्थी र चालक केशव कार्कीको जीप दुर्घटनामा ज्यान गएको थियो । वर्षको अवसरमा बुधवार गुल्मीको सदरमुकाम तम्घासबाट स्वर्गद्वारी दर्शनका लागि चार जना बालबालिका, ११ जना कर्मचारी र चालकसहित अन्य दुई गरी १७ जना चढेका लु १ ज १६५५ नम्बरको जीप प्युठान नगरपालिका ३ रुमाले नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका सात जनालाई बिहीवार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ लगिएको थियो भने अन्य पाँच जना सामान्य उपचारपछि घर फर्किसकेका छन् ।
दुर्घटनाका मृतक पाँचै जनाको शवलाई जिल्ला प्रशासन कार्यालयले आफन्तको जिम्मा लगाइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।