‘हाइ-भोल्टेज’ करेन्ट प्रवाह हुँदा एक जनाको ज्यान गयो, १५ घाइते

 बैशाख ४, २०७८ शनिबार १८:४६:२७ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा शनिबार विद्युत लाइनमा ‘हाइ-भोल्टेज’ प्रवाह हुँदा करेन्ट लागेर एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।

बिहान करिब ११ बजे महालक्ष्मी नपा–४ चानुवाका भुतडाँडा, नेवारगाउँ, जिमी गाउँ लगायत क्षेत्रको विद्युत् लाइनमा ‘हाइ-भोल्टेज’ करेन्ट प्रवाह भएको हो । करेन्ट लागेर महालक्ष्मी नपा–४ चानुवा भुतडाँडाका चन्द्रबहादुर कार्कीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक एसपी गोविन्द अधिकारीले बताउनुभयो । मोबाइल चार्ज गर्ने क्रममा विद्युत् लाइनमा हाइ-भोल्टेज प्रवाह भएर करेन्ट लाग्दा कार्कीको घटनास्थलमै ज्यान गएको हो ।

करेन्ट लागेर नेवार गाउँका ५५ वर्षीया बमकुमारी श्रेष्ठ, ६१ वर्षीय पदमबहादुर श्रेष्ठ, ९ वर्षीया सावित्रा निरौला र जिमी गाउँका ६ वर्षीय लाजिहाङ्ग जिमी घाइते भएका छन् । टिभीको प्लग जोड्ने क्रममा जिमीलाई करेन्ट लागेको हो भने बाँकी ३ जनालाई मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको हो । उनीहरुलाई उपचारका लागि तत्काल धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

बाँकी ११ जनामध्ये ५ जनालाई पनि उपचारको लागि धरान पठाएको छ भने अन्यको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । वर्षासँगै आएको हावाहुरीका कारण त्यस क्षेत्रमा दुई दिनदेखि बिजुली थिएन । बिजुली आउनासाथ विद्युतीय सामग्री चार्ज गर्ने क्रममा धेरैलाई करेन्ट लागेको हो । 

‘हाइ-भोल्टेज’ करेन्ट प्रवाह हुँदा धेरै घरमा मोबाइल, टिभीलगायत सामग्री जलेका छन् । क्षतिको यकिन विवरण आउँन बाँकी छ । यता, कसरी हा-इभोल्टेज गयो भन्ने विषयमा अनुसन्धान भइरहेको विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख दीपक सापकोटाले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया