लुम्बिनी प्रदेशद्वारा रुपन्देही र बाँकेमा विद्युतीय बस सञ्चालन गर्ने तयारी

 वैशाख ६, २०७८ सोमबार १४:२:० | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ - लुम्बिनी प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष प्रदेशका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ ।

लुम्बिनी प्रदेशको रुपन्देही र बाँके जिल्लाका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेकाे हाे । प्रदेश सरकारले तीन ठाउँमा विद्युतीय बस चलाउने तयारी गरेकाे भए पनि दाङमा भने सडक विस्तारको काममा ढिलाइ भएका कारण आउँदाे आर्थिक वर्षमा विद्युतीय बस सञ्चालन गर्न नसकिने भएको हो ।

घोराही-तुलसीपुर सडक विस्तारको काम पूरा नहुँदा दाङलाई छोडेर आउँदाे आर्थिक वर्ष बाँकेको नेपालगञ्ज-कोहलपुर सडक र रुपन्देहीको बुटवल-भैरहवा सडकखण्डमा विद्युतीय बस सञ्चालन गर्ने तयारी अघि बढाइएको छ ।

विद्युतीय बस सञ्चालनका लागि सम्भाव्यता अध्ययनसँगै जग्गा छनोटका लागि सरकारलाई आग्रह गर्ने काम गरिएको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मज्गैयाँले बताउनु भयो  ।

विद्युतीय बस सञ्चालनका लागि पालिकाहरुले जग्गा छनोट गर्ने, प्रदेश सरकारले बसहरु चार्ज गर्नका लागि चार्जिङ स्टेशन निर्माण गरिदिने र सम्बन्धित ठाउँका व्यवसायी समितिहरुलाई नै बस सञ्चालनको जिम्मा दिने गरी काम अघि बढाउन थालिएको छ । प्रदेश सरकारले नै बस किनेर चलाउने नभइ सरकारले विद्युतीय बस सञ्चालनका लागि वातावरण बनाइ दिने मज्गैयाँले बताउनु भयाे । 

'बस चलाउनका लागि प्राइभेट कम्पनीलाई दिने गरी कामलाई अघि बढाउँदै छौँ’' उहाँले भन्नुभयो ‘प्रदेश सरकारले व्यवसायीलाई विद्युतीय बस सञ्चालनका लागि ठाउँ निर्माण गरिदिने र बस खरिदका लागि सहुलियत दिन्छ ।’ उहाँले विद्युतीय बस सञ्चालनका लागि पालिकाहरु समेत उत्साहित देखिएको बताउनु भयाे । 

साथै, ती ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिने भएकाे छ । प्रदेश सरकारले पालिकाहरुसँगै प्राइभेट कम्पनीहरुसँग मिलेर काम गर्नसके खर्च कम हुने मज्गैयाँले बताउनु भयाे । कम्तीमा दुई ठाउँहरुमा ७/८ वटाका दरले बसहरु ल्याएर चलाउने तयारी गरेकाे छ । 

‘सम्भाव्यता अध्ययन गरेका दुवै रुटहरुमा सडकको राम्रो अवस्था रहेको र पालिकाहरु उत्साहित देखिएकाले पाइलट प्रोजेक्टका रुपमा आउँदाे आर्थिक वर्ष बस सञ्चालन गर्ने गरी काम अघि बढ्नेछ । पहिलो प्रोजेक्ट सफल भएपछि दाङको घोराही-तुलसीपुर सडकखण्डमा विद्युतीय बस चलाउने छौँ ’मज्गैयाँले भन्नुभयाे । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया