‘तपाईंको मास्क खोइ ?’

 बैशाख ८, २०७८ बुधबार ११:४०:४४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – कोरोनाबाट उत्पन्न सङ्कटलाई रोक्नका लागि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र गुल्मीले आजदेखि ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर अन्तर्गत नयाँ प्रजातिको गुल्मीमा पनि सङ्क्रमण देखिएसँगै आम नागरिकलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गर्दै यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा सुरु गरिएको अभियानमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु र सुरक्षा निकाय लगायतको टोलीले नि:शुल्क रुपमा मास्क उपलब्ध गराएर  ‘तपाईंको मास्क खोइ ?' अभियान सुरु गरेका थिए । 

कोरोनाको महामारीबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं, साबुन पानीले बेलाबेलामा हात धुने बानी बसालौं अत्यावश्यक कामबाहेक कोही पनि घर बाहिर ननिस्कौं, भीडभाड नगरौं लगायतका नाराहरु लेखिएका प्लेकार्ड सहित प्रभातफेरीको आयोजना गरि कार्यक्रमको शुरुवात गरिएको थियो । 

पछिल्लो समयमा गुल्मीमा १६ जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको भन्दै प्रमुख जिल्ला अधिकारी शर्माले सबैलाई सतर्क र सचेत रहँदै सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्नुभयाे । यस्तै जिल्लामा कोही कसैले पनि मास्क लगाउन अटेरी गरेमा कारबाही गरिने जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ ।

जिल्लामा पछिल्लो तथ्यांक अनुसार महिला ४ र पुरुष १२ गरि १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया