माओवादी केन्द्रकाे प्रस्ताव : ‘काेराेना नियन्त्रणमा काम गर्न सर्वपक्षीय राजनीतिक संयन्त्र बनाऔँ’

माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य

 बैशाख १४, २०७८ मंगलबार १९:३५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – माओवादी केन्द्रले कोरोना महामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । मङ्गलवार (आज) बसेकाे पार्टीको स्थायी कमिटी बैठकले ननकोभिड र कोभिडका बिरामीलाई एउटै अस्पतालमा राख्नु उपयुक्त नहुने भन्दै माओवादी केन्द्रले कोरोना अस्पताल बनाउन सरकारलाई सुझाव दिएको हो ।

अक्सिजन, आईसीयू, भेन्टिलेटर र आइसोलेशन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरूका लागि काम गर्ने उपयुक्त वातावरण बनाउन सरकारलाई आग्रह गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । बैठकले मजदुर, श्रमजीवीहरूलाई राहत प्याकेज ल्याउन पनि माग गरेको छ ।  

बैठकका निर्णयहरू सुनाउँदै स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘विश्व नै कोभिड–१९ को महामारीको अर्को लहरको प्रकोपबाट गाँजिएको छ र नेपालमा पनि दोस्रो लहर तीव्र रूपमा अगाडि बढिरहेको छ । त्यसले नागरिककाे जनजीवन, जीवनको रक्षाको प्रश्न, जनस्वास्थ्यको प्रश्न, राष्ट्रिय अर्थतन्त्रको प्रश्न, सामाजिक अवस्थाको प्रश्न सबैतिर नकारात्मक असर पार्ने खतरा बढ्दै गइरहेको छ । त्यसैले कोभिड–१९ को बहुआयामिक प्रभावलाई पनि सम्बोधन गर्न र मुख्यतः यसको रोकथाम र नियन्त्रणका लागि देशको सरकार, राजनीतिक पार्टी, नागरिक समाज, चिकित्साकर्मी, जनस्वास्थ्यविद् र सामाजिक सङ्घ–सङ्गठन, स्वास्थ्यकर्मी सबै एकताबद्ध भएर हातेमालो गर्दै अघि बढ्न अपिल गरेको छ र साथसाथै यसका निम्ति सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन पनि सरकारसँग माग गरेको छ । 

यस्तै  माओवादी केन्द्रले वडासम्मका सबै कमिटीमा ३५ प्रतिशत महिला सहभागितालाई अनिवार्य गर्ने भएको छ ।

केन्द्रीय कमिटीमा दलित समुदायबाट कम्तीमा १५ प्रतिशत र अरू कमिटीमा त्यहाँ रहेको जनसङ्ख्याको अनुपातमा दुई प्रतिशत थप गरेर सहभागी गराउने निर्णय गरेको हो ।

माओवादी केन्द्रले दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । बैठकले पास गरेको अन्तरिम विधानअनुसार अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको पदाधिकारी टिम बन्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

2 Comments

  • दिलिप जंग थापा

    April 28, 2021, 6:06 a.m.

    यो राजनितिक संयन्त्रले देश लुट्नु लुटी सक्यो अव नवनाउ नेता कार्यकर्ता पाल्ने मात्र काम नसोचौँ जनतालाई कसरि माहामारीवाट वचाउने त्यो सोच राखेर माहामारी विज्ञहरूको संयन्त्र वनाएर सेवामा खाटाउने काम गरौँ वरू राजनैतिक संयन्त्रलाई क्वारेन्टाईनमा राखौँ त्यही वेस हुन्छ

  •  0 Reply
  • Arjun

    April 27, 2021, 10:38 p.m.

    कोरोना नीयन्त्रन गर्न अस्पताल र स्वस्थ्य कर्मी सुलभ हुनू पर्दछ । समीती भनेको जति बेला बनाएर काम चलाउदा नी हुन्छ। हामी भेडा नै त हौ नी।

  •  0 Reply

तपाईको प्रतिक्रिया