अस्पताल बाहेकका ठाउँमा अक्सिजनकाे प्रयोगमा रोक, निषेधाज्ञामा थप कडाइ गर्न सिफारिस

 बैशाख १८, २०७८ शनिबार ७:२१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अस्पतालबाहेक अन्यत्र अक्सिजनको प्रयोगमा रोक लगाउन सिफारिस गरेको छ । 

हिजो साँझ बसेको सीसीएमसीको निर्देशक  समितिको बैठकले कोरोना सङ्क्रमितलाई अक्सिजनको अभाव हुँदै गइरहेको भन्दै उद्योग वा अन्य कुनै पनि क्षेत्रमा अक्सिजनको प्रयोगमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस पठाउने निर्णय गरेको हो ।

बैठकले नागरिकले घरमा राखेका र अस्पतालमा भएका सिलिन्डरलाई पनि तत्कालै रिफिलको लागि उद्योगमा पठाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तथा सीसीएमसी सचिवालयका संयोजक खगराज बरालले जानकारी दिनुभयो । 

सीसीएमसीले पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न पनि अक्सिजन उद्योगलाई आग्रह गरेको छ । यस्तै सीसीएमसीले भारतबाट आउने धेरै व्यक्तिमा सङ्क्रमण देखिएको भन्दै २२ वटा सीमानाका बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । 

बैठकले काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी नाका मात्र सञ्चालन गर्न सिफारिस गरेको हो । खुला हुने नाकाबाट भित्रिनेलाई पनि होल्डिङ सेन्टरमा राखेर मात्रै घर पठाउन सिफारिस गरिएको छ । 

बैठकले कोरोना महामारी नियन्त्रणबाहिर जान सक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गर्न र निषेधाज्ञालाई प्रभावकारी बनाउन पनि सिफारिस गरेको सचिव बरालले जानकारी दिनुभयो । कोरोना महामारी उच्च दरमा फैलिएसँगै सरकारले अहिलेसम्म २३ वटा जिल्लामा निषेधाज्ञा लगाइसकेको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया