जन्मदै चार किलोकी दीपा अहिले पनि उस्तै

 भदौ ७, २०७५ बिहीबार १३:३३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको बिहीबार ४४ औँ जन्म दिन परेको छ ।

विक्रम सम्बत २०३२ साल भदौ ७ गते कोशी अञ्चल अस्पतालमा उनको जन्मभएको हो । दीपाश्री निरौलाको जन्म प्रसंग निकै नै चाख लाग्दो छ । उनी जन्मेपछि उनकी आमालाई कोशी अञ्चल अस्पतालले पुरस्कृत गरेको थियो । किनभने दीपाश्री जन्मदा ४ किलोकी थिइन् ।

स्वस्थ छोरी जन्माएका कारण अस्पतालले दीपाकी आमा गंगालाई पुरस्कृत गरेको थियो । जन्मदै ४ किलोकी दीपा अहिले पनि उस्तै मोटी छिन् । उनी तौल घटाएर स्लिम बन्ने कुरामा ध्यान दिन्नन् । दर्शकले आफूलाई यही रुपमा मन पराएका कारण आफू मोटी नै ठिक भएको उनी बताउँछिन् ।

श्राद्धमा नाच्थिन दीपा

दीपाको बाल्यकाल विराटनगरमै बित्यो । बाल्यकालदेखि नै नृत्यमा सौखिन थिइन् उनी ।

गाउँघरमा हुने प्रत्येक कार्यक्रममा नाच्न पुग्थिन् । विवाह पूजामा त दीपा नाच्थिन् नै कहिले काही त श्राद्धमा पनि उनी नाच्ने गर्थिन । सायद यही लगावको प्रतिफलले आज यो ठाउँमा छिन् दीपा ।

विराटनगरमै हुँदा दीपाले विक्रम सम्बत २०४८ सालमा ‘अग्नीपथ’नामक टेलिफिल्मबाट कलाकारिताको सुरुवात गरेकी हुन् । सानैदेखि कलाकार बन्ने सपना बोकेर अघि बढेकी दीपा हिरोइन् बन्नको लागि काठमाडौं आएकी थिइन् । 

हाँस्य कलाकारको रुपमा स्थापित हुनुभन्दा अगाडि उनले केही सिनेमाहरुमा मुख्य अभिनेत्री भएर पनि काम गरेकी छिन् । तर उनको हिरोइन्को करिअर त्यति अगाडि बढेन । २०४९ सालबाट सिनेमामा प्रवेश गरेकी दीपाले नासो, गाउँले, संगीनी, चाँदनी जस्ता सिनेमामा काम गरेकी छिन् ।

कलाकारितामा संघर्ष गर्दै गर्दा दीपा रेडियो नेपालमा प्रवेश गरिन् । रेडियो नेपालमा केही नाटकहरु गरेपछि उनले दीपक राजगिरीसँग ‘रामविलास र धनिया’ नामक कार्यक्रम चलाउने अवसर पाइन् । दीपा र दीपकको जोडीको सुरुवात पनि यही कार्यक्रमबाट भएको थियो । यो कार्यक्रम त्यसताका सर्वाधिक सफल बनेको थियो ।

रेडियो नेपालबाट सुरु भएको यो जोडी पछि गएर ‘तितो सत्य’मा श्रीमान् श्रीमतीको रुपमा देखा पर्यो । ‘तितो सत्य’मा काम गरिसकेपछि उनीहरु देशदेखि विदेशका स्टेज कार्यक्रमहरुमा पनि एक साथ देखिए । 

टेलिफिल्मसँगै कामको सिलसिलामा वास्तविक जीवनमा पनि धेरैजसो एकसाथ हुने भएका कारण उनीहरुलाई धेरैले वास्तविक जोडी पनि भन्ने गर्छन् । अहिले पनि दीपक र दीपाको प्रेम र मित्रताकसैसँग पनि लुकेको छैन ।

भदौसँग दीपाको नाता

विक्रम सम्वत २०४० सालको भदौ ४ गते दीपाले स्टेजमा पाइला टेकेकी थिइन् । उता पछि उनलाई हाँस्यकलाकारको रुपमा स्थापित गराउने टेलिफिल्म ‘तितो सत्य’को आधिकारिक प्रसारणको सुुरुवात पनि विक्रम सम्बत २०६० सालको भदौ ४ गतेबाटै भएको थियो ।

अनि अर्को कुरा भदौमै जन्मेकी दीपाको पहिलो निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा’ पनि भदौ २४ गते नै प्रदर्शनमा आएको थियो । यो सिनेमा नेपाली सिनेमाको इतिहाँसमा सबैभन्दा धेरै कमाउने सिनेमा बन्यो । यस हिसाबले पनि दीपा आफू जन्मेको महिना भदौ आफ्ना लागि निकै लक्की रहेको बताउँछिन् ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया