अभिमुखीकरण तालिम : रोजगारीमा जाने नेपालीका लागि रक्षा कवच

 बैशाख २१, २०७८ मंगलबार १६:२४:५३ | राजनप्रसाद श्रेष्ठ
unn.prixa.net

विभिन्न कारणले रोजगारीका लागि परदेश पुगेका नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीको ज्यान जान्छ । कमाउने सपना बोकेर परदेश गएका नेपाली श्रमिक मध्ये दैनिक सरदर दुईदेखि तीन जना बाकसमा आउनुपर्ने दुःखद अवस्था छ ।

पछिल्लो समय कोरोना महामारीको कारणले पनि विभिन्न देशमा श्रम स्वीकृति लिएर काम गरिरहेका एक सय ७३ जना नेपालीले ज्यान गुमाउन परेको तथ्याङ्क वैदेशिक रोजगार बोर्डसँग छ । 

कोरोनाका कारण ज्यान गुमाउनेहरू पनि भएकाले विदेशमा ज्यान गुमाउने नेपालीको सङ्ख्या अलिकति बढेको देखिएको छ । तर वार्षिक रूपमा हेर्ने हो भने परदेशमा ज्यान गुमाउने नेपाली श्रमिकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घट्दो अवस्थामा छ । औसतमा दैनिक एकदेखि दुई जनाले ज्यान गुमाइरहेको अवस्था छ । यो नेपाल सरकारका लागि एकदमै दुःखद कुरा हो । 

ज्यान गुमाउने कारण विविध

संसारभरि फैलिएको कोरोना महामारीले परदेशमा पसिना बगाइरहेका नेपालीलाई पनि पिरोलेको छ । कति नेपालीको कोरोनाको कारण ज्यान गएको छ । सामान्य अवस्थामा पनि विभिन्न कारणले नेपालीहरूको विदेश ज्यान जान्थ्यो । बोर्डसँग भएको तथ्याङ्कलाई आधार मान्दा बढी जसो नेचुरल डेथ अर्थात् सुतेको अवस्थामै ज्यान गुमाउने गरेको पाइएको छ ।

दोस्रो नम्बरमा सडक दुर्घटना, तेस्रोमा कार्यस्थल दुर्घटनाका कारण ज्यान गुमाउनेको सङ्ख्या छ । यस्तै चौथोमा आत्महत्याकाे कारण ज्यान गुमाउनेहरुको सङ्ख्या छ । योबाहेक केही झैझगडा कुटपिट हत्याका कारणले ज्यान गुमाउनेको सङ्ख्या देखिएको छ । अहिलेको महामारीपछि कोरोना पनि ज्यान गुमाउनुको एउटा कारणमा थपिएको छ ।

मृत्युदर घटाउने प्रयास

जे सुकै कारणले भए पनि नेपाली नागरिकको परदेशी भूमिमा ज्यान गएको विषयप्रति वैदेशिक रोजगार बोर्ड चिन्तित छ । जुन हिसाबले ज्यान गुमाउनेको सङ्ख्या देखिएको छ यो विषयमा हामी चिन्तित छौँ । हामी विदेशमा ज्यान गुमाउनेहरूको सङ्ख्या कसरी घटाउने भनेर प्रयास गरिरहेका छौँ  । 

अभिमुखीकरणका तालिमहरू दिइरहेका छौँ । पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई सुधार गरेर ल्याएका छौँ । गन्तव्य देशका कानुनहरूलाई केन्द्रित गरेर तालिम परिमार्जन गरेका छौँ । तनाव व्यवस्थापनदेखि लिएर समस्याहरूसँग कसरी जुध्ने भनेर हामी सिकाउँछौँ । त्यसमा विदेश जानेहरूले पनि संवेदनशील भएर लाग्नुपर्छ । सिक्नुपर्छ । व्यक्ति आफैँ जिम्मेवार हुनुपर्छ । परदेश जाने व्यक्ति स्वयं जिम्मेवार हुने हो भने पनि अकालमै ज्यान गुमाउनेको सङ्ख्यामा कमी हुने थियो ।

अहिले हामीले देशगत रूपमा अडियो भिजुअल तरिकाले भाषा तथा अरू कुराहरू सिकाएर पठाउने गरेका छौँ । यसो भयो भने श्रमिकहरूलाई गन्तव्य देशमा घुलमिल हुन सजिलो हुन्छ ।

यस्तै हामीले कलाकारहरूलाई आग्रह गरेर विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरिदिन लगाएका छौँ । पोहोर साल कोरियामा रहेका नेपालीहरूलाई मनोसामाजिक परामर्श मिलोस् भनेर हामीले त्यहाँ जानुभएका नेपाली कलाकारहरूलाई कार्यक्रम गर्न लगाएका थियौँ । ताकी त्यहाँ रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले केही भए पनि आफ्नो मनको बोझ हल्का गर्न पाउन ।

विदेश जानुभन्दा पहिले पनि अभिमुखीकरण तालिम दिने र उता गइसकेपछि पनि मनोसामाजिक परामर्श दिने जस्ता अभियानहरू हामीले चलाइरहेका छौँ ।

यसले श्रमिकहरूमा सकारात्मक प्रभाव पारेका हामीले पाएका छौँ । यस्ता अभिमुखीकरण तालिमले श्रमिकहरूमा परेको एक खालको भ्रमबाट ब्यूँझाउने काम गरेको पाएका छौँ । यो राम्रोसँग सिकेर जाने हो भने श्रमिकहरूको लागि रक्षा कवचकै काम गर्छ । बाटो काट्न नजानेर, कार्यस्थलमा सुरक्षाका उपाय नअपनाएकै कारण ज्यान गुमाउन पर्ने थिएन ।

अहिले हामीले देशगत रूपमा अडियो भिजुअल तरिकाले भाषा तथा अरू कुराहरू सिकाएर पठाउने गरेका छौँ । यसो भयो भने श्रमिकहरूलाई गन्तव्य देशमा घुलमिल हुन सजिलो हुन्छ ।

पछिल्लो समय त झन् कोरोना महामारीका कारण पनि यसमा समस्या थपियो । सङ्क्रमितको शव नेपाल ल्याउन पनि समस्या हुने देखियो । त्यसैले हामीले उहाँहरूको परिवारलाई सम्पर्क गरेर उतै अन्त्येष्टि गर्न परिवारसँग सहमति मागेर उतै अन्त्येष्टि गर्‍यौँ । आफ्नो मानिसको अन्तिम पटक मुख समेत देख्न नपाउनुको पीडा सरकारले बुझ्छ । तर यो अप्ठेरो परिस्थिति कसैको पनि वशमा छैन । त्यसैले उतै अन्त्येष्टिका लागि सहमति दिने परिवारलाई आर्थिक सहायतामा पचास हजार रुपैयाँ थपेर बोर्डले दिएको छ । 

गन्तव्य देशमा रहेका नेपाली श्रमिकहरूको कोरोनाका कारण ज्यान गएको खण्डमा लकडाउनको समयमा वा अन्तर्राष्ट्रिय उडानहरू बन्द भयो भने त्यो सङ्ख्या थपिँदै जान्छ । यस्तो अवस्थामा हामीसँग दुइटा विकल्प हुन्छ ।

बोर्डले प्रदान गर्ने सेवाका बारेमा थप बुझ्न हाम्रो कल सेन्टरमा ११४१ नम्बरमा बुझ्न सक्नुहुन्छ । कुनै सहयोग वा गुनासो समस्या राख्न चाहनुहुन्छ भने पनि कल सेन्टरमार्फत राख्न म अनुरोध गर्छु ।

एक त परिवारसँग सहमति मागेर उतै अन्त्येष्टि गर्ने अर्को हाम्रो राष्ट्रिय ध्वजावाहकलाई हामीले अनुरोध गर्ने । यसको लागि पनि परराष्ट्र मन्त्रालय, गन्तव्य देशमा रहेको नेपाली दूतावास, वैदेशिक रोजगार बोर्ड, कन्सुलर, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयबीच समन्वय गर्नुपर्छ ।

कहिलेकाहीँ यी निकायबीच समन्वय हुन नसक्दा शव ल्याउन समस्या पर्छ । विगतमा यस्तो समन्वयको अभावले शव व्यवस्थापनमा समस्या भएको थियो । अहिले सबै निकायसँगको समन्वय राम्रो छ ।

त्यसैले अहिलेलाई शव नेपाल झिकाउने विषयमा खासै समस्या भएको छैन । हामीले सरल र सहज रूपमै शव झिकाएर विमानस्थलदेखि निःशुल्क ढुवानी गरेर सम्बन्धित परिवारलाई शव बुझाउँदै आएका छौँ । साउदी लगायत केही देशबाट शव झिकाउन अलिकति समस्या छ नत्र अरू देशबाट खासै समस्या छैन । हाम्रो कारणलेभन्दा पनि यी देशका कानुनले नै कहिलेकाहीँ समस्या पारिरहेको हुन्छ । 

यो अप्ठेरो परिस्थितिमा बोर्ड श्रमिक र परिवारको साथमा छ । बोर्डले प्रदान गर्ने सेवाका बारेमा थप बुझ्न हाम्रो कल सेन्टरमा ११४१ नम्बरमा बुझ्न सक्नुहुन्छ । कुनै सहयोग वा गुनासो समस्या राख्न चाहनुहुन्छ भने पनि कल सेन्टरमार्फत राख्न म अनुरोध गर्छु ।


(बोर्डका कार्यकारी निर्देशक श्रेष्ठसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: बैशाख ३, २०८१

राजनप्रसाद श्रेष्ठ

श्रेष्ठ वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया