एमालेका लुम्बिनी प्रदेश सभा सदस्य डाँगीद्वारा राजीनामा

 बैशाख २२, २०७८ बुधबार १६:१२:२७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – लुम्बिनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनुभएको छ । नेकपा एमालेका तर्फबाट दाङकाे क्षेत्र नम्बर २ ( ख ) बाट निर्वाचित डाँगीले प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएको प्रदेश सभा सचिवालयले बताएको छ । बिरामी भएको र राजनीतिक खिचातानीबाट मुक्त भइ आराम गर्नु उपयुक्त हुने कारण देखाएर डाँगीले राजीनामा दिएको बताइएको छ ।

डाँगीले प्रदेश सभा सदस्यबाट राजीनामा दिएको पत्र आएको र सभामुखको निर्देशनअनुसार प्रक्रिया अघि बढेको प्रदेश सभा का सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शङ्कर पोखरेलको गृह जिल्लाका डाँगी पोखरेललाई छाडेर माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनमा सामेल भएको सार्वजनिक भएको थियो । डाँगी घोराही उपमहानगरपालिकाका पूर्वमेयर समेत हुनुहुन्छ । यसअघि दाङबाटै निर्वाचित नेकपाकी प्रदेश सभा सदस्य विमला वली माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।

मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका सांसदलाई मन्त्री बनाइरहँदा आफ्नै पार्टीका सांसदले भने छाड्दै जान थालेका छन् । मुख्यमन्त्री पोखरेलले १० सदस्यीय मन्त्रिमण्डल बनाइसक्नु भएको छ । अल्पमतमा रहनुभएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै विपक्षी दलहरूले बहिष्कार गर्ने घोषणा गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया