ढुक्क कोरोना, थुक्क हाम्रो भाग्य !

 बैशाख २५, २०७८ शनिबार १०:१९:५३ | मिलन तिमिल्सिना
unn.prixa.net

नेपालको सरकार, राजनीतिक दल र नागरिकको चालामाला बुझ्न नसकेर हैरान भएको कोरोना भाइरस निषेधाज्ञाको हालचाल बुझ्न सडकमा निस्कियो । भन्नलाई चाहिँ निषेधाज्ञा, तर न कोरोनालाई निषेध छ, न मान्छेलाई ! निषेधको आज्ञा मान्नुपर्ने पनि सडकमा डुलेकै छन्, आज्ञा लगाउनेहरु पनि बेला न कुबेला कुदेकै छन् । पोहोर लकडाउनमा त दिउँसो एकछिन भने पनि सडक चकमन्न हुन्थ्यो । यसपालि निषेधाज्ञामा त जुनबेला जता हेर्यो उतै उस्तै चहलपहल। 

कुरो बुझ्न नसकेर हैरान भएको कोरोना रन्थनिँदै एउटा चोकमा पुग्यो । चोकमा प्रहरीले बाटो हिँड्ने, गाडीमा चढ्ने र पसल खोल्ने मान्छेलाई केरकार गर्दै थिए ।

निषेधाज्ञामा लखरलखर हिँडिरहेका मान्छेलाई प्रहरीले सोधे : निषेधाज्ञामा किन सडकमा आएको ? 

लखरलखरवालाले टाउको कन्याउँदै जवाफ दिए : घर बस्दाबस्दा वाक्क भइयो, एकछिन फ्रेस हुन भनेर बाहिर निस्केको । कोरोनाले नदेख्ने गरी हिँडेको छु, केही हुन्न ।

त्यहीबेला प्लाष्टिकको थैलोमा चार कोसा केरा झुन्ड्याउँदै हिँडेका मान्छे आइपुगे । प्रहरीलाई देख्नेबित्तिकै हत्तपत्त उनले बनावटी बेलिबिस्तार लगाए : म त केरा किनेर आएको हजुर, हिजोदेखि केरा खान नपाएर झण्डै मरेको !

बिहान पनि त्यसैगरी केरा झुन्ड्याएर हिँडेको मान्छे अझै उसैगरी डुलिरहेको देखेपछि प्रहरीले बुझिहाले : यी मान्छे केराको सहारमा सडक डुल्ने धोको मेट्दैछन्, काम न काजसँग यसरी हिँड्दा कोरोनाले छुन्छ भन्ने चाहिँ पत्तो छैन।

प्रहरीले दुवैलाई होल्डिङ सेन्टरमा राखे । एक घण्टा घाममा उभिएपछि लखरलखरवाला र केरावाला दुवैले मुक्ति पाए । सडक छेउमा एकछिन भए पनि उभिन पाउँदा उनीहरुले मजा नै माने ।

औषधिको पोको र अस्पतालको कागज बोकेर अर्का मान्छे मलिन अनुहार बनाएर सडकमा देखा परे । उनलाई पनि प्रहरीले रोके । ती मान्छेले आफू बिरामी भएकाले जाँच गर्न अस्पताल जान लागेको बताए । अस्पतालमा ठाउँ छैन, घरमै गएर उपचार गर्नु भनेर प्रहरीले फर्काइदिए ।

एकछिनमा चामल, दाल, पानी, ग्यास बोकेका गाडी आइपुगे । ती गाडीलाई रोकेर जाँच गर्दागर्दै सडकको अर्कोतिरबाट प्रधानमन्त्री, मन्त्री र नेताहरु चढेको गाडीको ताँती लाग्यो । प्रहरीले खानेकुरा, पानी र ग्यास बोकेका गाडीलाई रोकेर ठूलाबडाको गाडीलाई सलाम ठोक्दै बाटो छोडिदियो ।

‘बिरामीले अस्पतालमा बेड, अक्सिजन र औषधि पाएनन् रे भन्दैथिए । त्यही खोज्न र पुर्याउन जान लागेका होलान्’ खाद्यान्नको गाडी चलाउने एकजना ड्राइभरले भने ।

ती ड्राइभरको कुरा सुनेर कोरोना झस्कियो । ‘हैन प्रधानमन्त्री, मन्त्री र नेताहरुको मति फेरिएछ कि क्या हो ? यिनीहरु सत्ताको खिचातानी छोडेर कोरोना नियन्त्रण र रोकथाममा त जुट्न लागेनन् ?’

कोरोनाको मुटुमा ढ्याङ्ग्राे ठोक्नै लाग्दा प्रहरीले ती ड्राइभरलाई जवाफ दिए : ‘के को बेड, अक्सिजन र औषधि खोज्न हुनु ? उनीहरु सबै विश्वास र अविश्वास खोज्न दौडिएका । नेताको कुर्सी पक्का भयो भने पो अस्पतालमा बिरामीले बेड र अक्सिजन पाउँछन् ।’

प्रहरीको कुरा सुनेर कोरोनाले लामो सास तान्यो । 

सडकमा एकछिन उभिँदा कोरोनाले अरु पनि धेरै कुराको पत्तो पायो । पहिले औषधि र उपकरण किनेर ल्याउँदा भ्रष्टाचार र अनियमितता भएको थियो । अहिले खोप किन्दा पनि उसैगरी बिचौलियाले चलखेल गरेछन् । भ्रष्टाचारी र बिचौलियाको अघिल्तिर सरकारले घुँडा टेकेको रैछ । एकातिर खोप, अक्सिजन, औषधि र अस्पतालमा बेडको अभाव । अर्कोतिर जो पायो त्यही बिरामीले उपचार नै गर्न नसक्ने गरी निजी अस्पतालको चर्को शुल्क । 

कोरोना गद्‌गद् हुँदै सडकबाट भित्र गल्लीतिर छिर्यो । भित्री गल्लीतिर झन् बढी भीड । आफू र आफ्ना मान्छेलाई कोरोनाले नछुँदासम्म कसैलाई कोरोनासँग डर नै रहेनछ । कतिलाई लाग्दोरहेछ–परिवारका सदस्य,चिनेजानेका मान्छे र साथीभाइबाट कोरोना सर्दैन । उनीहरुसँग बस्दा मास्क पनि लगाउनु पर्दैन, भौतिक दूरीको पनि ख्याल गर्नु पर्दैन । साबुनपानी र स्यानिटाइजर त परको कुरा । गल्लीतिर त प्रहरीले पनि देख्दैन । निषेधाज्ञा मान्ने त प्रहरीको लागि हो, प्रहरीले नदेखेसम्म बाल !

निषेधाज्ञाको कारण गरीब, मजदुरलाई गाह्रो भए पनि धेरैलाई त फाइदा नै फाइदा । पढ्न नपर्दा विद्यार्थीलाई फाइदा । पढाउन नपर्दा शिक्षकलाई फाइदा । एक दुई ठाउँमा दुई, चारजनाले अनलाइन कक्षा भनेर कनिकुथी जुम चलाउन जानिहाले । पढाइको औपचारिकता भइहाल्यो ।

काम गर्न नपर्दा जागिरेलाई झन् फाइदा । घरमै बसेर काम गर्नु, अनलाइन पढ्नु भने पनि बेलाबेला बिजुली र नेट गइरहन्छ । नगए पनि गयो बत्ति गयो, नेट छैन भन्न पाइएको छ । 

मनपरि भाउ बढाउन पाइने भएकाले व्यापारीलाई फाइदा । भनसुन र सोसफोर्समा सवारी पास लिएर उसैगरी निर्धक्क घुम्न पाइने भएकाले ठूलाबडा, नेता र भुँडीवाल व्यापारीलाई फाइदा । 

पहिले पहिले एक दिन बन्द हुँदा ओहो खत्तम भयो जस्तो लाग्थ्यो, अहिले त महिनौँ बन्द हुँदा पनि केही भएझैँ लाग्दैन । गाडी नगुडे पनि भएकै छ । कार्यालय नखुले पनि चलेकै छ । बजार पसल बन्द भए पनि पुगेकै छ । कोरोनाको डरभन्दा हाइसञ्चाे मान्ने धेरै । कोरोना केही होइन भनेर खेलाँची गर्ने उस्तै । कोरोनाको जगजगीको बेलामा पनि सत्ताको दाउपेच, कुर्सीको तानातान । न बिरामीको बिजोगले कसैलाई छोएको छ, न त निषेधाज्ञाको निषेधले नै । नेपालका सरकार, राजनीतिज्ञ, प्रशासक, व्यापारी र कतिपय नागरिककै कारण आफू नेपालमा सुरक्षित छु भन्नेमा कोरोना ढुक्क छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया