बाटो खुलेसँगै आधार शिविरबाट उकालो लाग्न थाले सगरमाथा आरोही

 बैशाख २६, २०७८ आइतबार ९:३८:३५ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

तस्बिर स्राेत : इम्याजिन नेपाल

सगरमाथाको शिखरसम्म बाटो खुलेसँगै आरोहीहरु शिखरतर्फ जान थालेका छन् । शनिवार बिहानै २० जना विदेशीसहित झण्डै ६० जना आरोहणका लागि आधार शिविरबाट शिखरतर्फ हिँडिसकेका आधार शिविरमै रहनुभएकी पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

उनीहरु आउँदो बुधबार बिहान शिखर चुम्ने लक्ष्यमा छन् । यसअघि शुक्रवार बेलुकी १२ जना नेपाली शेर्पाहरुको टोली सगरमाथाको शिखरमा पुगेको थियो । उनीहरु आरोहीहरुका लागि बाटो बनाउँदै शिखरमा पुगेका हुन् । सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटरबाट बढेर आठ हजार आठ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि पहिलोपटक १२ जना नेपाली सगरमाथाको शिखरमा पुगेका छन् । 

मे १२ पछि मौसम अनुकूल हुने सम्भावना

सगरमाथाको शिखरसम्म बाटो खुलिसकेपछि उपयुक्त मौसममा सगरमाथा आरोहणका लागि आरोहीहरु आधार शिविरबाट शिखरतर्फ जान्छन् । यसपटक मे १२ अर्थात बुधबारदेखि एक हप्ताका लागि सगरमाथामा आरोहणयोग्य मौसम हुने अनुमान रहेको आधार शिविरबाट पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

नेपाल तथा अमेरिका लगायत विभिन्न देशले गरेको मौसम पूर्वानूमानका आधारमा सगरमाथामा उपयुक्त मौसमको आँकलन गरिन्छ । आरोहणको भाषामा मौसममा 'विन्डो ओपन' भएका बेला आरोहीहरु शिखरतर्फ जान्छन् । त्यही अनुसार यस वर्ष आउँदो बुधबारदेखि एक हप्ता उपयुक्त मौसम भएको ठहर गरिएको र त्यसपछि मौसमको अवस्था हेरेर पूर्वानुमान हुने आचार्यले बताउनुभयो । प्रायः मे महिनाको अन्तिमसम्म मौसम अनुकूल हुन्छ ।  

शिखर चुम्ने अन्तिम तयारीमा आरोहीहरु

​सगरमाथा आरोहणका लागि आरोहीहरु एक महिनाभन्दा बढी समयदेखि आधारशिविरमा रहेका छन् । शरीरलाई उचाइमा रहेको मौसमसँग अनुकूल बनाउनका लागि आरोहीहरु आधार शिविरमा लामो समय बिताउने गर्छन् । अनुभवी आरोहीहरु केही कम समय बस्छन् भने नयाँ आरोहीहरु एक महिनाभन्दा पनि लामो समय आधार शिविरमा बस्छन् । आधार शिविरमा रहँदा उनीहरु आधार शिविर भन्दा माथिल्लो शिविरमा जाने र आधार शिविर भन्दा तल पनि झर्ने गर्छन् । यसरी तलमाथि गर्दा मानिसको शरीर उचाइसँग अनुकूल भएर लेक लाग्ने, अक्सिजन अभाव हुने जस्ता समस्या कम हुने आरोहीहरु बताउँछन् । 

यसरी लामो समयदेखि आधार शिविरलाई केन्द्र बनाएर तलमाथि गरिरहेका आरोहीहरु शिखरसम्मको बाटो खुलेसँगै आरोहणको अन्तिम तयारीमा जुटेका आधार शिविरबाट आरोही मिङ्मार डेभिड शेर्पाले जानकारी दिनुभयो । 

आफूहरुसँग रहेका आरोहीको लागि आबश्यक पर्ने अक्सिजन, पाल, खानेकुरा लगायतका सबै सामाग्री आधारशिविरभन्दा माथि रहेका चारवटै शिविरमा पुर्याइसकिएको र अनुकूल मौसम र पर्यटन विभागले तोकेको पालो अनुसार आधार शिविरबाट उकालो लाग्ने शेर्पाले बताउनुभयो । मे १८ तारिखमा शिखरमा पुग्ने लक्ष्य लिएको उहाँको समूह त्यही अनुसार आधार शिविरबाट उकालो लाग्ने तयारीमा छ । यसैगरी सबै आरोही समूहहरु शिखरमा जानको लागि अन्तिम तयारीमा जुटेका छन् । शिखरको लक्ष्य लिएर आधार शिविर पुगेका आरोहीहरु अबको १५ दिन चुनौतीपूर्ण मान्छन् । यो समयमा उनीहरुले लक्ष्य पूरा गर्न सक्नुपर्छ । मौसम तथा अरु प्राविधिक कारणले थोरै समस्या आउँदा ज्यानै जान सक्ने भएकाले हिमालमा निकै सतर्कताका साथ उकालो लाग्न सीपदेखी आत्मविश्वास समेत बढाएर आरोहीहरु शिखरतर्फ जान्छन् । 

बाटोको अवस्था सामान्य

गएको वर्ष कोरोना महामारीले आरोहण स्थगित भयो । त्यसैले सगरमाथामा बाटो बनाइएन । हिउँ पग्लिने, हिउँपहिरो लगायतका कारणले हिमालमा बर्सेनि बाटो बिग्रन्छ । एक वर्ष बाटो बनाएको ठाउँमा अर्को वर्ष बाटो बनाउन सक्ने अवस्था नहुन पनि सक्ने भएकोले हिउँमा बाटो बनाउने कामदार अर्थात आइसफल डाक्टरहरुले उपयुक्त ठाउँ खोज्दै बाटो बनाउँछन् ।

अघिल्लो वर्ष पनि बाटो नखोजिएकोले यस वर्ष बाटोको अवस्था के होला भन्ने धेरै आरोहीमा खुल्दुली थियो । तर बाटोको अबस्था सामान्य रहेको यस वर्ष बाटो खुलाउने समूहमा रहेका दावा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो ‘सामान्य भनेको सजिलो हैन । हिमालमा बाटो कठिनपूर्ण नै हुन्छ तर अघिल्ला वर्षहरुमा सगरमाथामा जुन प्रकारको बाटो हुन्थ्यो उस्तै छ, धेरै बदलिएको छैन ।’

आधार शिविरमा कोरोना : चर्चा बढी जोखिम कम

केही दिनदेखि सगरमाथामा कोरोना सङ्क्रमण फैलिएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्ययममा चर्चाको विषय बनेको छ । बीबीसी, सीएनएन जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि सगरमाथामा कोरोना फैलने जोखिम रहेको भन्दै प्राथमिकताकासाथ खबर प्रकाशन गरेका छन् । तर चर्चामा आएको जति जोखिम सगरमाथामा नरहेको सरकारी अधिकारीहरु बताउँछन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले विज्ञप्ती नै निकालेर सगरमाथामा जोखिम नरहेको बताएको छ । 

सगरमाथा आधार शिविरमै रहनुभएकी पर्यटन विभागकी निर्देशक मीरा आचार्य पनि आधार शिविरमा चर्चामा आएको जस्तो जोखिम नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘म सबैजसो टेन्टमा पुगेर आरोहीको स्वास्थ्य अवस्था बारेमा जानकारी लिएको छु, अवस्था जटिल भएको अहिलेसम्म कसैले भनेका छैनन् । हिमाल छेउमा भएकोले चिसोका कारण घाँटी दुख्ने, खोकी लाग्ने जस्ता लक्षणहरु हिमालमा सधैं देखिन्छन् । अघिल्ला वर्षहरुको तुलनामा यसपालि स्वास्थ्य अवस्था अझ राम्रो देखिएको छ । हामी निकै संवेदनशील भएर अवस्थाको आँकलन गरिरहेका छौं, डाक्टरहरु पनि हुनुुहुन्छ, कोरोना सङ्क्रमणबाट जोगिने स्वास्थ्यका मापदण्डहरु पालना भएका छन् । त्यसैले कोरोना सङ्क्रमण फैलने जोखिम यस बेलासम्म देखिएको छैन ।’

‘निषेधाज्ञाले उद्धारमा समस्या हुन्न’

कोरोना महामारीले काठमाण्डौ उपत्यका सहित विभिन्न जिल्लामा निषेधाज्ञा छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द छन् । यस्तो बेलामा सगरमाथा आधार शिविरमा पुगेका आरोही सहित झण्डै १५ सय मानिस फर्कन र आपतकालिन अवस्थामा उद्धार गर्न समस्या हुने हो कि भन्ने व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । तर सरकारले नै लुक्ला, काठमाण्डौ सहित विभिन्न विमान्स्थलमा उद्धार उडानको अनुमति दिएको र पर्यटकको उद्धारका लागि हेलिकप्टरहरु पर्याप्त मात्रामा रहेकोले कुनै कठिनाइ नहुने पर्यटन विभागकी निर्देशक आचार्यले बताउनुभयो ।

यदि कसैलाई उद्धारको प्रक्रियामा समस्या भएमा समन्वय गर्न आफूहरु सगरमाथा आधार शिविर र काठमाण्डौमा पनि तयारी अवस्थामा रहेकोले उद्धारमा समस्या आउन नदिने उहाँले बताउनुभयो । यस्तै आरोहण सकेर फर्किने आरोहीहरुलाई आफ्नो देशमा सहज रुपमा फर्कन पनि समन्वय गरिने उहाँले बताउनुभयो ।

महामारीकै बीच पनि यस वर्ष सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै चार सय आठ जनाले अनुमति लिएका छन् । पर्यटनका सबैजसो क्षेत्र ठप्प जस्तै रहेका बेला पर्वतारोहणले केही भरथेग गरेको छ । मे महिनाको अन्त्यसम्म हुने यस पटकको आरोहणका लागि अहिले आरोही तथा आरोहण सहयोगीहरु प्रयास गरिरहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया