लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

 बैशाख २६, २०७८ आइतबार १२:७:५२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध फेरि अविश्वासकाे प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, कांग्रेसलगायत दलका ४० सांसदको हस्ताक्षरसहित प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । 

८७ सदस्यीय प्रदेश सभामा अहिले जना मात्रै सदस्य रहेका छन् । मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गर्दै पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक फकरुद्दिन खानले जानकारी दिनुभयो । अविश्वासको प्रस्ताव दर्ता गर्न माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी, नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दित खान, जसपाका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाका नेता तारा जिसी प्रदेश सभा सचिवालय पुग्नुभएको थियो ।

यसअघि वैशाख ६ गते पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको थियो । तर वैशाख १९ गते विशेष अधिवेशन डाकिएको दिन बिहान मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको थियो । मुख्यमन्त्रीले राजीनामा दिएको भन्दै त्यही दिन सरकारले अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशनको सान्दर्भिकता सकिएको भन्दै अन्त्य गरेको थियो ।

राजीनामा गरेकै दिन प्रदेश प्रमुख धर्मनाथ यादवले पाेखरेललाई संविधानको धारा १६८ को १ बमोजिम मुख्यमन्त्रीमा पुनः नियुक्ति गर्नुभएको थियो । तर विपक्षी दलहरूले भने अल्पमतमा रहेका पोखरेललाई संविधानको बर्खिलाप मुख्यमन्त्री नियुक्त गरेको भन्दै विरोध गर्दै आएका थिए । 

एमाले संसदीय दलको नेताका रूपमा पोखरेलले ४१ जनाको हस्ताक्षर पेस गरेको बताइएकामध्ये विमला ओली, दीर्घनारायण पाण्डे र अमर डाँगीले पोखरेलको साथ छोडिसक्नुभएको छ । पाण्डेले प्रदेश सभाबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरिसक्नुभएको छ । डाँगीले पनि प्रदेश सभाबाट राजीनामा दिनुभएको छ । नेकपाबाट उपचुनावमा विजयी ओली माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।  

अविश्वास प्रस्ताव र ४० सांसदकाे हस्ताक्षरित पत्र–

अन्तिम अपडेट: बैशाख ५, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया