विश्वासको मत दिनुस्, संसद् विघटन हुँदैन : प्रधानमन्त्री ओली

 बैशाख २७, २०७८ सोमबार १६:४४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिएमा प्रतिनिधि सभा फेरि विघटन नहुने बताउनुभएको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रतिपक्षी दलका नेताहरूलाई जवाफ दिँदै उहाँले आफूलाई विश्वासको मत दिएमा प्रतिनिधि सभा फेरि विघटन नहुने बताउनुभएको हो । 

उहाँले संसद्को स्थायित्वका लागि आफूलाई मतदान गरी संसदलाई बचाउन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘संसद् विघटन होला कि भन्ने चिन्ता छ । मत दिनुहोस् न कसरी विघटन हुन्छ ?’ 

ओलीले आफू सबैभन्दा ठूलो, धेरै जनमत र सिट भएको पार्टीको हैसियतले आफूले सरकारको नेतृत्व गर्ने हक राख्ने बताउनुभयो । उहाँले नेपाल–खनाल पक्षका सांसदहरू सदनमा उपस्थिति नभएको कुरा पनि आफूले बुझेको बताउनुभयो ।

नागरिकमा भ्रम फैलाउने काम भएको भन्दै उहाँले खोप आयातमा अर्थहिन प्रश्न उठाएको आरोप लगाउनुभयो । खोप आयात र स्वास्थ्य सामग्री खरिदका क्रममा भ्रष्टाचार भएकोबारे जवाफ दिँदै उहाँले प्रमाणसहित आफूलाई जानकारी गराए कारबाही गर्ने बताउनुभयो । 

उहाँले आवेश, उत्तेजना र झुट जालझेलको राजनीति नगर्न सचेत गराउनुभएको हो । कोभिड–१९ सङ्क्रमणको जोखिममा देश परिरहेका बेला मिलेर अघि बढ्नुपर्ने बेलामा तनाव बढाउने, अनेकतातर्फ देशलाई लैजाने परिस्थिति नभएकाे उहाँले बताउनुभयाे । उहाँले नेपालको राजनीति माखे साङ्लो जस्तो भएको भन्दै देशलाई बनाउने किसिमको राजनीति गर्न सबैलाई सुझाव दिनुभयो ।  

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया