यसरी 'फेल' भयाे नयाँ सरकार गठनकाे कसरत

 वैशाख ३०, २०७८ बिहीबार १९:४१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नयाँ सरकार गठनका लागि बहुमत जुटाउन असफल भएका छन् । आज दिनभर दौडधुप गरे पनि कांग्रेस र माओवादीले नयाँ सरकारको चाहिने एक सय ३६ जना सांसदको बहुमत जुटाउन असफल बनेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आज राति नौ बजेसम्मको समय दिनुभएको थियो । तर कांग्रेस र माओवादीले बहुमत जुटाउन नसकेपछि अब कम्तीमा एक महिनाका लागि केपी शर्मा ओली नेतृत्वकै सरकार रहने भएको छ ।

गएको सोमवार संसदबाट विश्वासको मत पाउन नसकेपछि ओली सरकार अल्पमतमा परेको छ । कुनै पनि दलले बहुमत जुटाउन नसकेपछि ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले फेरि शपथ लिनुहुनेछ । कांग्रेस र माओवादीले अब एक महिनासम्म ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पाउने छैनन् ।

नयाँ सरकार गठनका लागि कांग्रेस र माओवादीले २७ गतेदेखि लगातार प्रयास गरिरहेका थिए । जसपाभित्रको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले साथ दिने र एमालेको पनि माधव नेपाल पक्षका सांसदको राजीनामा आउने आसमा कांग्रेस र माओवादी भर परेका थिए । तर जसपा कुनै पनि हालतमा सरकार निर्माणमा सहभागी नहुने भन्दै अध्यक्ष महन्थ महन्थ ठाकुरले बिहानै १६ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राख्नुभएको थियो ।

सांसद अपहरणको झल्को आएको भन्दै कतिपयले ठाकुरको यो कामको आलोचना पनि गरेका छन् । ठाकुरको अडान र गतिविधिका कारण नयाँ सरकार गठनमा साथ दिने उपेन्द्र यादव र बाबुराम भट्टराईको धोको अधुरै रह्यो । यस्तै ओलीसँग वारपारको अवस्थामा रहेको एमालेकै माधव नेपाल पक्षका सांसदको राजीनामा आउने आशा पनि दिउँसो ओली र नेपालबीचको भेटका कारण टुट्यो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच बूढानीलकण्ठको एक व्यवसायीकाे घरमा झण्डै साढे तीन घण्टा भएको भेटवार्तामा नेपाल पक्षका सांसदले तत्कालै राजीनामा नदिने सहमति भएको हो । भेटवार्तापछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपालले कुराकानी सकारात्मक भएको र आफू पक्षका सांसदको राजीनामा टरेको जानकारी दिनुभयो । 

छलफलमा पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउन प्रधानमन्त्री ओली सकारात्मक रहेको नेता नेपालको भनाइ छ । यस्तै ओलीले गएको फागुन २८ गते नवौँ महाधिवेशनबाट आएको केन्द्रीय कमिटी र स्थायी कमिटी विघटनको निर्णय फिर्ता र नेताहरूको जिम्मेवारी हेरफेर गरेको विषयमा पनि छलफल गर्न ओली तयार भएको नेता नेपालको भनाइ छ । पार्टीका समस्या समाधानका लागि एक कार्यदल बनाउन पनि सहमति भएको नेपाल नेपालले जानकारी दिनुभयो ।

बिहान बसेको स्थायी कमिटीको बैठकले माधव नेपालसहित चार जना नेताको कारबाही फुकुवा गरे पनि नेपाल पक्षले भने थप माग पूरा नहुञ्जेल साथ नदिन नसकिने बताइरहेको थियो । नेपाल पक्षको राजीनामा नआउने पक्का भएसँगै नेपाली कांग्रेसले नयाँ सरकारमा दाबी नगर्ने निर्णय गर्‍याे । 

आज बसेको पदाधिकारी बैठकले आफ्नो पक्षमा बहुमत नजुट्ने भएपछि बहुमतको सरकारमा दाबी नगर्ने निर्णय गरेको नेता प्रकाशशरण महतले उज्यालोलाई जानकारी दिनुभयो । अब एक महिनाका लागि ओली नै प्रधानमन्त्री रहिरहने र त्यसपछि के गर्ने भन्ने कुरा पछि निर्णय हुने महतको भनाइ छ ।

यस्तै माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले पनि बहुमत नपुग्ने भएकाले नयाँ सरकारमा दाबी नगर्ने र ओलीलाई प्रधानमन्त्री स्वीकार्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।  

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया