सुदूरपश्चिममा भयावह बन्दै कोरोना, अस्तव्यस्त र भद्रगोल तयारी

 बैशाख ३१, २०७८ शुक्रबार ८:११:२ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिममा कोरोना भाइरसको महामारी भयावह अवस्थामा पुगेको छ । प्रदेशका अस्पतालहरुमा अक्सिजनको हाहाकार भएपछि अस्पतालहरुले बिरामी भर्ना लिन समेत आनाकानी गर्न थालेका छन् ।

प्रदेश सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि गतिलो तयारी नभएकाले यो अवस्था आएको छ । संघीय सरकार, प्रदेश सरकार र पालिकाहरुले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि संयुक्त प्रभावकारी काम गर्नतिर ध्यान नदिँदा अवस्था भयावह बन्दैछ ।

२७० जनाले ज्यान गुमाए

सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई सय ७० पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार हालसम्म दुई सय ७० जनाको कोरोनाका कारण ज्यान गएको छ । पछिल्लो बैशाख महिनामा मात्रै दुई सय १२ जनाको ज्यान गएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले दैनिक रुपमा जारी गर्दै आएको तथ्यांकमा बैशाख १ गतेभन्दा अघि कोरोनाबाट प्रदेशमा ५८ जनाको ज्यान गएको थियो । बुधबार साँझ जारी तथ्यांकमा १४ जनाको ज्यान गएको उल्लेख गरिएको छ । मंगलबार साँझको तथ्यांकमा अहिलेसम्म दुई सय ५६ जनाको ज्यान गएको विवरण राखिएको थियो ।

बैशाखको अन्तिम हप्ता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन् । पछिल्लो तीन दिनमा मात्रै कोरोनाबाट ६२ जनाको ज्यान गएको छ । पछिल्लो १२ दिनमा कोरोनाबाट एक सय ८० जनाको ज्यान गएको छ । बैशाख १८ गतेदेखि बैशाख २९ गतेसम्मको अवधिमा कोरोनाबाट प्रदेशमा एक सय ८० जनाको ज्यान गएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको तथ्यांक अनुसार पछिल्लो तीन दिनमा सबैभन्दा बढी ६२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । बैशाख १८ गते १० जना, १९ गते १२, २० गते १४, २१ गते ८ जना २२ गते ९ जना २३ गते १७ जना २४ गते १३ जना, २५ गते १५ जना २६ गते १८ जना, २७ गते १७ जना, २८ गते ३१ जना र २९ गते १४ जना संक्रमितको ज्यान गएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । बैशाख २७, २८ र २९ गते मात्रै गरेर ६२ जनाको ज्यान गएको छ । 

सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको डाक्टरहरुको भनाइ छ । 

स्थिति नियन्त्रण बाहिर 

प्रदेशमा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रभावकारी काम नभएकाले अवस्था अझै भयावह हुने अनुमान गरिएको छ । सरकारले अक्सिजन, संक्रमितलाई उपचार गर्न शय्या, भेन्टिलेटर र आईसीयूको संख्या नबढाए मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

संघीय र प्रदेश सरकार तथा स्थानीय पालिकाहरुले गम्भीर रुपमा नलिए ज्यान गुमाउनेको संख्या अझै बढ्ने बताउँदै स्वास्थ्य विभागका पूर्व महानिर्देशक डाक्टर लक्ष्मीराज पाठकले भन्नुभयो, “सीमा क्षेत्रमा होल्डिङ सेन्टर जाँचमा लापरवाही गरिँदा यस्तो अवस्थाको सामना गर्नु परिरहेको छ ।” कोरोना महामारीमा अझै भयावह अवस्था आउन सक्ने जनस्वास्थ्यविद्हरुले अनुमान गरेका हुन् । 

अस्पतालमा ठाउँ छैन्, सरकारको तयारी छैन

प्रदेशमा कोरोना संक्रमितको संख्या वृद्धि भएपछि शय्याको अभाव छ । प्रदेशका निजी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गर्न नसकिने बताएका बेला प्रदेश सरकारको तयारी समेत फितलो देखिएको हो । कोरोना संक्रमितका लागि आवश्यक शय्या विस्तार, अक्सिजन सिलिण्डर खरिद, आईसीयू र भेन्टिलेटर जडान लगाएका काममा प्रदेश सरकारले बेवास्ता गरेको हो ।

प्रदेशमा कोरोना नियन्त्रणका लागि प्रभावकारी काम नभएकाले गाउँगाउँमा संक्रमितको त्रास फैलिएको पूर्व महानिर्देशक पाठकले बताउनुभयो ।  कतिपय संक्रमितले रोग पहिचान गर्न नसक्दा अस्पताल नजाँदै ज्यान गुमाउँदैछन । अधिकांश फोक्सोमा जटिल समस्या देखिएपछि मात्र अस्पताल जाने गरेका छन् । फोक्सोमा जटिल समस्या देखिएका संक्रमितका लागि अक्सिजन अनिवार्य हुने र प्रदेशमा अक्सिजनको अभावका कारण मृत्युवरण गर्नुपर्ने बाध्यता आएको अधिकारीहरुको गुनासो छ ।

सेती प्रादेशिक अस्पतालमा समेत आईसीयूको क्षमता समेत प्रर्याप्त नभएकाले समस्या भइरहेको सेती प्रादेशिक अस्पतालका आईसीयू इञ्चार्ज डाक्टर कपिल गौतमले बताउनुभयो । सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, टिकापुर अस्पताल, डडेल्धुरा अस्पताल कोरोना संक्रमितले भरिएका छन् । संक्रमितले अस्पताल भरिएकाले नयाँ संक्रमितले पालो पर्खिनुपर्ने अवस्था छ । सेती प्रादेशिक अस्पतालमा आईसीयू कुर्दाकुर्दै कतिपय संक्रमितले अकालमै ज्यान गुमाउँदैछन् । अक्सिजन अभावका कारण यो समस्या विकराल बन्दै गएको उहाँले बताउनुभयो । सेती प्रादेशिक अस्पतालको प्राङगणमा समेत कोरोना संक्रमिलाई उपचार गरिंदैछ । सुदूरपश्चिममा होम आइसोलेशनमा बसेकाहरुले समेत अक्सिजन नपाएरै ज्यान गुमाउनु पर्ने अवस्था छ ।

'अक्सिजन आपूर्ति नभए बिरामी भर्ना गर्न सक्दैनौं'

सुदूरपश्चिम प्रदेशका निजी अस्पतालले अक्सिजन आपूर्ति ठप्प हुन थालेकाले कोरोनाका बिरामीको उपचार गर्न समस्या भइरहेको बताएका छन् । निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश (अफिन) ले बिरामीको चाप बढ्दै गइरहेकाले अक्सिजन अभाव हुँदा उपचारमा समस्या भएको जनाएको छ ।

अफिन सुदूरपश्चिमका अध्यक्ष जनकराज जोशीले अक्सिजन आपूर्ति नभए अब कोराेनाका बिरामी भर्ना गर्न नसकिने बताउनुभयो । निजी अस्पतालहरूको साझा संगठनले अक्सिजन सहज रूपमा उपलब्ध गराउने वातावरण मिलाइदिन सरकारलाई आग्रह पनि गरेको छ ।

सरकारी अस्पतालहरूमा बिरामी भरिएपछि प्रदेश सरकारको सहकार्यमा यहाँका निजी अस्पतालहरूले संक्रमितको उपचारका लागि वार्ड सञ्चालन गरेका छन् । कैलालीमा रहेका १० वटा निजी अस्पतालले आफूहरूसँग भएका शय्याको २० प्रतिशत कोरोनाका बिरामीका लागि छुट्याएर उपचार गर्दै आएको बताएका छन् । 

अक्सिजन भए धेरैलाई बचाउन सकिने

अक्सिजन अभाव भएपछि सुदूरपश्चिमका अस्पतालहरूले थप कोरोनाभाइरस संक्रमितको उपचार गर्न नसकिने बताएका छन् । सुदूरपश्चिमका विभिन्न सरकारी तथा निजी अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप बढिरहेको छ ।

चिकित्सकहरुले अक्सिजनको व्यवस्था गर्न सके धेरै बिरामीहरुलाई बचाउन सकिने बताएका छन् । नवजीवन अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विधुरमणि ढकालले कोरोना वार्ड भनेर छुट्टै भवन बनाएर संक्रमितको उपचार गरिएको बताउनुभयो ।

१० शय्या कोभिडका लागि छुट्याएको यस अस्पतालमा अहिले १२ जनाको उपचार भइरहेको छ । ‘हामीलाई पनि अक्सिजनको समस्या छ । केही बिरामीका आफन्तले ल्याउनु भएको छ’ उहाँले भन्नुभयो, ‘केही हामीले पनि जोहो गरेका छौं । अक्सिजन मात्रै पाउन सक्यो भने धेरै बिरामीहरुको हामी ज्यान बचाउन सक्छौं ।’

धनगढीका अस्पतालले धनगढीमा रहेको मालिका अक्सिजन ग्यास उद्योगबाट र नेपालगन्ज गाडी पठाएर त्यहाँबाट  सिलिण्डर भरेर ल्याउने गरेका छन । ‘अहिले सरकारले अक्सिजन दिन सक्ने हो भने धेरैको ज्यान बचाउन सकिन्छ’, सेती प्रादेशिक अस्पतालका डाक्टर निराजन शर्माले  भन्नुभयो  । 

अन्तिम अपडेट: बैशाख २, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया