व्यङ्ग्य - धारा, बादल र बाको दलको गञ्जागोलले तिरीमिरी झ्याइँ !

 जेठ ८, २०७८ शनिबार ८:१४:५० | मिलन तिमिल्सिना
unn.prixa.net

कोरोना भगाउने र ज्यान जोगाउने उपाय पत्ता लाउन नसकेर तिरीमिरी झ्याइँ भएको सरकार र सरकार हाँक्ने दलका मान्छे अहिले अरुका आँखामा तोरीको फूल हालेर तिरीमिरी देखाउन व्यस्त छन् । सरकार अस्पतालमा शय्याको सट्टा आर्यघाटमा दाउरा थप्न तल्लिन छ । नागरिक श्वासप्रश्वासको खोजीमा छन् । तर, सरकार विश्वास अविश्वासको खेल हुँदै चुनावको बाकस तयार गर्न मस्त छ । नागरिक खोपको पर्खाइमा छन्, नेता संविधानको धाराबाट पानी झार्न व्यस्त । 

अन्त कतै नदेखेको, नसुनेको, यहाँ कसैले सोच्दै नसोचेको, कल्पनै नगरेको, सितिमिति अरुले आँट्न पनि नसक्ने यस्तो अचम्म किन भइरहेको छ ? प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको धज्जी उडाए भन्दै विरोध गर्नेहरुले समेत बुझीबुझी बुझ पचाएको एउटा कुरो हो - मेलम्चीको पानीसँग धाराको सम्बन्ध । जसले जस लिन खोजे पनि ओलीकै पालामा काठमाण्डौमा मेलम्चीको पानी आयो । वर्षौंसम्म खिया लागेर त्यत्तिकै मिल्केका धाराबाट पानी खस्यो । जताततै पानी नै पानी भएपछि सबै धारामा किन परीक्षण नगर्ने ? धारा घरको होस् कि संविधानको, परीक्षण त गर्नै पर्यो । त्यसैले अहिले ओली संविधानमा भएका सबै धाराको परीक्षण गर्दैछन् । हिजो एउटा धारा बन्द गरेर अर्कोबाट खसे । आज यो धारा बन्द गरेर त्योबाट खस्दैछन् । भोलि धाराबाट खस्छन् कि धरहराबाट भन्नेमा अहिले किन टाउको दुखाइरहनु ? बस् मेलम्चीको पानी छ्यालब्याल भएर बग्न थालेपछि उनी पालैसँग धारो खोल्ने र बन्द गर्ने काममा तल्लिन छन् । धारा खोल्दै, बन्द गर्दै चुनावमा जाने बाटो पनि खुलाइसके ।

अनि नेपालीले बुझेर पनि बुझ पचाएको अर्को कुरो हो - उतिखेरै हुने कामलाई धेरै दिन नलगाउने असल संस्कारको विकास गर्न राष्ट्रपति र प्रधानमन्त्री जोडतोडले लागेका छन् । एक हप्तामा आउने परिणाम र एकछिनमा आउने परिणाम उस्तै हुने भएपछि किन हप्तादिन पर्खने ? किन समय बर्बाद गर्ने ? किन अलमलिने ? किन रुमल्लिने ? अस्ति तीन दिनको समय दिँदा पनि त देखिएकै हो विपक्षीलाई । एउटा उम्मेदवार उठाउन नसक्ने विपक्षीले अहिलेसम्म ओलीले नखोलेको धारा खोल्न सक्छन् ? सक्दैनन्, सकेनन् पनि । अहिलेसम्म कसैले नछोएको धारा खोली हेर भनेर विपक्षीलाई दिएको एकदिन पनि धेरै भयो । अहिलेलाई एकदिन ठिकै छ । अलिपछि अरु धारा खोज्ने काम गर्नुपर्यो भने एकदिन पनि नदिने, केही मिनेटमै सक्ने । उतिखेरको उतिखेरै । क्षणको क्षण । छुमन्तर ! रातारात । अरु साँझ नपर्दै सुत्छन् । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई मध्यरातसम्म पनि भ्याइनभ्याइ छ । रातमै बैठक, रातमै निर्णय । धन्न अहिले चुनावको घोषणा मात्रै भयो, यस्तै हो भने कुन दिन अरु उठ्न नभ्याउँदै चुनाव नै भैसकेको हुन्छ ।

बाले थालेको यो असली संस्कारको प्रतिफल भोग्दै जाउँला तर अहिले एकछिन बादलभित्र घुसौँ । हिजोआज बासँगै बादल मिसिएका छन् । सँगैसँगै बाको दल पनि । बा, बादल र बाको दल ।

बा र बाको दलले साथमा घाम थमाएर बादल पठाए । आकाशमा घाम देखाउँदै बादल मडारिए । उल्का अचम्म भयो, घाम र बादल सँगसँगै नहुनुपर्ने हो । तर बा र बाको दलले अर्को परीक्षण गर्न खोजे । घाम देखाउँदै मडारिएका बादललाई फेरि बाकै दलले छेक्यो । बादल हट्यो । छ्याङ्ग भयो । नतिजा बादलले हारे, बाको दलले जिते । बाले हारे, बाको दलले जिते । बाको दलले जितेपछि बाले पनि जिते । बा र बाको दलले एकसाथ हारे, एकसाथ जिते ।

बादल हार्ने मात्रै भए, तर बाको दलले चाहिँ जित्यो पनि, हार्‍यो पनि । कहीँ कतै नभएको, नदेखिएको उल्का । बाको दलले भएजति सबैलाई दलदलमा फसाएपछि, विपक्षीको कोर्टमा पनि दलबल बढाएपछि बादल मात्रै होइन बादलको पछि कुदेका बहादुर, मणि, प्रभुहरु समेत यता न उताको हालतमा पुगे । प्रचण्ड र देउवा त पहिल्यै किनारा लागिसके। अब सत्तामा पनि बाको दल, प्रतिपक्षमा पनि बाको दल । भएजति उम्मेदवार पनि बाको दलकै । 

बादल हराउने बाको दलको चाल देखेर प्रष्ट भइसक्यो, अब हुने चुनावमा पनि सबै उम्मेदवार बाको दलकै हुनेछन् । अरु दलले उठाउन नसक्ने भएपछि के गर्नु ? जित्ने उम्मेदवार पनि बाको दलकै, हार्ने उम्मेदवार पनि बाको दलकै । जित्ने पनि बा र बाको दल, हार्ने पनि बा र बाको दल । 

जुन धाराबाट निस्के पनि बा र बाको दल । समर्थन गर्ने पनि बाको दल, विरोध गर्ने पनि बाको दल । थरीथरीका धारा, उपधारा, बा, बादल अनि बाको दलका कुरा एकैपटक दिमागमा घुसेपछि तपाईँलाई तिरीमिरी झ्याइँ बनाएन?

अन्तिम अपडेट: बैशाख १२, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया