गुल्मीमा अक्सिजन प्लान्टका लागि महासङ्घद्वारा ६० लाख रुपैयाँ प्रदान

 जेठ १०, २०७८ सोमबार १९:०:२७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – नेपाल पत्रकार महासङ्घ गुल्मीले जिल्लामा अक्सिजन प्लान्ट स्थापानाका लागि गुल्मी अस्पताल तम्घासलाई ६० लाख रुपैयाँ प्रदान गरेको छ । अक्सिजन अभावका कारण बिरामीको ज्यान जान थालेपछि अक्सिजन अभियानमा जुटेका गुल्मेली पत्रकारको पहलमा सङ्कलित रकम सोमवार गुल्मी अस्पताललाई हस्तान्तरण गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, राजनीतिक दलका नेता, नागरिक समाजलगायतको उपस्थितिमा गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेय र मेसु डाक्टर उत्तम पच्यालाई महासङ्घको तर्फबाट ६० लाख रुपैयाँको चेक प्लान्ट निर्माणका लागि हस्तारण गरिएको हो । 

पत्रकार महासङ्घ गुल्मीले गएको वैशाख २५ गतेदेखि जिल्लामा अक्सिजन अभियान सञ्चालन गरेको थियो । अभियानमार्फत सङ्कलित ५० लाख र जिल्ला समन्वय समिति गुल्मीले महासङ्घलाई प्रदान गरेको १० लाख गरी ६० लाख रुपैयाँको चेक अक्सिजन प्लान्टक बनाउन अस्पताललाई प्रदान गरिएको महासङ्घका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिनुभएको छ । केही समयअघि पनि महासङ्घले अक्सिजनको अभाव बढेपछि पाँच लाख रुपैयाँको २० वटा ठूला अक्सिजन सिलिन्डर अस्पतालाई प्रदान गरेको थियो । 

यस्तै महासङ्घले सञ्चालन गरेको अभियानमा स्वदेश तथा विदेशबाट गरी ७० लाखभन्दा बढी रकम सङ्कलन भएको अभियन्ता तारा भुसालले बताउनुभएको छ । 

गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि नेपाल सरकारको तर्पmबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा एक करोड र आईसीयूको लागि दुई करोड रुपैयाँ विनियोजन भएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया