लालीगुराँसको अध्ययन गर्न तथा पर्यटक आगमन बढाउन म्याग्दीको फूलबारीमा गुराँसपार्क बन्दै

 जेठ १५, २०७८ शनिबार ११:३८:५४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी - लालीगुराँसका प्रजातिको बारेमा जानकारी दिन तथा पर्यटकहरुको आगमन बढाउनका लागि म्याग्दीमा गुराँस पार्कको निर्माण थालिएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७, हिस्तानको फूलबारीमा गुराँसपार्क निर्माण गर्न लागिएको हो । 

चालु आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा डिभिजन वन कार्यालय म्याग्दीमार्फत हिस्तानको नेशरानी सामुदायिक वनको पर्यटकीय क्षेत्र फूलबारीमा गुराँस पार्कको निर्माण कार्य भइरहेको छ । गुराँस पार्कको अहिलेसम्म झण्डै ७५ प्रतिशत काम सम्पन्न भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । 

मन्त्रालयको ९ लाख ६० हजार रुपैयाँ र स्थानीय श्रमदान एक लाख १० हजारसहित कुल १० लाख ७० हजार रुपैयाँको लागतमा गुराँस पार्क निर्माणको काम भइरहेको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताउनुभयो । उहाँले नेशरानी सामुदायिक वनको फूलबारीमा बन्ने पार्कमा गुराँस सूचना केन्द्र (गोलघर), शौचालय र गेट निर्माणको काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभएको छ ।

याे गुराँस पार्कभित्र नेपालमा पाइने लालीगुराँसका ३१ वटै प्रजातिको विरुवाहरु रोपिने भएको छ । त्यसमध्ये पूर्वी नेपालको सङ्खुवासभा जिल्लाबाट २२ प्रजातिका गुराँसको बिरुवा ल्याउने र बाँकी म्याग्दीको सामुदायिक वनबाट बिरुवा लगेर पार्कमा रोपिने वन कार्यालयका निमित्त प्रमुख खनालको भनाइ छ ।

नेशरानी सामुदायिक वनको आधा हेक्टर क्षेत्रफलको जमिनमा गुराँस पार्क बनाउन लागिएको यस वन समूहका अध्यक्ष लालबहादुर गर्बुजाले बताउनुभयो । गुराँस पार्कभित्र नेपालमा पाइने ३१ प्रजातिका गुराँसका बिरुवाहरु रोप्ने, तिनीहरुको रङ्गिन फोटो टाँस्ने, अंग्रेजी र नेपाली दुवैमा गुराँसको नाम लेखेर राखिने योजना छ । पार्कभित्र गुराँसको प्रजातिका विषयमा जानकारीमूलक सूचनाहरु राखिनेछ भने गुराँसपार्क निर्माणपछि पर्यटकको आकर्षण बढ्नुका साथै गुराँसको बारेमा जानकारी लिन सहज हुनेछ ।

म्याग्दी जिल्लाको वन क्षेत्रमा करिब १० प्रजातिका गुराँसहरु पाइन्छन् । गण्डकी प्रदेशमा गुराँसको राजधानी र सबैभन्दा ठूलो गुराँसे जङ्गल म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पुनहिल-घोडेपानी र राम्चे क्षेत्रलाई मानिएको छ । यस क्षेत्रमा मात्रै विभिन्न ८ प्रजातिका लालीगुराँसहरु पाइन्छन् ।

नेपालमा सबैभन्दा ठूलो गुराँसको जङ्गल सङ्खुवासभा, ताप्लेजुङ र तेह्रथुम जिल्लाको सङ्गमस्थलमा पर्ने तिनजुरे-मिल्के-जलजले (टीएमजे) संरक्षित क्षेत्रलाई मानिन्छ । यसलाई नेपालमा गुराँसको राजधानीसमेत भनिन्छ । लालीगुराँसलाई नेपाल सरकारले राष्ट्रिय फूलको मान्यता दिएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया