राष्ट्रिय सभा उपचुनाव : पीसीआर रिपाेर्ट मतपेटिकामा, मतपत्र खल्तीमा !

 जेठ १७, २०७८ सोमबार २०:१५:२५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि आज सोमवार भएको चुनावमा एक जना मतदाताले आफ्नो कोरोना परीक्षणको पीसीआर रिपोर्ट मतपत्रमा राखी मतपत्र आफैँले लिएर गएका छन् । पालिकाका प्रतिनिधिमध्ये एक जनाले मतपेटिकामा मतपत्र राख्नुपर्नेमा कोरोना परीक्षणको आफ्नो पीसीआर रिपोर्ट राखेको भेटिएकाे हाे । 

निर्वाचन कार्यालयले निर्धारित समयभित्र दुई सय ९७ जनाले मतदान गरेको सार्वजनिक गरेको र अन्तिम मत परिणाम आउँदा २ सय ९६ मात्रै उल्लेख भएपछि खोजी गर्दै जाँदा यो रमाइलो तथ्य फेला परेको हो ।

मतदाताले असावधानीवस मतपेटिकामा पीसीआर रिपोर्ट राखेको हुन सक्ने मतगणनामा संलग्न एक अधिकारीले जानकारी दिएका छन् । ती अधिकारीले पालिकाकाे मतदाताबाट मतपत्रको ठाउँमा पीसीआर रिपोर्ट भेटिएको पुष्टि गर्नुभएकाे हाे ।  

लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपचुनावमा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ ।  विजयी पाण्डेयले चार हजार एक सय ४० मत ल्याउनुभयो भने चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मत ल्याउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया