वरिष्ठ अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन

 जेठ १८, २०७८ मंगलबार ११:२८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - वरिष्ठ अर्थविद् डा. गोविन्दबहादुर थापाको कोभिड–१९ सङ्क्रमणका कारण निधन भएको छ ।

डा. थापाको बाँसबारीमा रहेको गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा बिहान साढे ६ बजे  निधन भएको हो । कोरोना सङ्क्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा मनमोहन अधिकारी नेतृत्वको ९  महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार हुनुहुन्थ्यो ।

थापाले एसियाली विकास बैंकको मनिलामा रहेको कार्यालयमा आवासीय प्रतिनिधिका रुपमा समेत काम गर्नु भएको थियो । अब्बल वामपन्थी अर्थशास्त्री थापा पछिल्लो समय भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक कार्यमा आबद्ध हुनुहुन्थ्यो ।

थापाले लामो समयदेखि नेपाली अर्थतन्त्रबारे राष्ट्रिय स्तरका पत्रपत्रिका र अनलाइन माध्यममा निरन्तर कलम चलाउँदै आउनु भएको थियो । कास्कीका स्थायी बासिन्दा उहाँ अहिले भने काठमाण्डौको बसुन्धरामा बस्दै आउनु भएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया