प्रधानमन्त्री ओलीद्वारा ‘सगरमाथा संवाद’ कार्यक्रम घाेषणा

 माघ ८, २०८१ मंगलबार १८:१०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : प्रधानमन्त्रीकाे सचिवालय

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज मन्त्री, विशिष्ठ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, सहायता एजेन्सीका नेपाल प्रमुखहरूलगायतको उपस्थितिमा ओलीले आउँदो जेठको २ देखि ४ गतेसम्म काठमाण्डौमा सगरमाथा संवाद कार्यक्रम आयोजना हुने घोषणा गर्नुभएको हो ।

संवाद गर्नका लागि अन्तर्राष्ट्रिय मञ्चहरूको कमी नभए पनि सगरमाथा संवादले जलवायु परिवर्तनका कारण नेपाललगायतका देशहरूले भोग्नुपरेको समस्याका बारेमा उजागर गर्न सकिने र विश्वको ध्यान केन्द्रित गर्न सकिने ओलीले बताउनुभयो । यसअघि २०७६ सालमा कोभिड–१९ का कारण स्थगित गर्नुपरेको संवाद अब हरेक दुई वर्षमा आयोजना गर्ने मन्त्रिपरिषद्को निर्णयानुसार आउँदो जेठको शुरूमै गर्न लागिएको उहाँकाे भनाइ छ ।

‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ विषयक यस संवादमा पर्वतीय र सामुद्रिक देशका राष्ट्रप्रमुख, सरकार प्रमुख, जलवायु विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा मनाउन लागेको सन्दर्भमा नेपालले यस संवादलाई अभियानको अङ्गका रूपमा विकास गर्न लागेको सरकारले जनाएको छ ।

यस संवादमार्फत नेपालले जलवायु न्यायका लागि पैरवी गर्ने, क्षतिपूर्तिको विषय उठाउने र वातावरणीय सेवाबापतको भुक्तानीको सन्दर्भमा समेत आवाज उठाउने छ ।

स्विट्जरल्यान्डको 'वर्ल्ड इकोनोमिक फोरम', भारतको 'राइसिना डाइलग', सिङ्गापुरकाे ‘साङ्ग्रीला’ र चीनको 'बोआओ फोरम' जस्तै नेपालले पनि जलवायु परिवर्तनको क्षेत्रमा विश्वस्तरीय संवाद थाल्न लागेको हो । यसले विशेषगरी हिमाली क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरूबारे छलफल गरी अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने लक्ष्य लिएको छ ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया