प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज नहुने

 जेठ २४, २०७८ सोमबार ११:४७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधि सभा विघटनसम्बन्धी परेका रिट निवेदनहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास आजका लागि स्थगित भएको छ । 

इजलासमा रहेका व्यक्ति नै अस्वस्थ रहेको सूचना प्राप्त भएकाले आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले उज्यालोलाई जानकारी दिनुभयो । 

संसद विघटनसम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गर्नुभएको छ । 

इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराई रहनुभएको छ । 

आजका लागि हेर्दाहेर्दैमा राखिएका निवेदन स्थगित पेसी सूचीमा चढाइएको छ । हिजोको बहसपछि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । संवैधानिक इजलासको हिजोको सुनुवाइमा इजलासमा रहेका न्यायाधीश रहन हुने कि नहुने भन्ने विषयमा बहस केन्द्रीत थियो । 

महान्यायाधीवक्ता रमेश बडालसहित सरकारी पक्षका वकिलहरुले इजलासबाट कार्की र भट्टराईलाई हटाउन माग गर्नुभएको थियो  । कार्की र भट्टराई रहेको इजलासबाट निष्पक्ष फैसला नआउने सरकारी पक्षको भनाइ छ । 

इजलासमा रहेका व्यक्तिबारे विवाद उत्पन्न भएसँगै यस विषयमा टुङ्गो नलागी विषय केन्द्रीत बहस अघि नबढ्ने भन्दै प्रधानन्यायाधीश जबराले आजका लागि इजलास नै गठन नगर्नुभएको हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया