सिन्धुपाल्चोकको नियति : बर्सेनि विपत्ति

 असार २, २०७८ बुधबार १३:५२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – २०७१ साल साउन १७ मा सिन्धुपाल्चोकको तत्कालीन राम्चे गाविस वडा नम्बर ५ इटिनीमा पहरो फुटेर पहिरो गयो । यो घटनामा ३१ जना स्कुले बालबालिकासहित एक सय ४५ जनाले ज्यान गुमाए । यस्तै २०७२ साल वैशाखमा गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गयो । भूकम्पमा सिन्धुपाल्चोकका तीन हजारभन्दा धेरैको ज्यान गयो । भूकम्पमा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति सिन्धुपाल्चोक जिल्लाले बेहाेर्नुपर्‍याे ।  

'विपत्ति बाजा बजाएर आउँदैन' भनेजस्तै भूकम्प आयो/गयो । भूकम्पबाट प्रभावित उठ्न नसकेकै अवस्थामा निरन्तर बाढी/पहिरोले सिन्धुपाल्चोकलाई थिचेको थिच्यै छ । लगातार ठूला प्राकृतिक विपत्तिको सामना गर्दै आएको छ सिन्धुपाल्चाेकले । बाढी र पहिरोका कारण जनधनको क्षति बेहाेर्दै आएको सिन्धुपाल्चोकलाई सरकारले अघिल्लो वर्ष विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेको थियो । सङ्कटग्रस्त जिल्ला घोषणा गरे पनि विपद् प्रतिकार्यको काम प्रभावकारी हुन सकेको छैन ।

यसपालि मनसुन सक्रिय भएलगत्तै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रावती नदीले कम्तीमा सात जनालाई बगाएको छ । बाढीले हेलम्बुमा तीन वटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । यस्तै हेलम्बुमा रहेको प्रहरी चौकी पनि बाढीले बगाएको छ । मेलम्ची खोलामा आएको बाढीले मेलम्ची बजारका झन्डै ५० घरमा क्षति पुर्‍याएकाे प्रहरीको प्रारम्भिक अनुमान छ । 

अघिल्लो वर्ष पनि सिन्धुपाल्चोकका विभिन्न बस्तीमा बाढी/पहिरोले वितण्डा मच्चाएको थियो । साउन ३० गते जुगल गाउँपालिकाको वडा नम्बर २ लिदीमा गएको पहिरोमा ३७ घर पुरिए । पहिरोले पुरिएर बेपत्ता ३९ जनालाई सरकारले मृत घोषणा गरेको छ । 

भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाहेक अरू संयन्त्रले सिन्धुपाल्चोकको भूगोलको अनुसन्धान गरेका छैनन् । भूकम्पपछिको भौगर्भिक अनुसन्धानमा सिन्धुपाल्चोकका झन्डै दुई सय बस्ती बस्न उपयुक्त नरहेको विवरण पेस भए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । २०७२ साल र त्योभन्दा अगाडि गएका भूकम्पका पहिरोमै मानव बस्ती रहेकाले मनसुनमा बढी क्षति हुने गरेकाे भूगर्भविद्को भनाइ छ ।

भूकम्पले हल्लिएका जमिनका जोर्नीहरू निरन्तरको वर्षाका कारण गलेर बग्ने गरेकाे भूगर्भविज्ञ लीलानाथ रिमाल बताउनुहुन्छ । नदी किनार र आसपासका जमिन दोहन, पहाडमा डोजर, बस्ती विकास लगायतका कारणले पनि सिन्धुपाल्चोक मात्रै नभएर नेपालभर पहिरोको जोखिम उत्तिकै बढ्दै गएको उहाँको भनाइ छ । 

सिन्धुपाल्चोकमा वर्षाैँअघि चीन तथा उत्तरी क्षेत्रमा रहेको हिमताल फुटेर आएको बाढीले नयाँ संरचनाहरू बनाएका छन् । त्यो संरचनाहरू बलौटे र पुरुवा माटोमाथि बनेका कारण माटो नकसिएको हुँदा जोखिम अझ धेरै छ । २०७२ को भूकम्पको असर र लगातारको पानीका कारण पहिरोको जोखिम थप बढेको यसअघि नै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ ।

‘डोजरे विकासको असर क्रमशः बढ्दो छ । मुख्यतः बसोवासलाई ध्यान दिएर व्यवस्थापन गर्न नसक्दा जोखिम बढेको हो’, भूगर्भ विज्ञ रिमाल बताउनुहुन्छ ।   

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया