तत्काल ४० लाख डोज खोप ल्याउने तयारी : निषेधाज्ञा खुकुलो बनाउने, केही देशको हवाई उडान फेरि सञ्चालन गर्ने

 असार ३, २०७८ बिहिबार ८:२३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले चीनबाट तत्काल ४० लाख डोज खोप ल्याउने गृहकार्य थालेको छ । साउनदेखि  खोप आउन थाल्ने र प्रक्रिया सुरु गर्ने तयारी भइरहेको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो । हिजो बसेको कोभिड–१९ व्यवस्थापन निर्देशन समितिको बैठकमा खोप ल्याउने विषयमा छलफल भएको छ ।

बैठकले नागरिकको जनजीविकालाई ध्यानमा राखेर निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने निर्णयसमेत गरेको छ । बैठकले वैदेशिक रोजगारीमा गएर नेपाल फर्कन चाहेका तर विभिन्न कारणले होटल क्वरेण्टीनमा बस्न नसक्नेहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशन समितिको बैठकले १५ दिन होटल क्वरेण्टीनमा बस्नुपर्नेहरुका लागि १० दिनसम्मको खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको हो ।

यस्तै मलेसिया, जापानलगायत देशहरुसँग हवाई सेवा खुकुलो बनाउने निर्णय पनि भएको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो । समितिको बैठकले नेपाली श्रमिक धेरै रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियालगायत देशहरुमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको मन्त्री तामाङले बताउनुभयो ।

यी देशहरुबाट हप्तामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने उहाँको भनाइ छ । यस्तै बैठकले गैरआवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया