मर्स्याङ्दीको भेल उर्लिएपछिको कहालीलाग्दा ती चार दिन !

 असार ८, २०७८ मंगलबार ८:१२:२३ | यशाेदा गैरे
unn.prixa.net

ग्रेट फल्स किताबका केही पेजहरु पढ्न बाँकी थिए । जेठको अन्तिम दिन सोमवार रातिको ९ बजे एक कप मरिच चिया बनाएर आज जसरी पनि सिध्याएर सुत्ने भनि पढ्दै थिएँ । एक्कासी बत्ती झ्याप्प गयो । वाइफाइ भने बिहानैदेखि जाने आउने गरिरहेकोले सोचेँ दिनभर पानी परेकोले केही भयो । अनि एक हप्ताअघि पुगेको पोङकर तालका दृश्यहरु हेर्दै रमाइरहेकी थिएँ। 

करिब दश बजे एउटा ठूलो आवाज आयो, मन तर्सियो। बाहिर निस्केँ । मर्स्याङ्दी नदीको आवाज निकै बढेको रहेछ। बाहिर अँध्यारोले गर्दा केही थाहा भएन। राति १२ बजेदेखि जमिन हल्लियो त्यो भूकम्प नभइ खोलाले बगाएर ल्याएका ठूलाठूला ढुङ्गा एक आपसमा ठोकिँदा थर्किएको रहेछ। कतै पहिरो खसेको पनि ड्याङड्याङको आवाज र मर्स्याङ्दी बढेर भयानक आवाज आइरहेको थियो। मानिसहरु घर बाहिर निस्किसकेका थिए। 
हामी बस्ने ठाउँमा मर्स्याङ्दी र दूध खोला बगिरहेको छ कहिले त्यही हेर्दा सुन्दर लाग्ने कहिले त्यसैले मृत्युको मुखसम्म पुर्याउँदै थियो । म मनाङ जिल्लाको नासो गाउँपालिका वडा ५ थोंचेमा रहेको श्री प्रकाश ज्योति माविमा विगत साढे दुई वर्षदेखि अध्यापन गराउँदै आएकी र अहिले कोरोनाको महामारीले गर्दा विद्यालय नचले पनि बुटवल नगइ बसेकी थिएँ । हामी ५ जना हेड सर, शंकर, डिल्ली, स्थिर सर र मबाहेक अरु शिक्षकहरु तल झरि सक्नुभएको थियो । 

मलाई आइतवारदेखि एक्लो एक्लो र अलिक डराए जस्तो अनुभव भएको थियो । पन्थी सरलाई भनेकी थिएँ ‘सर केहीदिन स्कुलको पढाइ नहुने भए त घर जान मन लाग्यो केही नराम्रो होला जस्तो मन डराए जस्तो एक्लो फिल भएको छ ।’ सरले होइन अब त आउने बेला के जानु नआत्तिन भन्नुभयो ।

सोमवार दिनभर स्कुलको एउटा नेपाली चिट्ठीलाई अंग्रेजीमा अनुवाद गरी अमेरिका पठाउनु थियो, त्यो काम सकाएर फर्किएकी थिएँ । राति २ बजेतिर पहिलाको भन्दा दश गुणा ठूलो आवाज आइरहेको थियो मर्स्याङ्दीको, मन आत्तिन थाल्यो । हाम्रो घरका सोनम सुमन काशी नरभु दाइ र अन्य गाउँले सब के भयो भन्दै बाहिर निस्कियौँ। उज्यालो भइसकेपछि कहाँ के-के भयो भन्दै हेर्न जाँदा म बसेको घरको अगाडि मर्स्याङ्दीको बहावले छेउछाउको जमिन खसिरहेको देखेँ । 

नदीको पानी थोचे र धारा पानी जोड्ने पुलको ठिक कुनामा रहेको हेभेन होटलको छेउमै पुगेको थियो भने पारिपट्टि रत्न म्यामको, मिन दाइको धनबहादुर दाइको र बनाउँदै गरेको नयाँ होटल पनि किनारमै पुग्दै थियो। तिल्चे जाने पुलमा एउटा ठूलो रुख ढलेको रहेछ र छेउमै भीषण पहिरो खसिरहेको थियो। मर्स्याङ्दीको छाल भने घरि यता घरि उता सी र यू आकारमा ठोक्किँदै  पहिरो खस्दै थियो। हाम्रो घरको पछाडि तीनवटा नयाँ झरना र अन्य ठाउँमा पनि झरना खसिरहेको थियो । 

एकछिन हेड सर,  डिलराम र शंकर सर भएर होस्टेलमा चिया र पानी पिउँदै २०६३ सालमा दूधखोलाले तिल्चेको स्कुल र थोचेमा सामान्य पुर्याएको क्षतिबारे कुरा भयो। मर्स्याङ्दी र दूधखोला झनझन बढ्दै गइरहेको थियो। सबैको मनमा त्रास सुरु भइसकेको थियो। छिनमै धारापानीको होटल बगायो र त्यतैतिर पानीको बहाव बढ्दै गयो जस्ले गर्दा त्यो लाइनमा भएका सम्पूर्ण होटलहरु बग्ने देखियो।  

बिस्तारै हेर्दाहेर्दै हेभेन बग्यो। झोलुङ्गे पुल पनि हल्लिन सुरु गर्यो । अब सबै जना यहाँ बस्न नहुने भनि ओडार गाउँ जान झोला ठिक्क पार्न थाल्यौं । के राख्ने र के बोक्ने भनेर केही सोच्न सकिनँ, ल्यापटप, एक जोर कपडा, पैसा, नागरिकता र पासपोर्ट राखेर निस्केँ । अरु केही बोक्न सक्ने अवस्था थिएन । जब हामी निस्कियौँ पुल नपुग्दै पहिरो खस्यो । अब हामी चारतिरबाट थुनियौँ। विकल्प नभएपछि गुम्बामा गएर बस्ने र यदि मरिएछ भने सँगै मर्ने र बाँचियो भने भोलि केही उपाय निस्कन्छ भन्ने आशमा जम्मा भयौँ।

मर्स्याङ्दी र दूध खोलो झन् झन् बढदै थियो भने आकाशबाट अविरल पानी परिरहेको थियो। हाम्रो घरको अगाडि भाग पूरै ताछ्दै आइरहेको थियो । पारि धारापानीमा अन्य चार घर पनि बगे। कैलाश बैंक र प्रहरी चौकी बग्यो। गाउँपालिकाको कार्यालय र प्रभु बैंक पनि खोलाले छोइसकेको थियो । हाम्रो पुल पनि बग्यो । स्वास्थ्य चौकीको गेट नयाँ बन्दै गरेको गर्ल्स होस्टल देवीको मन्दिर र हाम्रो गाउँ पस्ने गेट सबै बगाएर लग्यो ।
 चारैतिरबाट पहिरोको आवाजले हामी सबै रुने र भगवानलाई गुहार्दै बस्यौँ । कतिबेला मर्स्याङ्दीले सबैलाई बगाएर लैजान्छ भन्दै मिनेट मिनेटमा घडी हेरेर उज्यालोको प्रतिक्षा गर्दै थियौँ।  साँझ परेपछि झन झन मृत्युको भयले मुटु फुट्ला जस्तो भइरहेको थियो। साना बच्चाहरु सुतिरहेका थिए। 

११ बजे जमिन बेस्सरी हल्लियो। पहिरो, खोलाको आवाजले अङ्ग्रेजी फिल्म टाइटानिकमा पानीले बगाए जस्तै बग्दै गरेको र केदारनाथ फिल्ममा खोलाको दृश्य आफैं अनुभव गर्दै थिएँ। म मर्दै छु भन्ने भावना निक्कै भयानक हुँदो रहेछ। सबैले आआफनो विश्वासले भगवानको नाम लिँदै बस्यौँ । कहाँ जाने जता त्यतै पानी र पहिरो । 

रातभरि पहिरोको आवाज त चलिरहेकै थियो । तर राति ३ बजे फेरि सबै थर्कियो । गुम्बा बेस्सरी थर्कियो । अब मरियो भनेर कोलाहल भयो । सबै रुन र कराउन थाल्यौँ। आफ्ना परिवारका हरेकलाई सम्झेँ । मलाई दु:ख पर्दा सहयोग गर्ने विशेष मान्छेलाई सम्झेँ । मनमा बसेका प्रियमनहरुलाई सम्झेँ र कति बाँकी थियो जिन्दगीमा पूरा गर्ने सपनाहरुलाई सम्झेँ । अनि आँखा चिम्लेर मृत्युलाई स्वीकारी बसेँ ।

केहीबेरपछि आवाज रोकियो । सबै आजको दिन बाँचियो भन्दै बाहिर निस्कियौँ । झोला बोकेर हिँड्न नसक्ने भएपछि कोठामा गएर ल्यापटप त्यहीँ राखेँ । चाउचाउ, एक जोर कपडा, दुईवटा कोक राखेर म बाँचेछु र मेरो समान बगेन भने आउँछु, नभए यही अन्तिम भयो भन्दै भगवानलाई ढोगेर हिँडे । अब ओडार गाउँ वा ताचे जहाँ भए पनि जान हिँड्यौं तर दुर्भाग्य खोलो बाटोमै आइ पुगेको रहेछ। बाटोमा डिल्ली र स्थिर सरसँग भेट भयो । उहाँहरुले जाने बाटो कतै छैन सायद अब रोकिन्छ कि भन्दै गर्दा हामी सबैको आँखामा आँसु भरिएको थियो। हामी ताचे जान जङ्गलको बाटो लाग्यौँ।

मर्नुभन्दा बहुलाउनु बेस भने जस्तै पहिरोलाई साथ लिएर घरि ढुङ्गा घरि सिस्नो समाउँदै उकालो चढ्यौँ। हामी लगभग ७० र ८० जना थियौँ । साथमा १५ दिनको र दुई महिनाको सुत्केरी आमा र बच्चाहरु थिए। दुई तीन घण्टाको निक्कै कष्टपूर्ण यात्रापछि माथि पुगेका थियौँ । तर पहिरोले ताचे जान नसक्ने कुरा थाहा पायौँ। हामीसँग विकल्प थिएन त्यसैले एकछिन आराम गरी जाने भनेर तल गोठ जस्तो ठाउँमा गयौँ । ११ बजिसकेको थियो भने पानी पनि परिरहेकै थियो । तल झर्दै गर्दा फोनको टावर देखियो सबैजना फोन सम्पर्क गर्न थाल्नु भयो । मैले पनि निकै प्रयासपछि दिदीलाई खबर गरें र हामीलाई यहाँबाट उद्धारको लागि प्राइभेट अथवा सरकारी हेलिकप्टर पठाइदिन पहल गर्न भनेँ । प्राइभेट हेलिकप्टर ल्यान्डिङको समस्याले आउन मानेन भने दिदी भिनाजुले प्रयास गर्दा पनि आर्मीको हेलिकप्टर आउने कुनै सङ्केत नदेखाएपछि हामी ताचे जान हिड्यौँ। अगाडि हुनेहरु लगभग ३० जना जति जानुभयो । तर एक्कासी खोला बढेकाले सुभद्रा, केशु, ज्ञानु म्याम, आशा दिदी, सोनम, बच्चा धावा लगायत हामी २० जना जान सकेनौँ र त्यही ढुङ्गामुनि ओडारमा बस्न बाध्य भयौँ ।  

पानी लगातार परेकोले म पूरै भिझेकी थिएँ । त्यस ठाउँमा १०, १५ जनाको समूह बनाएर छ ठाउँमा मिलेर बस्यौँ । हामी बसेको ओडारमा दुई जना बच्चा थिए। १५ दिनको बच्चा रातभर भोकले रोइरहयो। चिसो मौसम खानेकुरा थिएन । ओढ्ने पनि त्यस्तै देखेर पीडा भइरहेको थियो। भने अर्को बच्चाको व्यवस्था अलिक राम्रो थियो। आशा दिदीले के-के खान दिइ रहनुभएको थियो। चकमन्न अँध्यारो, पहिरोको आवाज र भिजेको शरीर काँपिरह्रयो । मुटु दुखेर चर्किरहेको थियो भने कतिबेला यहाँ पनि पहिरोले हामीलाई च्याप्छ भन्ने त्राससहित जबर्जस्ती चिसो दाउरा बाल्न थाल्यौँ। दुई घण्टासम्मको प्रयासले सानो झिल्को बल्यो । त्यसैको सहारामा रातभर ढुङ्गामा बसेर उज्यालोको प्रतिक्षा गर्न थाल्यौँ ।

हामीसँग भएको चाउचाउलाई ढुङ्गाबाट चुहिएको पानीले घण्टौँ लगाएर पकायौँ र सबैले बढीमा दुई चम्चा बाँडेर खाँदा जिन्दगीभरिकै मिठो परिकार लाग्यो। ती रातहरु हामीलाई महिनौँ दिन जस्तै लामा र कठिन भए। बिहानपखको पानीले हामीलाई झन त्रसित बनायो। हामीसँग रहेकामध्ये केही जान नसक्ने भन्दै त्यही बस्नुभयो भने हामीहरु बिहान ६ बजे निस्कियौँ। 

जब पहिरो आयो, मुटु काँप्न थाल्यो, कहाँ कसरी टेक्ने जसरी भए पनि यहाँबाट जान सके बाँचिने आशमा भगवान भन्दै अगाडि बढ्यौं । अगाडि ईश्वर भाइ थिए हात समाएर घस्रिँदै तल झरे तर फेरि एउटा लहरा समाएर अगाडि जान पर्ने रहेछ । अब झन गाह्रो थियो त्यसैले झोला त्यहीँ छोडेर हिँडे ।

ईश्वरले सुमनको बाबुलाई समाउन पर्यो। अगाडि खोलो थियो तलमाथि भिर चिप्लिए सिधै मर्स्याङ्दीमा पुगिने । मरे मरिन्छ भनेर अगाडि बढें हातमा एउटा लौरो थियो। म कसरी तरेँ भन्ने नै विश्वास लागेन, किनकि म त्यसरी खोलामा हिँड्न निकै डराउने मान्छे। विकल्प थिएन सङ्घर्ष गर्नु बाहेक । अलि पर पुगेपछि मुटुनै फुट्ला जस्तो भयो । आँखा तिरमिराउन थाले । हात खुट्टा काँप्न थाले।

पहिरो झरेर हिलाम्मे रहेछ । त्यही माथि रातभर परेको पानी । लामो श्वास तानेर हिलोमा टेकेँ । केही पर पुगेपछि म पूरै डुब्न थालेँ । खुट्टा अड्किए । कम्मरसम्म पुगेको थियो हिलोको लेदो ।  बल्लबल्ल हिँड्दै थिएँ, खुट्टा चिप्लियो उठ्न सकिनँ । झन्झन् डुब्दै गएँ । बेस्सरी चिच्याएँ र एक जना दाइले बल्लबल्ल तान्नु भयो ।

अहिले यी हरफहरु लेख्दा पनि हात काँपीरहेका छन् । बल्ल तल्ल भएभरको शक्ति लगाएर त्यो पार गर्न आधा घण्टा लाग्यो। अब त बाँचियो पहिरो खसेन भनेर मन केही शान्त भयो र अगाडि हिडेँ । तर केहीपर पुगेपछि फेरि तर्सिएँ । योभन्दा झन डरलाग्दो हिलो रहेछ। सायद मर्ने दिन नआएकाले होला आजसम्म सञ्चित शक्तिले आत्मबल दियो र पाइला टेकेँ। घरि ढुङ्गामा र घरि हिलोमा टेक्दै हिँडे ।

दुई/तीन पटक त्यहाँ पनि डुबेँ उठ्नै नसक्ने गरेर । तर कोही न कोहीले तान्दै उठाउनु भयो। हिजो कसरी ती नानी बाबुहरु तरे होलान् भन्ने लाग्यो । अब सकियो कि भन्यो झन् झन् टाढासम्म त्यस्तै देखिने। कति दर्दनाक हुँदो रहेछ कुनै-कुनै घटनाहरु ।

वर्षौँसम्म असार/साउनमा तराईमा बाढी आएर घर परिवार बगाएको समाचार सुन्दै र हेर्दै आएकी म आज आफैँ भोग्दै थिएँ। बाँच्नको लागि सङ्घर्ष गर्दै थिएँ। घरमा हुँदा सामान्य घाउ चोट लाग्दा दुख्ने शरीर यहाँ ढुङ्गाले सयौँ ठाउँमा काटेको थियो र तीन दिनसम्म नसुती नखाइ बसेको शरीर पनि दुखेको थिएन।

आजसम्म सञ्चित शक्ति र आत्मबलले यी दुःखलाई पार गर्दै थिएँ । गएको वर्ष साउन १४ गते पहिरोमा हिँडेर स्कुल आउँदाको पीडा समेटेर  क्वरेन्टीनबाट पहिरै पहिरोबीचको कष्टकर यात्राको नियात्रा लेखेको थिएँ । त्यतिबेला त्यो दु:ख त १ प्रतिशत पनि रहेनछ। जिन्दगीमा कति ठूला चोट र अप्ठ्यारा समय भोग्नुपर्ने रहेछ। एक जना दाइले भन्दै हुनुहुन्थ्यो राति भगवानलाई  सम्झेर आजको रात बचाइदिनुहोस् भनेर सुत्ने हो भगवानकै भरोसामा बाँचिरहनेछौँ हामी। 

यही दलदलको एक घण्टाभन्दा बढीको कष्टपूर्ण डुबाइपछि खेतमा आइपुगियो । त्यहाँ पानीले भरिएको रहेछ । मेरो शरीर टाउको बाहेक पूरै हिलोले भरिएको थियो। अलिअलि शरीर पखालेर ताचेको पुलतिर गयौँ । उता त्यो सानो दुई बच्चालाई ईश्वरले जसोतसो जोगाएर ल्याएका थिए अरुको स्थिति लगभग मेरै जस्तै जस्तै थियो । पुल तरेपछि ठूलो पहिरोको छेउछाउ भासिएको बाटो हुँदै उकालो लाग्यौँ। सिधा ठाडो एक घण्टाको उकालोमा हामी सबै आत्तिएर मर्ने अवस्थामा थियौँ।

एक घुट्को पानीको लागि ब्याकुल थियौँ। पाइला रोकिए तर हिम्मत रोकिएन । माथि ताचेको भ्यु टावर देखियो त्यहाँ पुग्दा मनोज सरले अब आउनुभयो नआत्तिनु है भन्दा म बोल्न सकिनँ। हामी उकालो चढ्दा तीनवटा हेलिकप्टर आउने जाने गरेका थिए । हामीलाई लिन आएको होला भनेर आशावादी हुँदै उकालो चढेका थियौँ । तर तालमा अलपत्र परेकाहरुलाई उद्धार गरिरहेको रहेछ। तलमा ५५ वटा घर पनि बगाइसकेको छ रे भन्ने सुनियो । झन् मन आत्तियो मान्छे के भए होलान् भन्ने लाग्यो। हामीलाई गाउँमा पुगेको आभासले अनौठो अनुभव भयो । सुरक्षित महसुस भयो। ताचेमा सब इन्जिनियर भइ बुटवलबाट आउनु भएकी बिना मिसले बाल्टीमा पानी ल्याएर राखिदिनु भएको थियो ।

उहाँलाई देख्ने बितिकै म, सुभद्रा, केशु र बिना मिस एकछिन भावुक भयौँ । अब केही हुँदैन बाँचिन्छ भन्ने भयो । तीन दिनपछि हामीले पानी पिउँदै थियौँ । ताचेको स्कुलमा हामीलाई त्यहाँका जनप्रतिनिधि  लगायतले खाने र बस्ने व्यवस्था गरिदिनु भएको रहेछ। हिजो नै आइ पुग्नुभएका अन्य सबै र गाउँका सबै जनासँग भेट भयो।   रञ्जना दिदी र कान्छा दाइले हिजो आउँदा उहाँको छोरा बगेर पर पुगेका र ज्यान फालेर बचाएको कुरा सुनाउनु भयो। त्यस्तै अरुले पनि मेरोजस्तै अनुभव सुनाउन भयो। आफैँले भोगेको कुरा सुन्दा पनि तर्सिएँ म । फ्रेस भएर खाना खायौँ । तीन दिनमा खाना खाएका थियौं । त्यसपछि मोबाइलको टावरको खोजी गर्यौँ । 

आमा र दाइसँग कुरा भयो। आफूलाई सम्हाल्दै अब जसरी पनि यहाँबाट कि लमजुङ , कि पोखरा कि काठमाण्डौ जहाँ भए पनि जाने भनेर सम्भावित ठाउँमा सबैले फोन गर्न थाल्यौँ ।  दाइ र चामेको दाइसँग कुरा भएपछि भोलि केही हुने सङ्केत पाइयो। स्कुलको अफिस रुममा बिना मिसले हामी ६ जनालाई सुत्ने व्यवस्था मिलाउनु भयो भने अरु कोही आफन्तकोमा कोही अन्य कोठामा सुत्नु भयो। राति पानी परि रह्यो मन डराइरह्यो। 

शुक्रवार बिहानदेखि नै हामी पूर्ण तयारी अवस्थामा थियौँ कति बेला के आउँछ अनि जाने भनेर । ११ बजे खाना खाने बेला सेनाको हेलिकप्टर आयो । बुझ्न गएँ ।  तिनीहरुले चामे लान आएका रहेछन् । हामी अन्योलमा पर्यौँ के गर्ने भनेर । चन्द्र दाइले मिस यही ठिक छ नआत्तिन भन्दै हुनुहुन्थ्यो । पछि  मैले मेरो विष्णु दाइ र चामेको दाईसँग कुरा गरेँ । उता सुभद्रा म्यामले पनि कन्ट्याक्ट गर्नुभएछ अनि हामी तीन जना र रुकुम गोरखा र अन्य कामदारहरु सबै चामे गयौँ।

स्थानीय व्यक्तिहरु भने त्यहीँ बस्नु भयो। हामीले त्यो जङ्गलमा बसेकी १५ दिनको बच्चा बिरामी र सुत्केरी भएकाले उद्धार गर्न अनुरोध गर्यौँ । हेलिकप्टर बस्ने ठाउँ नभए पनि उद्धार टोली त्यहाँ जाने भयो । तर उनीहरुलाई त्यहाँ बस्न गाह्रो भएको हुनाले बोकेर आफ्नै गाउ झारेछन् र अन्य केही आएछन्। 

चामे पुगेपछि  दाइ दिदी आमा अङ्कल अन्टी, मिलन, केशव दाइ र केही साथीहरु सङ्गीता अञ्जना र कृष्णसँग कुरा भयो। कृष्णको सिन्धुपाल्चोकमा सबै घर र खेत सब बगायो भन्दा झन् पीडा थपियो। यहाँ वरिपरि टेन्टहरु राख्ने काम भइरहेको थियो। हामीलाई एउटा चाउचाउ बिस्कुट र पानीको बोतल दिनुभयो। 

कहाँबाट कहाँ कस्तो परिस्थितिमा आइपुगेँ भगवान भन्ने लाग्यो । मन खोलेर बेस्सरी रुने मन थियो तर आफैँलाई नियन्त्रण गरेँ। जसरी भए पनि आज मनाङ जिल्लाबाट बाहिर जान पाए हुन्थ्यो भन्ने प्रयाससहित चिनेजानेका सबैको सहयोग माग्यौं। लामो अथक प्रयासले जान पाउने भयौँ । अहिलेको फ्लाइट पोखरा जाने रहेछ, हामी तीन जना साथीहरु जहाँ भए पनि जाने भन्दै तयार भयौँ । यहाँबाट निस्केपछि गाडी रिजर्भ गरेर घर जाने योजना थियो हाम्रो।

वृद्ध बुबा आमाहरुसँगै मनाङबाट प्रतिनिधि सभामा निर्वाचित पोल्देन छोपाङ गुरुङ र अन्य माननीयहरु पनि हुनुहुन्थ्यो। उहाँसँग पनि हामीहरु बसेको जङ्गलमा रहेकाहरुको परिस्थितिको बारेमा र उद्धारको बारेमा कुरा भइरहेको थियो। उहाँहरु नार र फु अनि यार्सागुम्बा टिप्न गएकाहरुको खोजी र उद्धार गर्न जानु भएको रहेछ। हामीहरु पनि उहाँहरुसँगै आयौँ । १५ मिनेटपछि मात्रा थाहा भयो हेलिकप्टर त काठमाण्डौ जाँदै रहेछ भन्ने। हामीहरुलाई अझ सहज भयो किनकी सबै साथीहरुका आफन्त हुनुहुन्थ्यो। एयरर्पोट आइसकेपछि मनाङबाट आएका हामी सबैलाई पुर्याइदिने व्यवस्था रहेछ खुशी लाग्यो। म घर पुग्दा ५ बजिसकेको थियो।

सोमवार राति १० बजेदेखि सुरु भएको त्रास शुक्रवार बेलुका पाँच बजे सकिएको थियो। तै पनि सिन्धुपाल्चोकको बाढीको भिडियो र समाचार हेरेर आधा घण्टासम्म आँसु थामिएन। केही दिनअघि मात्र ताल हेर्न पाँच दिन लगाएर पोङकर पुगेका थियौँ, तर त्यही पानी जब उर्लिन्छ यस्तो विनाश गर्दो रहेछ। आफ्नो पीडा कम हुँदै गर्दा अरुको तहसनहस भएको घाउको अनुभव गर्दै आफ्ना प्रिय सामान र किताबलाई सम्झिरहेकी छु।  

अन्तिम अपडेट: भदौ ५, २०७८

1 Comments

  • Rama Paudel

    June 22, 2021, 10:49 a.m.

    Wow संस्मरण !!!! यसोदा

  •  0 Reply

तपाईको प्रतिक्रिया