विश्व टेस्ट च्याम्पियनशिप फाइनल : भारतले दोस्रो पारीमा १ सय ७० रन बनायो, न्युजिल्यान्डले पायाे १ सय ३९ रनको लक्ष्य

 असार ९, २०७८ बुधबार १९:५१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इङ्ल्यान्डको साउथ्याम्पटनमा भारतको न्युजिल्यान्डबीच भइरहेको विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा भारतको दोस्रो पारी एक सय ७० रनमा सकिएको छ । 

भारतले न्युजिल्यान्डलाई जितका लागि एक सय ३९ रनको लक्ष्य दिएको छ । दोस्रो पारीमा भारतका लागि ऋषभ पन्तले ४१ रन बनाए । न्युजिल्यान्डका बलरले छैटौँ दिनको पहिलो सत्रमा तीन विकेट लिएर भारतलाई दबाबमा राखेका थिए । 

भारतले लन्च (खाना समयअघि) कप्तान विराट कोहली, उपकप्तान अजिन्क्या रहाणे र चेतेश्वर पुजाराको विकेट गुमायो । दुई विकेट गुमाएर ६४ रन बनाएको अवस्थामा छैटौँ दिनको खेल सुरु गरेको भारत लन्चसम्म पाँच विकेट गुमाएर एक सय ३० रनको अवस्थामा पुग्यो । लन्चपछि पनि भारतले राम्रो प्रदर्शन गर्न सकेन ।   

मङ्गलवार अविजित रहेका कप्तान कोहली र पुजाराले बुधवार चल्न सकेनन् । कोहली १३ रनमा आउट हुँदा पुजारा १५ रनमात्र बनाउन सके । 

त्यसपछि रहाणे पनि १५ रन बनाएर आउट भए । त्यसपछि ऋषभ पन्त र रविन्द्र जडेजाले छैटौँ विकेटका लागि ३३ रन जोडे । जडेजा १६ र पन्त ४१ रनमा आउट भए । 

यसअघि हिजो  न्युजिल्यान्डको टिम पहिलो पारीमा दुई सय ४९ रन बनाएर ३२ रनको अग्रता लिँदै अलआउट भएको थियो । च्याम्पियनसिपको उपाधि जित्ने टोलीले १८ करोड रुपैयाँ बराबरको पुरस्कार पाउनेछ । 

खेलको दुई दिन वर्षाले बिथोलिएपछि बुधवार छैटौँ दिन पनि खेल भइरहेको हो । फाइनलमा एक दिन रिभर्ज राखिएको थियो ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया