बेलायतमा भिसी तुलबहादुर पुनको नाम अङ्कित बेलायती रेल सञ्चालन

 असार १०, २०७८ बिहिबार १०:२१:३० | रासस
unn.prixa.net

काठमाण्डाै – बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाउनुभएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक रेल सञ्चालन गर्ने जनाएको थियो ।

लण्डनको प्याडिङ्टन रेलवे स्टेशनमा बुधबार बिहान एक समारोहबीच रेलवे सञ्चालक ग्रेट वेस्टर्न रेलवेले भिसी पुनको नाममा एक रेल सेवाको नामकरण गरी सञ्चालन गरेको हो । बिहान १० बजे शुरु भएको त्यस समारोहमा लामो समयदेखि भूपू गोरखा सैनिकका हक हितका लागि सङ्घर्षरत बेलायतकी चर्चित नायिका जोअना लुम्ले पनि सहभागी हुनुहुन्थ्यो । लुम्लेका पिता जेम्स रुथफोर्ड लुम्ले पनि तुलबहादुरसँगैको बटालियनमा कार्यरत हुनुहुन्थ्यो ।

आफू सानै छँदा भिसी पुनलाई भेट्दा आफ्ना बाबाको हालखबर सोध्नुभएको र त्यो बेला आफूले बाबा गुमाइसकेको बताउँदा ‘अब तिमी मेरी छोरीसरह नै हौ’ भनेर आफूलाई परिवारकै सदस्यको दर्जामा राखेको भावनात्मक भनाइले मन छोएको कहिल्यै भुल्न नसकेको नायिका लुम्लेले बताउनुभएको गैरआवासीय नेपाली सङ्घ यूकेका पूर्वअध्यक्ष योगकुमार फगामीले बताउनुभयो ।

कार्यक्रममा भिसी पुनका छाेरा अर्जुन तिलिजा र छोरी मेघकुमारी पुनसहित केही नेपालीको उपस्थिति थियो । भिसी पुनले भिक्टोरिया क्रस प्राप्त गरेको दिनको अवसरमा भएको त्यस कार्यक्रममा नेपाली समाजका धर्म तामाङ, ज्ञानराज राई, कृष्णबहादुर राई, धन गुरुङ, मनीकुमार राई र ग्यारी घलेको उपस्थिति थियो । व्यक्तिगत रूपमा तुलबहादुर पुनलाई सम्मान गरेको मात्र नभई यसले नेपाल र नेपालीले गौरव गर्नुपर्ने कार्य भएको फगामीले बताउनुभयो ।

बेलायतले नेपालप्रति गरेको सम्मानका रूपमा पनि हेरेको उहाँको भनाइ थियो । उहाँले यति राम्रो र उल्लेखनीय कार्य हुँदा यहाँका कुनै सरकारी निकायका प्रतिनिधि तथा भूपू गोर्खाका सङ्गठनका प्रतिनिधि र नेपाली सङ्घसंस्थाका प्रतिनिधिलाई समेत सामेल गराउन सकेको भए अझै सुनमा सुगन्ध हुने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया