जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ खुला

 असार ११, २०७८ शुक्रबार १३:३०:० | रासस
unn.prixa.net

काठमाण्डाै – जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) आजदेखि बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आईपीओ यही असार १५ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । 

यस अवधिसम्म मागअनुसारको आवेदन नपरेमा यही असार २५ गतेसम्म शेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । १९ करोड ७७ लाख ३० हजार बराबरको आईपीओ निष्कासन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जयकुमार मण्डलले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरका १९ लाख ७७ हजार तीन सय कित्ता साधारण शेयर बिक्री खुला गरिएको छ । त्यसमध्ये जारी पुँजीकाे पाँच प्रतिशत अर्थात् ३० हजार चार सय २० कित्ता शेयर कर्मचारीका लागि र कुल निष्कासनको पाँच प्रतिशत अर्थात् ९८ हजार आठ सय ६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बाँकी रहेका १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । याे शेयर इच्छुक लगानीकर्ताले न्यूनतम दश कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर)मार्फतसमेत आईपीओमा आवेदन दिन सकिनेछ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया