कांग्रेसले क्रियाशील सदस्यता वितरणलाई समयमै टुङ्गाे लगाउने

 असार १३, २०७८ आइतबार २०:२७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसले पूर्वनिर्धारित समयभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशील सदस्यता वितरणलाई टुङ्गो लगाउने भएको छ । नेपाली कांग्रेसको पार्टीभित्रको आन्तरिक समायोजनलगायत विभिन्न कारणले रोकिएको क्रियाशील सदस्यता वितरण कार्य सबै जिल्लामा सुरु भइसकेकाले समयमै टुङ्गो लगाएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशन समयभित्रै सम्पन्न गरिने नेता रमेश लेखकले जानकारी दिनुभयो । 

आइतवार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी सम्मिलित बैठक कार्यतालिकाअनुसार पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने विषयमा केन्द्रित भएर छलफलअघि बढेको उहाँले जानकारी दिनुभयो । पार्टीको वडादेखि केन्द्रसम्मका सबै अधिवेशन सम्पन्न गर्नका लागि पूर्वसर्तका रूपमा रहेका क्रियाशील सदस्यताको छानबिन, व्यवस्थापन र अन्तिम सूची तयार गर्ने काममा केन्द्रित भएर छलफल भएको पनि उहाँले बताउनुभयो । 

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजकसमेत रहनुभएका नेता लेखकले आफ्नो समितिको संक्षिप्त मौखिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले धेरैजसाे जिल्ला र निर्वाचन क्षेत्रबाट क्रियाशील सदस्यताको नवीकरण र नयाँ इन्ट्री पनि भइसकेको तथा पार्टीको आन्तरिक समायोजनसम्बन्धी विवादका कारण प्रभावित भएका जिल्लामा पनि काम सुरु भएको जानकारी दिनुभयो ।

पार्टीको आन्तरिक समायोजनका कारणले बारामा, बर्दियामा पार्टी कार्यालयमा तालाबन्दी भएकाले र लामो समयसम्म समायोजनसम्बन्धी विवाद रहेकाले सिन्धुपाल्चोक जिल्लामा क्रियाशील सदस्यता वितरणको काम अघि बढ्न सकेको थिएन । ती सबै जिल्लामा अहिले क्रियाशील सदस्यता वितरणको काम भइरहेको नेता लेखकले जानकारी दिनुभयो । नेता खरेलले कांग्रेसले जारी गरेको कार्यतालिकाकै समयमा स्थानीय वडादेखि जिल्ला तहसम्मका अधिवेशन, प्रदेश तहको अधिवेशन र महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशील सदस्यताको काम सम्पन्न गर्ने विश्वास दिलाउनुभयो ।

नेता लेखकका अनुसार दुई जिल्लाबाहेकका जिल्लाबाट विभिन्न किसिमका उजुरी तथा गुनासा आएका छन् । ती गुनासा तथा उजुरीलाई छलफल गर्दै टुङ्ग्याउदै लगिएको उहाँले बताउनुभयो । क्रियाशील सदस्य नै मतदाता पनि भएकाले महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यताको विषय टुङ्गो लगाउने कार्य जटिल भएको नेता लेखकले बताउनुभयो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया