अमेरिकाको कोलोराडोमा रोकिराखेको विमानमा आगलागी, सबै यात्रु...
चैत १, २०८१ शुक्रबार
विश्व क्रिकेटका महान ब्याट्सम्यान सर डोनाल्ड जर्ज ब्राडम्यानको आज ११०औं जन्मजयन्ती हो । ‘द डन’ उपनामले परिचित ब्राडम्यान अष्ट्रेलियाको साउथवेल्समा सन् १९०८ मा आजैको दिन जन्मिएका थिए । सर्वकालीन महान ब्याट्सम्यान ब्राडम्यानलाई अष्ट्रेलियन क्रिकेटका सफलताका मेरुदण्ड पनि भन्ने गरिन्छ ।
करियरमा उनले यस्तो रेकर्डहरु बनाएका छन् जसलाई भङ्ग गर्न असम्भवप्रायः छ । उनले आफ्नो करियरमा १२ दोहोरो शतक बनाएका थिए ।
टेस्ट क्रिकेटमा एकैदिन धेरै रन बनाउने दुलर्भ रेकर्ड पनि उनकै नाममा छ । सन् १९३० मा इंग्ल्याण्डको हेडिंग्लेमा एकै दिन ३०९ रन बनाएका थिए ।
उनको नाममा एउटै राष्ट्रविरुद्ध पाँच हजार रनको रेकर्ड छ । अर्को देशविरुद्ध ५ हजार रन पुरा गरेको रेकर्ड पनि छ । उनले इंग्ल्याण्डविरुद्ध ५,०२८ रन बनाएका छन् ।
टेस्ट करियरमा उनले ५२ खेल खेले । जसमा उनले ९९.९४ को औसतमा ६,६९६ रन बनाएका छन् । जसमा १२ दोहोरो शतक, २९ शतक र १३ अर्धशतक सामेल छन्, जुन तोड्नका लागि ब्राडम्यान नै जन्मिनुपर्ने क्रिकेट विश्लेषक प्रतिक्रिया छ । जसको अर्थ कीर्तिमान तोड्नु असम्भव जस्तै छ ।
१२ वर्षको उमेरमा नै क्रिकेट खेल्न सुरु गरेका ब्राडम्यानले उमेर समूहको खेलमा पनि १२५ रन बनाएर सबैलाई चकित तुल्याएका थिए । क्रिकेट इतिहासका ‘सुपरहिरो’ उनले एउटै पारीमा ३३४ रनको उत्कृष्ट इनिङ खेलेका छन् ।
ब्राडम्यानलाई अष्ट्रेलिया सरकारले पनि उच्च सम्मान दिएको छ । तत्कालीन प्रधानमन्त्री जोन हार्वडले महान अष्ट्रेलियन खेलाडीको रुपमा सम्मान गरेका थिए । त्यहाँको सरकारले उनको नाममा संग्राहलय बनाउनुका साथै मुद्रा र हुलाक टिकट पनि प्रकाशित गरको छ । २७ अगस्ट २००८ मा अष्ट्रेलिया सरकारले जन्म शताव्दीको अवसर पारेर अष्ट्रेलियन डलर ५ को सुनको मुद्रा पनि जारी गरेको थियो ।
यसैगरी १९ नोभेम्बर २००९ मा ब्राडम्यानलाई आईसीसीको ‘हल अफ फेम’ मा पनि सामेल गरिएको थियो ।
ब्राडम्यानको अन्तिम खेल सधै स्मरणीय छ । उनले अन्तिम खेल अगाडि १०१.३९ को औसतमा रन बनाएका थिए । उनलाई औसत रन १०० मा राख्न जम्मा ४ रन आवश्यक थियो । त्यतिबेला उनी अन्तिम टेस्ट क्रिकेट इंग्ल्याण्डमा खेल्दै थिए । ४ रन बनाएको भए १०० को औसत यथावत हुने भएकाले धेरैले उनको खेलमा नजर लगाएका थिए । तर दुर्भाग्य अन्तिम खेलमा उनी शून्य रनमै आउट भए ।
त्यतिबेला उनले दुई बल सामना गरेका थिए । इंग्ल्याण्डका एरिक होलीजले बोल्ड गरेका थिए । त्यसपछि उनको औसत रन ९९.९४ रह्यो । एशेज श्रृंखला अन्तर्गतको उक्त टेस्टमा अष्ट्रेलिया ३–० ले अगाडि थियो । त्यो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड जम्मा ५२ रनमा अल आउट भएको थियो ।
१. पाँच टेस्ट म्याजको सिरिजमा ब्याटिङ औसत रेकर्ड ब्राडम्यानकै नाममा छ । उनले १९३१–१९३२ मा दक्षिण अफ्रिकाविरुद्ध २०१.५० कौ औसतमा रन बनाएका थिए ।
२. टेस्टमा ९९.९४को औसतमा रन बनाएका ब्राडम्यानले फस्ट क्लासमा ९५.१५ को औसतमा रन बनाए । फस्ट क्लास क्रिकेटमा उनले २८,०६७ रन बनाए भने उनको सर्वोत्कृष्ट व्यक्तिगत स्कोर नटआउट ४५२ रन रहेको छ ।
३.ब्राडम्यानको नाममा टेस्ट क्रिकेटमा सबैभन्दा बढी दोहोरो शतक बनाउने कीर्तिमान पनि छ । उनले १२ दोहोरो शतक लगाएका थिए ।
४. एउटै सिरिजमा धेरै दोहोरो शतक बनाउने रेकर्ड पनि ब्राडम्यानकै छ । उनले इंग्ल्याण्डविरुद्धको एउटा सिरिजमा ३ वटा दोहोरो शतक बनाएका थिए ।
५. एउटै सिरिजमा सबैभन्दा धेरै रन बनाउने रेकर्ड पनि अझै तोडिएको छैन । उनले इंग्ल्याण्डविरुद्ध एउटै सिरिजमा ९७५ रन बनाएका थिए ।
६. उनले करियरमा जम्मा ६ वटा छक्का प्रहार गरेका छन् । जसमा इंग्ल्याण्डविरुद्ध पाँच र भारतविरुद्ध एउटा थियो ।
७. ब्राडम्यानले ७ वटा अलग अलग सिरिजमा ५०० बढी रन बनाएका थिए । यो पनि आफैमा एउटा रेकर्ड भए पनि उनीपछि वेस्टइन्डिजका ब्रायन लारा दोस्रो स्थानमा छन् ।
सन् २००१ मा निमोनियाका कारण मृत्यु हुनुपूर्व ब्राडम्यानले आफूलाई मन पर्ने दुई आधुनिक क्रिकेटर शेन वार्न र सचिन तेन्दुल्करसँग भेट गरेका थिए । उनीहरुसँगको भेट पश्चात ब्राडम्यान आफ्नो सबैभन्दा प्रिय स्थान एडिलेड ओभलमा कहिले पनि गएनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।