जुम्ला बजारमा फोहरकाे थुप्रो, मानव अधिकार आयोगको चासो

 असार १५, २०७८ मंगलबार १७:५६:७ | नेत्र शाही
unn.prixa.net

डम्पिङ साइट नहुँदा जुम्ला बजारमा फालिएको फोहरको थुप्रो

जुम्ला – जुम्ला बजारमा फोहर व्यवस्थापनको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ । फोहर व्यवस्थापन हुन नसक्दा चौतर्फी आलोचना बढेपछि राष्ट्रिय मानव अधिकार आयोगले नगरपालिकालाई पत्राचार गरेर चासो व्यक्त गरेको हो । 

आयोगले चन्दननाथ नगरपालिकालाई दिएको पत्रमा संविधानको धारा ३० को नागरिकको स्वच्छ तथा स्वास्थ्य वातावरणमा बाँच्न पाउने मौलिक हक कार्यान्वयनबारे नगरपालिको सहरी क्षेत्र अनुगमन गर्दा फोहरमैलाको उचित व्यवस्थापन हुन नसकेको पाइएको बताइएको छ । 

आयोगका अधिकृत किरण बरामद्वारा हस्ताक्षरित पत्रमा फोहरमैला व्यवस्थापनका विषयमा भएका कामको जानकारी दिनसमेत भनिएको छ । पत्रमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ ग को बुँदा ११ र फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३ र ४ कार्यान्वयन सम्बन्धमा त्यहाँ कार्यालयबाट भइरहेका कार्य एवम् प्रगतिबारे यथाशीघ्र जानकारी उपलब्ध गराइदिनु हुन अनुरोध छ ।   

सदरमुकाममा फोहर व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिरहेको छ भने स्थानीयवासी नगरप्रति आक्रोशित हुँदै आएका छन् । स्थानीयवासी गोर्खबहादुर थापाले जनप्रतिनिधिमा जिम्मेवारी बोध नभएको बताउनुभयो । 

फोहर व्यवस्थापन नभएपछि जुम्ला सदरमुकामको मुख्य बजारमा फोहर थुप्रिन थालेको छ । धेरैजसोले पालिका र सरोकारवालाको ध्यानाकर्षण होस् भनेर मुख्य बजारमै फोहर फाल्ने गरेको बताएका छन् । 

नगरपालिकाले अहिलेसम्म डम्पिङ साइट निर्माण सम्पन्न गर्न सकेको छैन । नगरपालिकाले भने यस विषयमा केही प्रतिक्रिया दिएको छैन ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया