व्यङ्ग्य - श्री ५ को सरकार, श्री ५ को सडक, श्री ५ कै सर्वोच्च !

 असार १९, २०७८ शनिबार ९:४२:७ | मिलन तिमिल्सिना
unn.prixa.net

पहिलो कोरोना, दोस्रो भोकमरी, तेस्रो बेरोजगारी, चौथो गरिबी, पाँचौं बाढी–पहिरो ! विपत्ति पनि पाँच ! एकपछि अर्को समस्याको खातैखात, जतिबेला पनि पुर्पुरोमा हात ! एकैपटक पाँचतिरको तीरले घोचेपछि नागरिकलाई जताततै सास्ती ! नागरिकको सास्ती हटाउँछु भन्नेहरु चाहिँ छेडछाड र आरोप–प्रत्यारोपमा मस्ती !

सरकारमा प्रधानमन्त्रीसहित पाँच मन्त्री अर्थात श्री ५ । सडकमा पाँच पूर्वप्रधानमन्त्री अर्थात त्यहाँ पनि श्री ५ । सरकारका श्री ५ र सडकका श्री ५ मध्ये कुन चाहिँको तूक शीर्ष भनेर छुट्याउन बसेका सर्वोच्चको संवैधानिक इजलासमा पनि पाँचैजना श्रीमान अर्थात अर्को श्री ५ । यी सबैथरि पाँचलाई पञ्च हान्ने दाउ कुरेर बसेका पितापूर्खादेखि नै श्री ५ कहलिएका पूर्व श्री ५ । 

एउटा राजा हटे पनि टोलैपिच्छे जन्मिएका नयाँ राजाहरुको शासनबाट सास फेर्नसमेत अप्ठेरो भैसक्यो । तर, नागरिकले खुइय सास फेर्न नपाउँदै देशमा श्री ५ हरुको रजगज सुरु भएको छ । सबै श्री ५ हरु आफैंलाई शीर्ष र सर्वोच्च ठान्छन् । अरु श्री ५ लाई काम नलाग्ने पत्रु भन्छन् । आफ्नो आङको भैँसी देख्दैनन्, अर्काको टाउकोको जुम्रो ५ हात परैबाट गन्न भ्याउँछन् । अर्कोलाई तथानाम भन्दा आफ्नै बदनाम भइरहेको बिर्सन्छन् ।

सबैभन्दा पहिले सरकारका श्री ५ को कुरा गरौँ । श्रीपेचको पेच खुस्केर श्री अलिअलि मात्रै बाँकी रहेका श्रीओली अझै आफ्नो टाउकोमा ताज टल्केकै झैँ गरी गमक्क पर्छन् । बारुद सकिएर खिया लाग्न लागेको बन्दुकबाट फास्सफुस्स गोली निस्केझैँ मुखबाट टर्रो, अमिलो बोली निकाल्छन् । आफ्नो बोली अझै गोलीभन्दा शक्तिशाली छ भनेर घमण्ड गर्छन् । तर त्यही बोली बालबालिकाले पनि नपत्याउने भैसक्यो भन्ने पत्तो पाउँदैनन् । विरोधीलाई खसाल्न भनेर बाटैभरि ठूल्ठूला खाल्डो खन्छन् । अर्को खाल्डोमा पर्ला भनि ढुकेर बस्दाबस्दै आफैं खाल्डोमा पर्छन् । बल्लबल्ल हातपाउ टेकेर एकपल्ट उठ्छन् । फेरि घुँडो फुस्कनेगरी ५ बल्ड्याङ्ग तल खस्छन् । बल्ड्याङ्ग खाएर रगडिँदा नाक एकै बर्षमा थेप्चो भैसक्यो । तै पनि सेतोबाट कालो हुँदै गएको जुँगा मुसारेर मजस्तो कोही छैन भन्छन् । मेरो विकल्प म नै हुँ भनेर ऐना हेर्छन् ।

श्रीओलीलाई बोली र चातुर्यकलाले हराउन नसकेपछि अरु श्री ५ हरु सडकमा बरालिन थालेको धेरै भैसक्यो । कहिले उनीहरु सडकबाटै हामी यहाँ छौ भन्छन् । कहिले सडकबाटै शासन गर्न थाल्यौँ भन्छन् । कहिले सिंहदरबार हाम्रै भैसक्यो भन्छन् । आफैंले आफैंलाई अबीरजात्रा गरेर जित हाम्रो भनेर उफ्रन्छन् । उही ड्याङको मूला भए पनि आफूहरुलाई त्यही मूलासँग नदाँज्न बिन्ती पनि गर्छन् । श्रीओलीले फुईंफुईं घुमाएपछि फनफने लागेर सडकमा पुगेका उनीहरुलाई पनि आफूजस्तो अर्को कोही छैन जस्तो लाग्छ । घरघरि आफ्नै अनुहार हेर्छन् । विरुप भए पनि धोइपखाली गरेपछि राम्रो देखिन्छ भन्ने ठान्छन् । कुर्सी भेट्न नपाएको झोंकमा कहिले एकथोक बोल्छन्, उतिखेरै अर्कोथोक गर्छन् । राजनीतिक खेलले श्रीओलीलाई हराउन नसकेपछि सडकका श्री ५ हरु अहिले सर्वोच्चका श्री ५ हरुको मुख हेरेर ओलीको दिनगन्ती गर्दैछन् ।

सडकका श्री ५ र सरकारका श्री ५ का काम र व्यवहारमा खासै घटबढ नभए पनि कसको ह्याउ कति भनेर सर्वोच्चमा पनि श्री ५ तराजु उचालेर बसेका छन् । सर्वोच्चका श्री ५ को तुलो कहिले सरकारका श्री ५ को भारले गह्रौं हुन्छ, कहिले सडकका श्री ५ को भारले । असार साउनको खोलोजस्तो संविधानका धारालाई जता पनि डोहोर्याउन मिल्ने भएकाले श्रीमान ५ हरुको तुलो सडक र सरकारमा रहेका कुन चाहिँ श्री ५ तिर ढल्कन्छ भन्ने अझै ठेगान भैसकेको छैन ।

सरकार र सडकका श्री ५ हरु एकअर्काको उछित्तो काढ्न उत्रेको फल अन्ततः सर्वोच्चका श्री ५ को पोल्टामा पर्ने अवस्था आएको छ । सांसद र मन्त्रीहरुको पद थमौती र कटौतीको अभ्यासले अपार सफलता पाएकै हो । अब प्रधानमन्त्री कसलाई बनाउने भन्ने प्रश्नको भार पनि सर्वोच्चका श्री ५ कै काँधमा आइलागेको छ । 

सडक र सरकारमा बाँडिएका श्री ५ हरुकै कारण जनमत सर्वोच्चका श्री ५ मा पुग्ने देखेर निर्मल निवासका भूपू श्री ५ पनि दङ्ग छन् । भूत भैसकेको श्री ५ कतै वर्तमान हुने पालो आउला कि भनेर मुख मिठ्याउनेहरु पनि छन् । जता पनि श्री ५ हरुकै जगजगी भएपछि श्री र श्रीसम्पत्ति कोरोना र बाढीपहिरोलाई बुझाएर नेपालीहरु झ्याउरे भाकामा नयाँ गीत गाउन थालेका छन् “श्री ५ को सरकार, श्री ५ को सडक श्री ५ कै सर्वोच्च !” 

अन्तिम अपडेट: बैशाख ९, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया