लमजुङ बाढी–पहिराे : विभिन्न जलविद्युत् आयोजनामा दुई अर्बभन्दा धेरैकाे क्षति

 असार २४, २०७८ बिहिबार २०:३०:२९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा रहेका विभिन्न जलविद्युत् आयोजनामा बाढी र पहिरोबाट दुई अर्ब रुपैयाँभन्दा धेरैकाे क्षति भएकाे छ । लमजुङको दोर्दी खोला, मर्स्याङ्दी नदी करिडोरमा रहेका विभिन्न जलविद्युत् आयोजनामा गरी बाढी र पहिरोबाट दुई अर्ब ७१ करोड रुपैयाँ बराबरकाे क्षति पुगेको ‘रिपोर्टिङ’ भएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।  

बाढीले २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजना, १० मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजनाको पावर हाउस, ड्याम साइटमा क्षति पुर्‍याउनुका साथै दोर्दी करिडोरमै रहेको २५ मेगावाट क्षमताको दोर्दी ए जलविद्युत् आयोजनाको बाँध क्षेत्र भत्काएको, ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत् आयोजनाको ड्याम साइटमा क्षति पुर्‍याएकाे र केही निर्माण सामग्रीसमेत बगाएको दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले बताउनुभयो ।

झोलुङ्गे पुलमा पनि क्षति

यस्तै दोर्दीे खोलामै रहेका पाँच वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । ‘गएको जेठ ३१ गतेदेखि बाढी र पहिरोका कारण अहिलेसम्म जिल्लामा थुप्रै नोक्सानी भएको छ’, प्रमुख जिल्ला अधिकारी लुइँटेलले भन्नुभयो,

‘दोर्दी खोलामा रहेकाे एउटा झोलुङ्गे पुल बगाएको छ । अन्य झोलुङ्गे पुल जोखिममा रहेका छन् । कुनै झोलुङ्गे पुलको एकपट्टी त कुनैको अर्को पट्टीको भाग बगाएको छ ।’

राहत, उद्धारमा जुट्दै

बाढीले दोर्दी गाउँपालिकामा रहेकाे हिले बजारका १९ घर, मर्स्याङ्दी गाउँपालिकामा रहेकाे भुलभुलेका तीन घर बगाइसकेको, अन्य ठाउँका घरमा पनि क्षति पुगेको र कतिपय ठाउँका बस्ती नै जोखिममा रहेका जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

‘नागरिकको घरदैलोमा पुगेर अहिले हामी राहत तथा उद्धार कार्यमा जुटिरहेका छौँ’ प्रजिअ लुइँटेलले भन्नुभयो, ‘यसमा गाउँपालिका, नगरपालिकाको पनि समन्वय छ । ठूलो भूमिका छ ।’

पुनर्स्थापना आवश्यकता  

विस्थापितहरूको पुनर्स्थापना आवश्यकता रहेको बताउँदै प्रजिअ लुइँटेलले भन्नुभयो, ‘हामी तथ्याङ्क सङ्कलनमा पनि जुटिरहेका छौँ । त्यसपछि प्रदेश सरकार, सङ्घ सरकार साथै अन्य सम्बन्धित निकायलाई अनुरोध गरी पुनर्निर्माणको कार्य गरिनेछ ।’

यस्तै दोर्दीमा नेपाली सेनाले तटबन्ध गरिरहेको पनि उहाँले जानकारी गराउनुभयो । ‘जोखिममा रहेका बस्तीका साथै सार्वजनिक संरचना संरक्षणका लागि अहिले दोर्दीमा तटबन्धका लागि नेपाली सेना खटिएको छ’, प्रजिअ लुईँटेलले भन्नुभयो ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया