वर्षाभरमा नै प्रवेश मार्ग र पुल बनाउन सके तीन महिनामा मेलम्चीकाे पानी सुन्दरीजल झार्न सकिने

 असार २५, २०७८ शुक्रबार १६:२३:३९ | रासस
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा पुनः मेलम्चीको पानी ल्याउन कम्तीमा तीन महिना लाग्ने देखिएको छ । मेलम्ची खानेपानी विकास समितिले पालिका र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनः सुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ । 

आयोजनास्थलसम्म पुग्न सडक, पुललगायतका संरचनामा क्षति पुगेको छ भने निर्माणस्थलका कतिपय संरचनामा समेत क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले सडक खुलाएर र बेलिब्रिज राखेर आयोजनास्थलसम्म पुग्न सकेमा अस्थायी बाँधबाट भए पनि पानी ल्याउने लक्ष्य लिइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार वर्षाभरमा नै प्रवेश मार्ग र पुल बनाउन सकियो भने अबका तीन महिनामा पानी सुन्दरीजल झार्न सकिनेछ । 

अझै पनि वर्षा कति लम्बिन्छ वा वर्षाले संरचनामा अझै कति क्षति गर्छ भन्ने यकिन नभएकाले कति समयमा पुनः पानी ल्याउन सकिन्छ भनी यकिन नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, त्यसका लागि हामीले सरोकार राख्ने निकायका प्रतिनिधिसँग छलफल गरिरहेका छौँ ।

भदौसम्ममा हेडवर्कसम्म पुग्न सकेमा असोजमा सुरुङको लेदो सफा गर्न सकिने समितिले जनाएको छ । सुधारका काम लामो समय लागेमा पानी सुन्दरीजल आउने अवधि अझै लम्बिन सक्ने देखिएको छ । उहाँका अनुसार वर्षा भइरहँदा तत्काल खुलाइएका सडक पुनः बन्द हुने सम्भावना हुन्छ ।  

पछिल्लो समय चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाका बाँकी निर्माण अघि बढाइरहेको छ । आयोजना अन्तर्गतको सुरुङ, हेडवर्क र पानी प्रशोधन केन्द्रमध्ये अहिले हेडवर्क मात्रै सम्पन्न हुन बाँकी छ ।

‘हेडवर्क’ निर्माणको ठेक्का नसकिएकाले कम्पनीले नै मर्मतको समेत काम गर्ने सूचना अधिकारी पन्तले बताउनुभयो । अरू संरचनामा भने त्यही कम्पनीले गर्ने वा अरूले गर्ने कि भन्ने टुङ्गो लाग्न बाँकी छ । 

समितिले आयोजनाको मर्मतको कामलाई तत्काल र दीर्घकालीन काम गरी छुट्याएको छ । तत्काल गर्नुपर्ने काममा प्रवेशमार्ग निर्माण र मर्मतको काम रहेको छ । प्रवेशमार्गमा रहेका पुल र सडक निर्माण पहिले गर्नुपर्ने सूचना अधिकारी पन्तले बताउनुभयो । प्रवेशमार्गको निर्माण गरेर अम्बाथानसम्म पुग्न सकिन्छ । आयोजनस्थलसम्म पुगेपछि त्यहाँ रहेका अम्बाथान अडिट र डाइभर्सन टर्नेल खोलिने उहाँले बताउनुभयो ।

अम्बाथान अडिट र डाइभर्सन टर्नेल खोल्दासम्म मेलम्ची नदीमा पानी सफा भयो भने पुनः डाइभर्सन गरेर पानी ल्याउन सकिने समितिले जनाएको छ । अहिले ढुङ्गा, बालुवा थुपारेर सतह डाइभर्सन टनेलको मुखभन्दामाथि पुगिसकेकाले त्यो पनि हटाउनुपर्ने सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, आयोजनास्थलमा मर्मत गर्न अहिले एक अर्ब रुपैयाँ लाग्ने हामीले अनुमान गरेका छौँ ।

अहिले पुनः मेलम्चीको पानी सुन्दरीजल झार्नका लागि सडक, पुलको निर्माण र हेडवर्कसम्म सफा गर्ने काम तत्काल गर्नुपर्ने देखिएको छ । वर्षापछि भने आउँदाे वर्ष आयोजनामा क्षति हुन नपाओस् भनी संरक्षणका काम गर्नुपर्ने उहाँले बताउनुभयो । आयोजना मर्मतसँगै सडक र पुल मर्मत गर्नुपर्ने भएकाले यसमा सङ्घीय सरकारअन्तर्गतकै सडक विभाग, सेना र समिति गरी तीन निकाय जोडिएका छन् । 

त्यस्तै तत्कालका लागि आयोजनास्थलसम्म पुग्न पालिकाकाे सहयोगमा सडक खुलाउन सकिन्छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकासँगको समन्वयमा उनीहरूसँग रहेका डोजर, तार जाली प्रयोग गर्न सकिने पन्तकाे भनाइ छ । उहाँले भन्नुभयो, तत्काल अस्थायी रूपमा सडक खुलाएर निर्माणस्थल पुगेपछि पछाडिबाट स्थायी काम अघि बढाउन सकिने देखिएको छ ।  

सडक पूरै बन्द भएर निर्माणस्थलसम्म पुग्न नसकिएकाले समितिले अहिले ड्रोनबाट नै त्यहाँ भएको क्षतिको अध्ययन गरिरहेको छ । केही दिनमा नै खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा भूसंरक्षण विभाग, राष्ट्रिय निकुञ्जलगायतका सरोकार राख्ने निकायका प्रतिनिधि जहाँसम्म सकिन्छ त्यहाँसम्म जाने योजना बनाइएको छ । टोलीले त्यहाँ पुगेर स्थानीयवासीसँग छलफल र त्यहाँको क्षतिको अध्ययन गर्नेछ । 

समितिको मेलम्ची पुल बजारमा रहेकाे कार्यालयका प्रतिनिधिसमेत अझै अम्बाथानसम्म पुग्न सकेका छैनन् । केही दिन पहिले प्राविधिकसहितको टोली पैदल हिँडेर किउलसम्म पुगेर फर्किएको थियो । 

आयोजनामा तत्काल गर्नुपर्ने मात्रै नभएर आउँदा आवमा समेत आयोजनामा क्षति नपुगोस् भनी संरक्षणका कामसमेत गरी दुई अर्ब रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ । त्यसमा सडक र पुलको मर्मतसँगै आयोजनास्थलमा अपनाउनुपर्ने सावधानी तथा अध्ययनका कुरा समेटिने उहाँले बताउनुभयो । 

अहिले तत्काल बेलिब्रिज निर्माण गरेर यातायात सञ्चालन हुनेछ भने दीर्घकालीन रूपमा कङ्क्रिटको नै पुल निर्माण हुनेछ । अहिले भइरहेको पुलभन्दा उचाइ बढाएर र ठूलो पुल बनाउनुपर्ने हुन्छ । अहिले तत्काल पहिरो हटाएर सडक सञ्चालन गरिएपछि दीर्घकालीन रूपमा त्यही ठाउँबाट नै कालोपत्र सडक निर्माण गर्नुपर्ने हुन्छ । हेडवर्कको क्षतिको अध्ययन गरेर भविष्यमा यस्तो दुर्घटना नहोस् भनी सुरक्षाका कार्यक्रम गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, विज्ञबाट हेडवर्कमाथि के काम सकिन्छ भनी अध्ययन, अनुसन्धान हुनेछ ।

सुरुङको निर्माण सम्पन्न भएर केही महिना पहिलेदेखि मात्रै काठमाण्डाै उपत्यकामा पानी ल्याउन थालिएको थियो । आयोजनाले यही असार १ गतेदेखि सुरुङको निरीक्षण थालेको थियो । त्यही दिन हेडवर्क माथिबाट आएको पहिराेका कारण आयोजनाको सुरुङबाहेक अरू संरचनामा क्षति पुगेको छ ।  

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया