व्यङ्ग्य - एमालेमा छलफल : ओलीको छल, नेपाललाई फल !

 असार २६, २०७८ शनिबार ९:१८:१३ | मिलन तिमिल्सिना
unn.prixa.net

‘आहा धरहरा त राति पो गज्जब देखिँदो रहेछ’ होटलको माथिल्लो तलाबाट धरहरातिर हेर्दै गरेका ओली त्यसैत्यसै गद्‌गद् भए । 

‘ल नमस्कार टक्र्याएँ है’ पछिल्तिरबाट नेपालले हात जोडेजस्तो गरे ।

‘ए आउनुभयो, हेर्नु त माधवजी रातिको धरहरा !’

‘यसपालि पनि धरहरा देखाएर मात्रै फर्काउने विचार छ कि क्या हो । अस्ति नै पनि यही झ्यालबाट त्यही धरहरा देखाएर फर्काउनुभयो, फर्केपछि फेरि उही पारा देखाइहाल्नुभयो ।’

‘त्योबेला त दिउँसोको धरहरा पो देखाएको त कामरेड ! त्यो पनि उद्घाटन हुनु अघिको । रातिको  धरहरा हेर्नुभएको छ तपाईंले ? ल देख्नुहोस् त ! कस्तो झलमल्ल बलेको छ ! प्रधानमन्त्री कार्यालय त धरहराको माथिल्लो तलामै राखेर देश हाँक्दा पो मज्जा होला जस्तो लाग्दैछ मलाई ! धरहराकै अर्को तलामा पार्टीको अफिस राखौँला, तपाईँ नि त्यतैबाट काम गर्नु । यसमा तपाईँको के विचार छ ? त्यहाँ बसेपछि कसैले भेट्न पनि नसक्ने, देख्न पनि नसक्ने । चट्ट बार्दलीमा निस्केर वरपर हेरौँला । हेर्दाहेर्दै टुँडिखेल वरपरको सडकमा रेल कुद्छ । रानीपोखरीमा पानीजहाज चल्छ । तपाईं र म मिलिजुली हेरौँला, चालिस कटेको धेरै भो अब धरहराबाटै रमाउँला । अब यसै बिन्दुमा मिलौँ ।’

‘म तपाईंको बकम्फुसे गफ सुन्न र धरहरा हेर्न आएको हैन । ल कुरा गर्ने भए गरौँ । मलाई ढिलो भइसक्यो । अघिदेखि नै प्रचण्डजी घरमा आएर पर्खिरहनुभएको छ । म एकछिनमा आउँछु भनेर निस्केको ।’

‘तपाईं पनि प्रचण्डको मामुली कार्यकर्ताबाट कहिल्यै माथि आउन सक्नुभएन है ।’

‘कार्यकर्ता हैन, नेता हो नेता । तपाईंजस्तो हो र आफूबाहेक सबैलाई कार्यकर्ता ठान्ने ? अध्यक्ष दिन्छु भन्या छन् अध्यक्ष । उनकै सङ्गतले प्रधानमन्त्री पनि भइएला कि !’

‘हाहा मैले छोडे पो तपाईं प्रधानमन्त्री । अध्यक्ष त पहिले पनि भएजस्तो लाग्थ्यो क्यारे । सडकमा हामी यता छौँ भन्दै अध्यक्षता गर्ने गरेको होइन र ?’

‘हो ल के गर्नुहुन्छ ? सडकमा अध्यक्ष पनि भएको हो, तपाईंले भन्दा पहिले महासचिव भएर पार्टी हाँकेको पनि हो ।’

‘कसरी हाँक्नुभयो भन्ने त दुनियाँलाई थाहा छ नि ।’

‘तपाईंको हँकाइ पनि दुनियाँले देखिसके । त्यत्रो जम्बो प्लेन त बीचमै दुर्घटना गराउनुभयो । प्लेन छोडेर बयलगाडामा आइपुग्दा पनि घमण्ड उस्तै छ ।’

‘बनमाराको झ्याङभित्र हराएको पिपलको बोटको के महत्त्व हुन्छ र कामरेड ! दोबाटो चौबाटोमा एक्लै उभिँदा पो पिपलको भ्यालु हुन्छ । पहिले तपाईंहरुजस्ता बनमाराको बीचमा छँदा झण्डै हराइसकेको थिएँ, अहिले चौबाटोमा छु, कसैले फूल बर्साउँछन्, कसैले ढुङ्गा हान्छन् !’ 

‘भड्खालोमा खस्न लागेको थाहा छैन, चौबाटोमा छु भनेर मख्ख पर्नुहुन्छ ।’

‘प्रचण्डको मामुली कार्यकर्ताले आफ्नो अध्यक्षलाई पनि भड्खालोमै देख्छ, पार्टीलाई पनि भड्खालोमै धकेल्न खोज्छ ।’

‘प्रचण्डको मामुली कार्यकर्तासँग तपाईंजस्तो महान मान्छे छलफलमा बस्न सुहाउँदैन थियो होला त ? किन बोलाउनुभयो ?’

‘मलाई त तपाईंको अनुहार पनि हेर्न मन थिएन । साथीहरुले कर गरेर मात्र आएको हुँ ।’

‘खुब मलाई चाहिँ तपाईंको अनुहार हेर्ने रहर ! ल भन्नुहोस् के कुरा गर्ने हो ?’

‘खै साथीहरु मिलौँ भन्छन् । मिल्नुहुन्छ त ?’

‘छलफलबाट छल छोडेर मलाई फल दिए मिल्छ, नत्र उही हो ।’

‘मलाई पनि छल गरिरहन पाए मिल्छ, तपाईंलाई फल दिनुपरे मिल्दैन । एकपटक सुनौँ न त तपाईंले खोजेको फल के हो ?’

‘कि अध्यक्ष चाहियो, कि प्रधानमन्त्री । त्यत्तिकै कहाँ हुन्छ ? कुर्सीमा बस्न नपाएर उहिल्यैदेखि छटपटी बढेको । प्रचण्डले अस्तिताका दिएको अध्यक्ष पनि सडकमा र पार्टी प्यालेसमा बस्दा बस्दै छिनियो । फेरि दिउँला त भन्छन् । तर, उनको आफ्नै ठेगान छैन, मलाई के देलान् र खै ? प्रधानमन्त्रीको पद पनि आकाशको फल भइसक्यो । देउवाले नै पाएका छैनन् । त्यसपछि प्रचण्ड हुँदै मेरो पालो त कहिले कहिले ? मिल्ने नै हो भने कि अध्यक्ष चाहिन्छ कि प्रधानमन्त्री ?’

‘उ त्यो धरहरा माथिको तारा हेर्नुस् न । अघि भर्खर चम्कँदै थियो, उतिखेरै खस्यो । ल ल फेरि अर्को पनि खस्यो । तारा यसरी किन खस्छ तपाईंलाई थाहा छ ?’

‘कता ताराको कुरा गरेको । घामको कुरा गर्नुस् न घामको । घाम पार्टीलाई एक बनाउने कि नबनाउने ?’

‘तपाईंको घाँटीमा के को बिबिरा त्यो ? खै हेरौँ...घमौराजस्तो छ । घिउकुमारीको चोप लगाउने गर्नुस् न, ठिक हुन्छ ।...’

‘कहाँ घमौरा समौराको कुरा गरेको ? मेरोतिर घाम लागेको छैन, कहाँबाट घमौरा आउँछ ?’

‘घाम त मैसित छ नि । तपाईंकोमा कसरी आइपुग्छ त ?’

‘त्यही त मलाई पनि पावर चाहियो भन्या ।’

‘पावर मागेर पाइन्छ ? मैले तपाईंसित मागेर पाएको हो र ? महाधिवेशनबाट बकाइदा जितेर अध्यक्ष भएको । तपाईँले सुकाएको पार्टीको अध्यक्ष भएर पार्टी ठूलो बनाइ चुनाव जितेर प्रधानमन्त्री भएको । पार्टी विधानमै नभएको नमिल्ने कुरा मागेर हुन्छ तपाईंले ?’

‘तपाईंले चाहिँ संविधानसित नमिल्ने जे जे गरे पनि हुने, मैले चाहिँ पार्टी विधानमा चल्नु पर्ने ?’

‘मैले त जे गर्न नि मिल्छ, तपाईंले मिल्दैन ।’

‘मिल्दैन भने तपाईंसँग कुरा पनि मिल्दैन । मैले खोजेको फल नपाउँदासम्म तपाईंसँगको छलफल काम छैन । प्रचण्डजीले फोन गर्नुभयो, म हिँडे ।’

‘मलाई पनि छलबिनाको छलफलमा खासै रुची छैन । भोलि बिहानै कम्प्युटर अघिल्तिर बसेर प्रधानमन्त्री कार्यालय धरहराको टुप्पोमा सार्ने आयोजनाको उद्घाटन गर्नुछ । सँगै काम गर्न मन छ भने, मुन्तिरको तलामा पार्टी कार्यालय सारेर तपाईँका लागि एउटा कुर्सी र सोफाको बन्दोबस्त गर्दिउँला ! मन छैन भने तपाईँ जानुस् । मलाई पनि निन्द्रा लाग्न थाल्यो । सुत्न जान्छु ।’

अन्तिम अपडेट: साउन ३२, २०७८

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया