सरुवा भएर जिल्ला छाेडिसकेका सहायक प्रजिअकाे हस्ताक्षर किर्ते गरेर सवारी पास

 असार २६, २०७८ शनिबार २०:२३:५९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको लेटर प्याड, छाप तथा सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर सवारी पास बनाएको पाइएको छ । कोरोना सङ्क्रमणको कारण जारी गरिएको निषेधाज्ञा अवधिमा जारी भएको सवारी पास नक्कली बनाइएको पाइएको हो । 

असार १८ गते रुकुम पश्चिमबाट बाँकेको नेपालगञ्ज गएर फेरि रुकुम पश्चिम आउने गरी बनाइएको सवारी पासमा जिल्ला प्रशासन कार्यालयको लेटर प्याड, छापका साथै अनुमति प्रदान गर्ने अधिकारीको हस्ताक्षरसमेत दुरुपयोग गरेको भेटिएको छ ।   

खिमप्रकाश विक सवारी चालक नाम राखेर बनाइएको ग १ ज ४०२४ नम्बरकाे जीपकाे पास अनुमति नक्कली रहेको जिल्ला प्रशासन कार्यालय स्राेतले पुष्टि गरेको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रैले कार्यालय र ट्राफिक कार्यालयसमेतको अभिलेख हेर्न लगाइएको र यस खालको गलत कार्यको तत्काल छानबिन गरेर आवश्यक कारबाही गरिने बताउनुभयो । 

असार १८ गतेका दिन जारी गरिएको त्यस पासमा अनुमति प्रदान गर्ने अधिकारी तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनको हस्ताक्षर राखिएको छ । जबकी सरुवा भएर उहाँले जिल्ला छोडिसक्नुभएको थियो । त्यस बेला सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा प्रमेश सिवा हुनुहुन्थ्यो ।

पासमा उल्लेख गरिएको चलानी नम्बर पनि नक्कली रहेको छ । १३९० नम्बरकाे अनुमति नम्बर कार्यालयको अभिलेखमा फरक व्यक्ति तथा सवारी साधनको रहेको छ । त्यस पासमा १२ जना अलपत्र यात्रुको उद्धार भनेर १८ गतेदेखि २५ गतेसम्मको सवारी अनुमति दिइएको छ ।   

कोरोना सङ्क्रमण बढेपछि जिल्ला कोभिड व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र र जिल्लाबाहिर सञ्चालन हुने सबै सवारी साधान सञ्चालनमा रोक गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक भएमा जिल्ला प्रशासन कार्यालयको सवारी पास अनुमति लिएर सञ्चालन गर्न पाउने व्यवस्थाको दुरुपयोग गरेर यस्तो कार्य गरेको बताइएको छ । यस्तो कार्य हुनुमा प्रशासन कार्यालयका कर्मचारीको समेत मिलोमतो भएको हुन सक्ने एक यातायात व्यवसायीले बताउनुभयो । कोरोना सङ्क्रमणका कारण जारी भएको निषेधाज्ञालाई केही गाडी मालिकले कमाउने धन्दाको रूपमा प्रयोग गरेको यस घटनाले पुष्टि गरेको उहाँकाे भनाइ छ । सवारी पास अनुमति चिनजान र पहुँचको भरमा हुने गरेको समेत उहाँले गुनासो गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया