'स्वास्थ्य मापदण्डको पालना नगर्दा कोरोनासँगै अरू खालका सरुवा रोगको पनि जोखिम हुन सक्छ'

 असार २७, २०७८ आइतबार ९:७:२९ | डा. कृष्णप्रसाद पाैडेल
unn.prixa.net

काठमाण्डाै - अघिल्ला वर्षहरुमा बर्खाको समयमा डेङ्गी, स्क्रब टाइफस, झाडापखाला  लगायतका सरुवा रोगका बिरामीहरु बढ्थे । यस्ता रोगका बिरामीहरुले अस्पताल भरिन्थे । तर  नेपालमा कोरोना भाइरसको महामारी सुरु भएपछि यस्ता खालका सरुवा रोगका बिरामी कम मात्रै भेटिएका छन् । 

लामो समय विद्यालयहरु, कार्यालयहरु बन्द भए । मानिसहरु लामो समयसम्म घरमै बसे र जनस्वास्थ्यका मापदण्डको पालना गरेकाले यस्ता खालका सरुवा रोगको जोखिम कम भएको हुन सक्छ । कोरोना नसरोस् भनेर बचावटका लागि अपनाइएका स्वास्थ्य मापदण्डको पालना, सरसफाइका कारण अरु खालका सरुवा रोगको जोखिम कम भएको हुन सक्छ । तर निषेधाज्ञा खुकुलो भएसँगै  स्क्रब टाइफस  लगायतका  समस्या भएका बिरामीहरु बढ्न थालेका छन् । 

निषेधाज्ञा खुकुलो भएसँगै भीडभाडमा जाने, जनस्वास्थ्यका मापदण्डहरुको पालना नगर्ने गरेकाले सरुवा रोगको जोखिम बढ्न थालेको हो । जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा, खानपानमा ध्यान नदिँदा र  फोहर पानी पिउँदा यस्ता रोगहरु लाग्छन् । 

मनसुनको समयमा रुघाखोकीका भाइरसहरु सक्रिय हुन्छन् । पानीका मुहानहरु धमिलो  र प्रदूषित हुन्छन् । जसका कारण पानीजन्य रोगको जोखिम पनि उत्तिक्कै. हुने गर्छ । शाैचालय गइसकेपछि मिचिमिची साबुनपानीले हात धुने अभ्यास सबैको नहुँदा र उमालेको, फिल्टर गरेको वा क्लोरिन हालेको पानी नपिउँदा सरुवा रोगको जोखिम हुन्छ । बाढी पहिरोका कारण बर्खाको समयमा पानीका स्रोत फोहोर हुन्छन् ।

कुन अस्पतालमा, कस्ता रोगका बिरामीहरुहरु कतिले बढेका छन् भनेर  स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले तथ्याङ्कहरु सङ्कलन गर्ने गर्छ ।  पछिल्लो समय केही मात्रामा स्क्रब टाइफस लगायतका रोगका बिरामीहरु देखिएका भए पनि उल्लेखनीय रुपमा भने बढेका छैनन् । 

कोरोना होस् वा अरु जुनसुकै खालका सरुवा रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको जनस्वास्थ्यको मापदण्डको पालना गर्नु हो । त्यही भएर सरकारले मास्क लगाउन, साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गर्दै आएको छ ।   

शुद्ध पानी मात्रै पिउने, बासी सडेगलेका र फोहोर खानेकुरा नखाने, राम्ररी उमालेको, फिल्टर गरेको वा क्लोरिन गरेका पानी मात्रै पिउने कुरा यो मौसम, वा उ मौसम भन्ने हुँदैन । जुनसुकै समयमा पनि सफा खाना र पानी पिउने बानी बसाल्नुपर्छ ।   

लामखुट्टेका कारण किटजन्य रोगको जोखिम हुने भएकाले शरीर ढाक्ने कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने गर्नुपर्छ । घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्छ । तराईका धेरै ठाउँमा गर्मीको समयमा सर्पदंशको समस्या हुनेभएकाले विशेष सावधानी अपनाउनुपर्छ. । गर्मी होस् या जाडो, घरभित्र होस् या बाहिर  जतिसुकै बेला पनि विभिन्न खालका रोगका रोगको जोखिम धेरै हुने भएकाले जतिसुकै बेला होसियार बन्नुपर्छ । 

असारदेखि चाडपर्व सुरु हुने समयसम्म अर्थात् भदौ, असोजसम्म सरुवा रोगको धेरै जोखिम हुन्छ ।  भीडभाड गर्दा, स्वास्थ्य मापदण्डको पालना नगर्दा र सरसफाइमा ध्यान नदिँदा धेरै समस्या हुन्छ । हामी अहिले पनि कोरोनाको जोखिममा छौँ ।  निषेधाज्ञा खुकुलो भए पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न नभुलौँ । सफा पानी पिउने, स्वस्थ वातावरणमा बस्ने, र स्वास्थ्य मापदण्डको पालना सधैँ गरौँ । 

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका निर्देशक डा. पौडेलसँग गरिएको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. कृष्णप्रसाद पाैडेल

डा. पाैडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक हुनुहुन्छ

तपाईको प्रतिक्रिया