सिँचाइ पोखरी बनेपछि किसानमा छायो खुसी

 साउन २, २०७८ शनिबार १८:४५:२ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – सुख्खायाममा सिँचाइको अभाव खेप्दै आएका रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ हिलेका स्थानीयलाई अब भने सहज हुने भएको छ ।

पहाडी साना किसानका लागि अनुकूलन आयोजनाको सहयोगमा सिँचाइ पोखरी निर्माण भएपछि कृषकहरु उत्साहित भएका छन् । सिम सिँचाइ योजना निर्माण भएपछि हिले गाउँका स्थानीयलाई सिँचाइ सुविधा पग्ने भएको हो । जम्मा १३ घरधुरी भएको यो गाउँको ६५ रोपनी जमिनमा कृषि उत्पादन हुँदै आएको छ । सुख्खायाममा सिँचाइ अभावले कृषि उत्पादनमा असर पर्ने गरेकोमा अब भने बाह्रै महिना सिँचाइ सुविधा पुग्ने भएको छ । सिँचाइ सुविधा पुगेसँगै यसअघि अन्नबाली लगाउँदै आएका यहाँका कृषकहरुले अब तरकारी बाली लगाउने योजना बनाएका छन् । 

‘सुख्खायाममा पानीको मुहान सुकेर सिँचाइमा समस्या थियो’ सिम सिँचाइ पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष अशोक कुमार गिरीले भन्नुभयो, ‘अबदेखि हामीले हिँउदमा पनि लसुन, प्याज, टमाटर लगायतका तरकारी बाली लगाउने सोच बनाएका छौं ।’

जम्मा ५ लाख ११ हजार लागतमा निर्माण सम्पन्न भएको सिँचाइ पोखरीले सुख्खायाममा पनि पानी जम्मा गरेर सिँचाइ सुविधा पुर्याउन सहज हुने भएको छ । सिँचाइ सेवा पुगेसँगै व्यावसायिक कृषिमा लाग्ने कृषकहरुका लागि गाउँपालिकाले पनि सहयोग गर्ने कार्यक्रम ल्याएको सुनिलस्मृति गाउँपालिकाका प्रवक्ता नमराज थापाले बताउनुभयो । 

‘हामीले गाउँपालिकाभित्र एक घर, एक करेसा बारी, विषादीमुक्त कृषि र माटो सुहाउँदो खेती अर्थात पकेट क्षेत्र बनाउने कार्यक्रम अघि सारेका छौं’ थापाले भन्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया