नेपाली आधुनिक चित्रकलाका शिखर व्यक्ति उत्तम नेपालीको निधन

 साउन ६, २०७८ बुधबार ११:१९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली आधुनिक चित्रकलाका शिखर व्यक्ति उत्तम नेपालीको निधन भएको छ । काठमाण्डाै किलागल टोलमा विसं १९९४ बैशाख १८ गते जन्मिएका नेपालीको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा निधन भएको हो ।

केही वर्षअघि अमेरिका भ्रमणका क्रममा हृदयघात भएपछि बिरामी परेका नेपालीलाई फोक्सोको समस्या भएको थियो । उहाँको आजै अन्त्येष्टि गर्ने तयारी छ । नेपालीसँग निजामती सेवाको पनि लामो अनुभव थियो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य नेपालीले चौध पटकभन्दा बढी एकल चित्रकला प्रदर्शनी गर्नुभएको थियो ।

चित्रकार नेपालीकाे साहित्य लेखनी पनि सशक्त मानिन्छ । उहाँका लेख, रचना र कविता पहिलोपटक २०२१ सालमा मधुपर्कमा प्रकाशित भएका थिए । उहाँको ‘बिना शीर्षक’ कविता सङ्ग्रह २०६१ सालमा प्रकाशित भएको थियो । उहाँ राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ र सुप्रबल जनसेवा श्री तृतीय पदकबाट पनि सम्मानित हुनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया