धमाधम कालोपत्र हुँदै डोटीका शाखा सडक

 साउन ६, २०७८ बुधबार १५:२२:३० | विमल बिष्ट
unn.prixa.net

डोटी – सडक निर्माण गरिएको वर्षाैँपछि डोटीका शाखा सडक अहिले धमाधम कालोपत्र गर्न थालिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा यहाँका पाँच शाखा सडक कालोपत्र हुन लागेका हुन् । पूर्वाधार विकास कार्यालय डडेल्धुराका अनुसार डोटीमा ८६ किलोमिटर शाखा सडक कालोपत्र गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । 

सुदूरपश्चिमको प्रमुख पर्यटकीय तथा प्रसिद्ध धार्मिक क्षेत्र खप्तड जोड्ने पहुँच मार्गका रूपमा रहेको सिलगढी–झिग्राना सडक, कालिका मन्दिरदेखि झिग्रानासम्मको आठ किलोमिटर सडक, सिलगढीदेखि कालिका मन्दिरसम्मको साढे सात किलोमिटर सडक, जिल्ला सदरमुकाम सिलगढीदेखि कलेना, दल्लेक–मेल्लेक हुँदै बझाङ जोड्ने सडक र राजपुर–फलेडी–धिर्कामाण्डौ सडक तथा बुडर–जोरायल–गड्सेरा सडक कालोपत्र गर्न लागिएको हो । 

गाउँघरदेखि पर्यटकीय क्षेत्र जोड्ने शाखा सडक कालोपत्र हुने भएपछि यहाँका नागरिकमा खुसीयाली छाएको दिपायल सिलगढी नगरपालिका २ का वडाध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो । भौतिक पूर्वाधार कार्यालयका प्रमुख रामचन्द्र खत्रीका अनुसार सिलगढीदेखि झिग्रानासम्मको १५ किलोमिटर पाँच सय मिटर सडक स्तरोन्नति गरी कालोपत्र गर्ने काम तीव्र गतिमा भइरहेको छ । 

आर्थिक वर्ष २०७५/०७६ को योजनाअनुसार सिलगढीदेखि कालिका मन्दिरसम्मको साढे सात किलोमिटर सडक कालोपत्रका लागि २०७६ असार ३० गते सम्झौता भएको थियो । १५ करोड ९७ लाख १२ हजार पाँच सय ४२ रुपैयाँमा ३० महिनाभित्र काम सक्ने गरी सीएबी कन्स्ट्रक्शन प्रालिसँग भएको सम्झौताअनुसार यस सडकको कम्तीमा पनि ८० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ । कालिका मन्दिरदेखि झिग्रानासम्मको आठ किलोमिटर सडक कालोपत्रका लागि पनि २०७६ असार ३० गते सम्झौता भएको थियो । २२ करोड ५० हजार ४४ रुपैयाँमा सम्झौता भएको यस सडक खण्डको ५५ प्रतिशत काम सम्पन्न भइसकेको भौतिक पूर्वाधार कार्यालयले जनाएको छ ।

जिल्ला सदरमुकाम सिलगढीदेखि कलेना–दल्लेक–मेल्लेक हुँदै बझाङ जोड्ने सडक पनि सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कालोपत्रको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालयका अनुसार सिलगढीदेखि साढे सात किलोमिटर सडक कालोपत्रका लागि राजेन्द्र पीएस जेभीसँग २०७६ असार महिनामा १६ करोड १५ लाख ७० हजार तीन सय १० रुपैयाँमा सम्झौता भएको थियो । ३० महिनाभित्र सम्पन्न गर्नुपर्ने यस सडकको ५० प्रतिशत काम भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ कै योजनाअनुसार राजपुर–फलेडी–धिर्कामाण्डौ सडकमा साढे नौ किलोमिटर कालोपत्रको काम भइरहेको छ । यो सडक स्तरोन्नतिसहित कालोपत्रका लागि २२ करोड ९१ लाख ४९ हजार चार सय ९५ रुपैयाँमा विनियोजन गरिएको छ । यस सडकको काम ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । यस सडक कालोपत्रको जिम्मेवारी केएस कन्स्ट्रक्शनले पाएको छ ।

यसैगरी बुडर–जोरायल–गड्सेरा सडक कालोपत्रका लागि तीन खण्डमा काम भइरहेको जोरायल गाउँपालिका २ का वडाध्यक्ष मानबहादुर मल्लले जानकारी दिनुभयो । सङ्घीय सरकारले हस्तान्तरण गरेको १० किलोमिटर कालोपत्रको योजनामा ८० प्रतिशत काम सम्पन्न भइसकेको उहाँको दाबी छ । यही असार मसान्तमा सम्पन्न हुनुपर्ने भए पनि कोरोना महामारीका कारण प्रभावित भएको बताइएको छ । ३० करोड रुपैयाँको लागतमा यस सडक कालोपत्रको काम लुम्बिनी राजेन्द्र जेभीले पाएको थियो । 

बुडर–जोरायल–गड्सेरा सडकमै प्रदेश सरकारको योजना अन्तर्गत थप १७ किलोमिटर सडक कालोपत्रको काम पनि भइरहेको छ । २०७७ असार ३० गते शर्मा राजेन्द्र जेभीसंँग ३२ करोड ७१ लाख ४७ हजार पाँच सय ६५ रुपैयाँमा लागत सम्झौता भएको यस सडकको काम तीन वर्षसम्म सक्नुपर्ने छ । यस योजनामा अहिलेसम्म २५ प्रतिशत प्रगति भएको बताइएको छ । बुडर–जोरायल सडक खण्डमा थप साढे सात किलोमिटर कालोपत्रका लागि चालु आर्थिक वर्षमा पनि बजेट विनियोन भएको छ । गएको असार १५ गते १२ करोड ५३ लाख रुपैयाँमा केएस कन्स्ट्रक्शनसँग भएको सम्झौताअनुसार यो काम दुई वर्षमा सक्नुपर्नेछ । 

पुरानो क्षेत्रीय सदरमुकाम दिपायल रानागाउँदेखि बायलसम्म १० किलोमिटर सडक कालोपत्रको काम भइरहेको छ । दुई वर्षमा काम सम्पन्न गर्ने गरी २०७७ असार ३० गते राजेन्द्र निर्माण सेवासँग सम्झौता भएको थियो । प्रदेश सरकारको बजेट अन्तर्गत १७ करोड ६३ लाख तीन हजार सात सय ८७ रुपैयाँमा निर्माण सम्झौता भएको हो । यस सडकमा २५ प्रतिशत प्रगति भएको भौतिक पूर्वाधार कार्यालयले जनाएको छ । 
डोटीको सबैभन्दा पुरानो सहजपुर–बोगटान–दिपायल सडक अन्तर्गत सहजपुरदेखि अत्तरकाँडासम्म ५२ किलोमिटर सडक सङ्घीय सरकारको लगानीमा कालोपत्र हुँदैछ । 

यसअघि डोटीमा कुनै पनि शाखा सडक कालोपत्र भएका थिएनन् । शाखा सडक स्तरोन्नतिसँगै कालोपत्र भए आफूले फलाएका तरकारीदेखि अन्य वस्तु बजारसम्म पु¥याउन सहज हुने भन्दै यहाँका किसान खुसी भएका बडीकेदार गाउँपालिका १ का रोजबहादुर कलेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया