हेटौँडामा एकै वर्षमा १३ हजार फूलका बिरुवा रोपियो

 साउन १०, २०७८ आइतबार १३:४:१३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले बितेको एक वर्षमा १३ हजार फूलका बिरुवा रोपेको छ । हेटौँडालाई सुन्दर र फूलै फूलको सहरका रुपमा विकास गर्ने लक्ष्यका साथ १३ हजार ३ वटा फूलका बिरुवा रोपिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

साविकका वडासँगै थपिएका वडाका सडक पेटीमा समेत फूल रोपिएको छ । फूलले हेटौँडा बजार क्षेत्रका फराकिला सडकमा सुन्दरता थपेको मेयर महतले बताउनुभयो । बितेको चार वर्षमा सडक फराकिलो पार्ने, त्यसमा पेटी निर्माण गर्ने र फूल रोप्ने अभियानलाई तीव्रता दिइएको मेयर महतले बताउनुभयो । 

नगरपालिका रोड, भैरवरोड, सानो पोखरा, मानसचोक, माछा प्लान, कान्तिराजपथ, बसपार्क, बाइपास सडक, अजरअम्ब रोड, भैरवरोड, पीपलबोटको रोड, राप्तीरोड, जिल्ला प्रहरी कार्यालय अगाडि, मनकामना चोक, भुटनदेविचोक, अस्पताल गेट, प्रदेश सभा भवनको रोड र आसपासका क्षेत्र, क्याम्पाचौर, बुद्धचोकलगायतका क्षेत्रमा फूलका बिरुवा रोपिएको उहाँले बताउनुभयो । 

हिउँदमा रोपिएका बिरुवा मर्ने समस्या धेरै भए पनि वर्षायाममा रोपिएका बिरुवा हुर्कने गरेको छ । हिउँदमा दिनहुँजसो फूलका बिरुवामा पानी हाल्ने, गोड्ने काम गरिँदै आएको छ । तैपनि बिरुवा मर्ने समस्या छ । हेटौँडाका विभिन्न सडक पेटी र बगैँचामा निलकाँडा, क्यातकुते, साइकस, धुपी, हेज प्लान्ट, गुलमोहर, कोलिस, बोटल पान, निलो फूल, हेज प्लान्ट, असोक, बगानबेली, एरिला पाम, स्वामी, चाइना गुलाब, निलजाइ, सिङ्गापुरे हेज, असारे, कोरोटनलगायतका बिरुवा रोपिएको मेयर महतले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया