कतारको नयाँ ‘ट्राभल गाइडलाइन’ : काेराेना खाेप लगाएकाे भए पनि अनिवार्य होटल क्वरेण्टीनमा बस्नुपर्ने

 साउन १५, २०७८ शुक्रबार १७:५०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालबाट कतार जाने यात्रुले अनिवार्य रुपमा होटेल क्वरेण्टीनमा बस्नुपर्ने भएको छ । 

कतार सरकारले अगस्ट दुईदेखि लागू हुने गरि नयाँ ट्राभल गाइडलाइन जारी गरेको छ । योसँगै नेपालबाट कतार जाने यात्रुलाई कोरोना विरुद्धको खोप लगाएको भए पनि होटेल क्वरेण्टीन अनिवार्य गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । 

योभन्दा पहिले जुलाई १२ देखि कतारले कोरोना खोप लगाएकालाई क्वरेण्टीन बस्नु नपर्ने नियम लागू गरेको थियो । तर पछिल्लो समय कोरोनाको जोखिम बढ्न सक्ने भन्दै कतार सरकारले थप कडाइ गरेको हो ।  नयाँ नियम अनुसार कतारमा दुवै मात्रा खोप लगाएका वा कतारमा कोरोना संक्रमण भइ निको भएका यात्रुहरुको हकमा २ दिन होटल क्वरेण्टीन बस्नुपर्ने दूतावासले जनाएको छ । दोस्रो दिनमा पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएपछि आफ्नो गन्तव्यमा जान पाइने छ ।

यस्तै कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका क्यूआईडी वाहक यात्रुहरूले १० दिन होटल क्वरेण्टीन बस्नुपर्ने हुन्छ । खोप नलगाएका (पारिवारिक, पर्यटक वा बिजनेस भिसा अन्तर्गतका) यात्रुहरूलाई भने कतारमा प्रवेश  गर्न दिइने छैन । यसबारे थप जानकारीको लागि सम्बन्धित एअरलाइन्ससँग सम्पर्क गरेर बुझ्न सकिने दूतावासले जनाएको छ ।

नेपालबाहेक अरु कुनकुन देशको लागि यो नियम लागू गरिने भएको हाे भन्नेबारे दूतावासकाे सूचनामा उल्लेख छैन । कतारका स्थानीय सञ्चार माध्यमले पनि केही खुलाएका छैनन् । तर कतारमा रहेको भारतीय दूतावासले भने भारतसहित केही देशका यात्रुहरुले कतार पुगेपछि अनिवार्य क्वरेण्टीन बस्नुपर्ने भन्दै ट्वीट गरेको छ ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया